coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज १३५औं फाल्गुनन्द जयन्ती

ताप्लेजुङ – किरात धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको सोमबार (आज) १३५औं जन्मजयन्ती मनाइँदै छ। सो अवसरलाई ध्यानमा राखी फुङ्लिङ नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निर्णय गराएर सार्वजनिक बिदा घोषणा गरेको छ। साथै फुनपासहित यहाँका फक्ताङ्लुङ, आठराई त्रिवेणी, मेरिङ्देन र सिदिङ्वा गाउँपालिकाले समेत सोमबार सार्वजनिक बिदा दिएको सूचना सार्वजनिक गरेका छन्।

विसं १९४२ कात्तिक २५ गते आइतबार इलामको तत्कालीन इभाङ गाविस–५ चुक्चिनाम्बामा जम्मिएका फाल्गुनन्दको न्वारनको नाम भने नरध्वज लिङ्देन हो। उनीबारे तयार पारिएका विभिन्न पुस्तकमा उल्लेख भएअनुसार जगनबाज लिङ्देन र आमा हंसमती लिम्बूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्द महान् समाज सुधारक तथा किरातीका धर्मगुरु हुन्। आफ्नो जीवनको अन्तिम समयसम्म किरात धर्म तथा संस्कार र संस्कृतिको उत्थान एवं संरक्षणका लागि क्रियाशील उनले जारी गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति अहिले पनि लोकप्रिय र प्रशंसित छ। विसं १९८८ वैशाख २४ मा जारी सो मुचुल्काले समाजसुधारको अभियानमा केन्द्रित गरेको भन्दै उनको अभियानलाई विश्व समुदायले अनुसरण गर्दै आएको किरात धर्म तथा साहित्य उत्थानमा क्रियाशील युवा ज्ञानु फुरुम्बो ‘चरपे’ बताउँछन्। उनका अनुसार फाल्गुनन्दले प्रयोगमा ल्याएको समाजसुधार अभियान नेपाली समाजमा मात्र नभएर विश्व समुदायका लागि नौलो र विशिष्ट प्रकृतिको रहेको छ।

नारीको सम्मानदेखि स्वदेशी कपडा मात्र लगाउन प्रेरित गर्थे फाल्गुनन्द

सत्य धर्म मुचुल्काले आफ्नो मौलिकता बिर्सिएर पथभ्रष्ट हुन नहुने, मदिरा सेवन गरी असामाजिक वा मतिभ्रष्ट क्रियाकलाप गर्न नहुने, विवाहमा आफ्नो आर्थिक गच्छेभन्दा अधिक तडकभडक देखाउन नहुने वा विवाहका कारण आर्थिक हिसाबले माथि उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न नहुनेजस्ता सन्देश दिएको छ। यसैगरी समाजका जननी नै नारी भएकाले समाजमा नारीलाई उँचो स्थान दिनु वा सम्मान गर्नुपर्ने, मेजमान तथा खानाका लागि पशुप्राणीको हत्या गर्न नहुने, अन्नबाली देवीदेवतालाई नचढाई खान नहुने तथा देवीदेवतालाई पशुबलि दिन नहुनेजस्ता विचारका प्रेरक उनी अहिंसा र धर्मप्रेरित रहेको उनको ऐतिहासिक जीवनीले बताउँछ। नैवेद तथा फूलपातीबाट पूजापाठ गर्ने, मादक पदार्थ सेवन गर्न नहुने, छोरीको बिहेमा दाम लिन नहुने, स्वदेशी कपडा लगाउँदा राम्रो हुने र छोराछोरीलाई समान शिक्षा दिनुपर्ने मान्यताका उनी साँच्चै राष्ट्रभक्त थिए।

उनको जीवनीमा आधारित रहेर लेखिएका पुस्तकका अनुसार बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लगाइदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लगाइएको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको मान्यता छ। गाउँका अन्य युवाजस्तै उनी पनि बेलायती फौजमा भर्ती हुन जाँदा उनको नाम फलामसिंहबाट फाल्गुनन्द बन्न पुगेको विभिन्न पुस्तकमा उल्लेख छ। ८ वर्षकै उमेरमा हत्याहिंसा गर्न नहुने, झुटो बोल्न नहुने विचारले प्रेरित फाल्गुनन्द सेनामा रहँदा पनि साँझबिहान पूजापाठमा लीन रहने गरेकाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो।

प्रकाशित: २५ कार्तिक २०७६ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App