coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजपुर बमकाण्ड : आलमको पक्षमा बहस सुरु, गौरमा प्रदर्शन

राैटहट – राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको पक्षमा जिल्ला अदालत रौतहटमा बहस सुरु भएको छ। साेमबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस सुरू गरेका छन्।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा मुद्दा चलेको छ। अदालतमा आलम पक्षका अधिवक्ताहरूले बहस गरि रहँदा उनका समर्थकहरूले सदरमुकाम गौरमा प्रदर्शन गरिरहेका छन्।

आलमका समर्थकहरुले सदरमुकाम गौरको बिपी चौकवाट निकालेको जुलुसको अघिपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । अदालतको चार सय मिटर दायाँबाया ठूलो मात्रामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

अहिलेसम्म कानुन व्यवसायी अधिवक्ता सुनिल पोखरेलले बहस गरेका छन्। उनले आलमको पक्षमा वकालत गर्दै उनकाे बचाउ गरेका छन्।  त्यस्तै कानुन व्यवसायी कृष्ण घिमिरे र योगेन्द्र बहादुर अधिकारीको पनि बहस सकिएको छ ।

आलमको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेर बहादुर केसी लगायत ३४ जनाभन्दा बढी कानुन व्यावसायी बहस गर्ने भएकोले आज पनि थुनछेक बहस नसकिने देखिएको छ ।

यसअघि पीडितका तर्फबाट जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवाल लगायत ११ जना अधिवक्ताले बहस गरेका थिए । आलमलाई अनुसन्धानका लागि भन्दै प्रहरीले गएको असोज २६ गते पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान सकेर प्रहरीले आलम र उनका भाइ महताब आलमसहित ११ जनालाई प्रतिवादी बनाइ मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले आलमविरुद्ध जन्मकैदको माग दाबी गरी अदालतमा अभियोग पत्र दर्ता गरेकाे हाे।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैद मागदाबी गरिएको हो।

प्रकाशित: २५ कार्तिक २०७६ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App