४ वैशाख २०८१ मंगलबार
अर्थ

जुनमा रेल चल्ने सम्भावना न्यून

जनकपुर- सात दशक पुरानो जनकपुर-जयनगर रेलवे ब्रोडगेजमा स्तरोन्नति गरी आगामी जुन महिनाबाट पुनः सञ्चालन गर्ने सरकारी लक्ष्य पूरा हुन नसक्ने भएको छ। ढिलो काम सुरु भएको र यसपालि वर्षायाम लम्बिएका कारण समयमै काम पूरा हुन सक्ने सम्भावना नभएकाले लक्ष्य अनुरुप जुनमा रेल सञ्चालन गर्न गाह्रो हुने भारतीय पक्षले जनाएको छ।

‘जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटर लिक निर्माण गरी जुनबाट जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ,’ भारत सरकारकै आर्थिक सहयोगमा निर्माण भइरहेको ब्रोडगेज रेलवेका एक साइट इन्जिनियरले भने, ‘तर, मौसमले साथ नदिँदा काममा प्रगति हुन सकेन।’

बिहारको जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सञ्चालन गर्ने लक्ष्य अनुरुप सन् २०१७ डिसेम्बरसम्म माटो र ब्लांकेटिङ (रोडा ओछ्याउने) सम्मको काम पूरा गर्ने गरी ठेक्का लागेको छ। यसमध्ये महोत्तरीको बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लिक निर्माणका लागि अझै जग्गा अधिग्रहणकै प्रक्रियामा रहेको रेल तथा मेट्रो विकास आयोजना, साइट कार्यालय जनकपुरका इन्चार्ज विनोद ओझाले जनाए।

यता, जयनगरदेखि इनर्वासम्म (भारतीय भूमि) तीन किलोमिटरसम्म माटो पुर्ने, रोडा ओछ्याउने र आवश्यक पुल तथा कल्भर्ट निर्माण कार्यको जिम्मा भारत सरकारले नै लिएको थियो। उक्त काम पूरा पनि भइसकेको ओझाले बताए।

इनर्वादेखि जनकपुर, कपिलेश्वरसम्मको (२४ किलोमिटर) काम गर्ने जिम्मेवारी भारत, आसामको निर्माण कम्पनी नायक इन्फ्रास्ट्रक्चरले पाएको छ। उसले करिब ८० प्रतिशत काम गरिसकेको छ। कपिलेश्वरदेखि महोत्तरीको बिजलपुरा, भंगहासम्म २५ किलोमिटरको ठेक्का जनकपुरको रमण कन्स्ट्रक्सनले पाएको छ। रमणले अहिलेसम्म ६० प्रतिशत काम पूरा गरेको र बाँकी काम पनि धमाधम भइरहेको ओझाले जानकारी दिए।

उनले अगामी जुनबाट रेल सञ्चालन हुने दाबी गरे पनि ब्लांकेटिङको कामपछि ब्लास्ट (फुटाइएको ढुंगा), स्लिपर र लिक निर्माण कार्यमा समय लाग्ने हुँदा कम्तीमा एक वर्ष अझै लाग्ने भारतीय पक्षको भनाइ छ। उसको अनुसार ब्लांकेटिङपछिको कामको ठेक्का प्रक्रिया पनि अहिलेसम्म सुरु हुन सकेको छैन। नेपाल सरकारको तर्फबाट कुनै अवरोध नभए अबको एक वर्षमा भने जनकपुरसम्म ब्रोडगेजमा रेल चल्न सम्भव रहेको बतायो।

बर्दिबासदेखि सिमरासम्मको रेलवे निर्माण कार्य पनि औपचारिक रुपमा सुरु भइसकेको बर्दिवासका डिभिजनल इन्जिनियर कमलदेव साहले जनाए। ‘बर्दिबासदेखि सिमरासम्मको कामका लागि विस्तृत आयोजना प्रतिवेदन तयारी कार्य सुरु भइसकेको छ। यो औपचारिक रुपले काम सुरु भएको संकेत हो,’ उनले भने।

त्यस्तै, बर्दिबासदेखि काँकडभिट्टासम्म कोसी पुलको काम समेत चार प्याकेजमा गर्ने गरी सम्झौता प्रक्रिया अघि बढेको इन्जिनियर साहले जनाए। उनका अनुसार पश्चिम नेपालमा बुटबलदेखि महाकाली सीमासम्म पनि रेलवे निर्माण प्रक्रिया अघि बढेको छ। यो सबै योजना पूरा गर्न समय लागे पनि नेपाल सरकारको तर्फबाट पूर्वदेखि पश्चिमसम्म रेलवेले जोड्ने लक्ष्य प्राप्तिको क्रम अघि बढिसकेको साहले दाबी गरे।

प्रकाशित: २१ मंसिर २०७३ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App