८ वैशाख २०८१ शनिबार
समाज

सामुदायिक विद्यालयमा ‘हेलो हेडसर’ कार्यक्रम

म्याङलुङ–७ ले सुरु गरेको स्टीकर टास्दै मेयर तुम्बाहाङफे । तस्बिरः भगिश्वर/नागरिक

तेह्रथुम– म्याङलुङ नगरपालिका–७ ले आफ्नो वडाभित्र रहेका सामुदायिक विद्यालयहरुमा ‘हेलो हेडसर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यालय समयमा विद्यार्थी र शिक्षकहरुलाई मोबाइल प्रयोगमा निषेध गर्दै अब हेलो हेडसर कार्यक्रम सञ्चालन गर्न लागेको हो।

विद्यालय समयमा विद्यार्थी र शिक्षकहरुले मोबाइल प्रयोग गर्दा समयको नास र मोबाइलको दुरुपयोग भएको भन्दै अविभावक र हेडसरबीच मात्र कुराकानी हुने गरि नियम बनाई विद्यालयमा हेडसरले मात्र मोबाइल प्रयोग गर्न पाउने वडा अध्यक्ष नारायण आचार्यले बताए।

वडा कार्यालयले आफ्नो वडालाई बालमैत्रि वडा घोषणा गर्दै विद्यार्थीलाई झोला बोक्ने झण्झटबाट समेत मुक्त गर्ने उदेश्यले झोला मुक्त अभियानसमेत सञ्चालन गर्ने वडा अध्यक्ष आचार्यले बताए। उनले झोला बोक्दा विद्यार्थीलाई शारिरीक र मानसिक तनाब हुने भएकोले आगामी शैक्षिक शत्रदेखि वडा कार्यालयले सबै विद्यार्थीलाई एक सेट किताब निशुल्क खरिद गरेर वितरण गर्ने जानकारी दिए।

झोला मुक्त अभियान कार्यक्रमअनुसार विद्यालय जाने विद्यार्थीका लागि स्कुलमा एक सेट किताब र घरमा एक सेट किताब रहने ब्यवस्था मिलाइनेछ। वडानम्बर ७ मा आधारभुत विद्यालय २ र माध्यमिक विद्यालय १ गरि जम्मा ३ वटा सामुदायिक विद्यालय रहेका छन्।

यस्तै ७ बुदे घोषणापत्र जारी गर्दै वालमैत्री वडाको रुपमा अघि बढ्ने प्रतिवद्धता जनाएको छ। बालबालिकाको अधिकारको निम्ती वडाले तयार गरेको ७ बुँदे अनुरोध सहितको स्टीकर सबै घर घरमा टास गर्ने अभियानसमेत सुरु गरेको छ। वडाले सुरु गरेको अभियानलाई नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेद्धारा स्टिकर टासेर सुरुवात गरिएको छ।

बालबालिकालाई अनिवार्य विद्यालय पठाऔं, बालबालिकाको २० वर्ष पुरा नभई विवाह नगरौं, बालबालिकालाई कुलतबाट बचाआंै, बालबालिकालाई नियमित खोप र पोषण युक्त आहार खुवाऔंलगायतका ७ वटा बुँदा उल्लेख भएको स्टीकर वडाका ४ सय १० घरधुरीमा टास गरिने कार्यक्रम रहेको वडाअध्यक्ष आचार्यले बताए। यसअघि वडा कार्यालयले वडाभित्रका बालबालिकालाई मादक प्रदार्थ र सुर्ती जन्यवस्तु ओसारप्रसारमा प्रयोग नगर्न सबै अविभावकहरुलाई अनुरोधसहितको पत्र पठाएको थियो। यो अभियानको समेत अनुगमन भई रहेको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७६ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App