coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्तव्यस्त सडकका कारण ६ महिनामै थोत्रिन्छन् गाडी

दोलखा सदरमुकाम चरिकोटदेखि खाडीचौर सम्मको अस्तव्यस्त सडक हुँदै मंगलबार राजधानी काठमाण्डौका लागि छुटेका यात्रुवाहक बस। तस्बिर: रमेश/नागरिक

दोलखा - राजधानीबाट मध्यपूर्वमा बस चलाउदै आएको अरनिको यातायातका बस चालक भरत पाण्डे केही वर्ष यता चरिकोट खाडीचौर सडकमा बस गुडाउँदा निस्किने मर्मत खर्चले हैरान भइसके। ‘जिल्ला भित्रिने मुख्य सडकको अवस्था यति बिजोग छ कि कहिले काँही त उठेको भाडा भन्दा दोब्बरसम्म मर्मत खर्चमै सकिन्छ।’ आफैं चालक र गाडी साहुसमेत रहेका पाण्डेले आक्रोश पोख्दै भने – ‘यस्तो बाटोमा गाडी चलाएर मर्मतमै कमाइको पैसा सिध्याउँदा त कहिले काँही यो पेशै छोडिदिउ जस्तो लाग्छ’।

पाण्डे मात्र हैन यो रुटमा गाडी चलाउने अधिकांश स्टाफ र मालिकहरु सडकका कारण हैरान छन्। दोलखा आसपास अरनिको र रोल्वालिङ यातायात गरेर दुई ओटा समितिले सेवा दिन्छन्। दैनिक ७० भन्दा बढी गाडी सदरमुकाम चरिकोट भएर राजधानी आउजाउ गर्छन्। ति मध्ये अरनीकोका मात्र दैनिक ५५ भन्दा बढी गुड्छन्। तर जिल्ला भित्रिने चरिकोट–खाडीचौर सडकले कमाईको आधा पैसा मर्मतमै सकिन्छ। पहिलो चरणमा खाडीचौर बजारदेखि चरिकोटसम्म दोहोरो लेनको बनाउने भनेर ५ वर्षअघि भत्काइएको सडक ठेकेदारको चरम लापरवाहीका कारण लथालिङ छ। बर्षातमा हिलो र हिउँदमा धुलो त छदैछ।

ठूलठूला खाल्डाखुल्डी भएको सडकमा यात्रु बोकेर सवारी चलाउँदा हैरान भएको सवार िचालकहरु बताउँछन्। ‘खाल्डै खाल्डो परेका कारण सडकले यहाँ चल्ने धेरै बसहरुका गियर बक्स र क्राउन थुप्रै पटक भाचिएको छ’ उनले भने – ‘पाता भाचिने त कति हो कति’। पाण्डेका अनुसार गाडी गुड्ने सडकमा अस्तव्यस्तताका कारण महिनाको नीन पटकसम्म पत्ता फेर्नुपर्छ। एउटा पताको मुल्य २ हजारदेखि २२ सयसम्म पर्छ।  यस्तै चक्का काट्ने टाईरड समेत भाचिएर धेरै पटक थुप्रै बस चालकहरु दुर्घटनाको मुखबाट जोगिएका छन्। कच्ची बाटोमै बिस्तार गुड्ने कारण टाईरड भाचिदा पनि दुर्घटनाबाट जोगिएको चालकहरु बताउँछन्।

आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा जिल्लाको मागादेउरालीबाट काठमाण्डौ हिडेको बसको समेत टाईरड भाचिएको आशंका गरिएको छ। सिन्धुपाल्चोकको सुनकोशी नदीमा बस खस्नुअघि सडकमा ब्रेक लगाएको डाम नदेखिएपछि यही टाईरड खसेका कारण स्ट्रिङ नघुमेपछि बस बतासिएर सुनकोशी नदीमा खसेको अनुमान यसका प्राविधिकहरुको छ।

‘कसरी खस्छ टाईरड’
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका मेकानिकल ईन्जिनियर राजाराम केसीका अनुसार चालकले घुमाउने स्ट्रिङलाई अगाडीका दुवै पाङरासंग जोड्ने रड नै ‘टाईरड’ हो। यसको बिचमा बल्ब जस्तै ‘जोइन्ट’ हुन्छ। पाङ्रा हल्लिदा यो पनि हल्लिन्छ। हल्लिदा धेरै घोटिने कारण यसमा ग्रिज हाल्ने र मर्मत सम्भारमा ध्यान दिइराख्नुपर्छ। ग्रिज हाल्न र मर्मत गर्ने काममा ध्यान नदिदा यो अत्याधिक घोटिएर खुस्किने गरेको र तिव्र गतिमा भएको बेलामा यो खुस्किएर स्टेरिङ नकाटिदा दुर्घटना हुने उनी सुनाउछन्।

केसीका अनुसार यो हल्लीने र चल्ने काम पक्की र कालोपत्रे सडकको तुलनामा कच्ची र अफ्ठेरा सडकहरुमा बढी हुन्छ। ‘हो त्यस्तो सडकमा यात्रा गर्दा दैनिक रुपमा यसको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ, हप्ताको कम्तिमा एक पटक सम्म ग्रिज हाल्नुपर्छ’ केसी सुझाव दिदै भन्छन्।

कच्ची बाटोमा यात्रा गर्ने यात्रुबाहक सवारी साधनहरुले आफ्नो गाडीको अवस्था चेकजाँच गर्ने कुरामा बढी ध्यान दिनुपर्ने ईन्जिनियर केसीको सुझाव छ। ‘हाम्रो पहाड तिरको कच्ची बाटोको भुगोल र बनोट आफैंमा अफ्ठेरो खालको छ’ उनी भन्छन – ‘त्यसैले गाडीको ब्रेकहरु बेला बेलामा चेकजाँच गरिरहने, गियर बक्स, टाई रडक जस्ता संवेदनशिल उपकरणहरुको रेखदेख र सम्भार गरिरहनुपर्छ’। मर्मत र रेखदेखमा ध्यान नदिदा कच्ची सडकले नयाँ गाडी पनि थोत्रो बनाउने केसी बताउँछन्। ‘जहिले पनि बस गुडाउँदा चार ओटा चक्कामा बराबरी ब्रेक हुनुपर्छ’ उनी चालकहरुलाई टिप्स दिदै भन्छन्।

राजधानीबाट १ सय ३२ किलोमिटरमा रहेको दोलखा सदरमुकाम चरिकोट कुनै बेला ४ घण्टामै पुगिन्थ्यो। तर अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे बजार हुँदै चरिकोटसम्मको सडक दोहोरो लेन बनाउने भन्दै ठेकेदार कम्पनी मार्फत ५ वर्षअघि लगाइएको ठेक्का अलपत्र छ।

त्यो बाहेक मुडे बजारबाट दोलखाको पश्चिम र उत्तरी भुभाग जोड्ने मुडे–मेलुङ सडकको हालत समेत उस्तै छ। कालोपत्रेका लागि छनोट भएको ठेकेदारले काम नगरेपछि ठेक्का तोडेर अहिले नयाँ पुन काम गराउन नयाँ ठेक्का लागेको छ। सबैतिर सडक अस्तव्यस्त भएका कारण नागरिकलाई आउजाउ गर्न सकस त छदैछ त्यही माथि नागरिक चढ्ने गाडीहरु थोत्रिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको भन्दै नागरिक आक्रोश समेत बढ्दो रहेको अरनिको यातायातका कर्मचारी रविन चौलागाई बताउँछन्।

प्रकाशित: २५ कार्तिक २०७६ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App