coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रुपन्देही भलवारीका कार्की भारत्तोलनमा विश्व च्याम्पियन

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका छन्। आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल भएका हुन्।

अमेरिकामा प्रि क्वालिफाइड भएपछि माष्टर–२ का लागि आयरल्यान्ड गएका कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन खेलमा अन्तर्राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण पदक हात पारेका हुन्। आयरल्याण्डमा उनको जित माष्टर–२ आइपियलको अन्तर्राष्ट्रिय च्याम्पियनको रेकर्ड हो।

अमेरिकाको भर्जिनियामा परिवारसहित बस्दै आएका कार्कीले आफ्नो तौल समुहमा विश्व च्याम्पियन बन्दै रेकर्ड कायम गरे। कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए।

विश्व च्याम्पियन कार्कीका अनुसार नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिका स्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेका हुन्।

सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय छन्। कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताए। बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा बसाई सरेर आएको हो।

भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भने, 'म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु। खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ।' अभियानमा जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता चुम्न सफल भएको उनले बताए।   

 

प्रकाशित: २५ कार्तिक २०७६ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App