coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

चौथो औद्योगिक क्रान्तिको युग

डा. श्याम उपाध्याय

विश्वले तीन औद्योगिक क्रान्ति देखिसकेको छ र अहिले चौथो औद्योगिक क्रान्तिको युग सुरु भएको छ। अठारौं शताब्दीमा सम्पन्न प्रथम औद्योगिक क्रान्तिबाट मानव जातिले शारीरिक श्रममा आधारित उत्पादनबाट यान्त्रिक उत्पादनको चरणमा संक्रमण गरेको थियो। दोस्रो औद्योगिक क्रान्तिले उत्पादन लाइनको विकास गरेर लाखौं उपभोक्तालाई पुग्ने परिमाणमा वस्तुहरू उत्पादन गर्न सक्ने प्राविधिक क्षमता विकास ग¥यो। यसै चरणमा यातायात र सञ्चारको पनि औद्योगिकीकरण भयो। कपडा उत्पादनबाट आरम्भ भएको उद्योगधन्दाले रेल, गाडी, टेलिग्राफका उपकरण हुँदै विद्युतीय साधनहरूको उत्पादन सुरु गर्न थाल्यो। औद्योगिक क्रान्तिको तेस्रो चरणमा विज्ञान तथा प्रविधिको व्यापक विकास भयो। यसै चरणमा ऊर्जाका आणविकलगायत विभिन्न स्रोत विकास भए। मानिस अन्तरिक्षमा पुग्यो। विश्व इन्टरनेट युगमा प्रवश ग¥यो। अहिले औद्योगिक क्रान्तिको चौथो चरण सुरु भएको छ। यसका विशेषता भौतिक, जैविक र संख्यात्मक प्रविधिको व्यापक समिश्रण, कृत्रिम ज्ञान (आर्टिफिसियल इन्टिलिजेन्स)  र बृहत् तथ्यांक (बिग डाटा) हुन्।

कृत्रिम ज्ञानको प्रारम्भिक स्रोत मानवीय ज्ञान नै हो, तर यन्त्रले यसको प्रभावकारी रूपमा र तीव्र गतिमा संश्लेषण गरेर मानिसले भन्दा राम्रो तवरले काम सम्पन्न गर्छ। उदाहरणका लागि कम्प्युटरसँग खेलिने बुद्धिचाल खेल नै लिऊँ। बुद्धिचालका गोटी कसरी चल्छन् भन्ने ज्ञान सुरुमा मानिसले कम्प्युटरको भाषामा उतारेर मेसिनमा हाल्छ। तर खेल सुरु भएपछि मानिसको चालको जवाफ दिन कम्प्युटरले निमेषभरमा हजारौं सम्भावनाको हिसाब गरेर उपयुक्त चाल चाल्छ र मानिसलाई नै जित्छ। मानिसले चलेका चालहरूसम्बन्धी तथ्यांक पनि कम्प्युटरको रेकर्डमा थपिँदै जान्छन्, जसबाट उसको कृत्रिम ज्ञान अझ शक्तिशाली र प्रभावकारी हुँदै जान्छ। कृत्रिम ज्ञानकै आधारमा स्वचालित मेसिन, रोबोट र ड्रोनहरूको प्रयोग विस्तार हुँदै गएको छ। हाल चालकरहित गाडीहरू प्रयोगमा आउन थालेका छन्, जसले मानवद्वारा जडित नक्साअनुसार समय, दूरी र तेल खर्चका आधारमा उपयुक्त रुट छानेर यात्रुलाई गन्तव्यसम्म पु¥याइदिन्छ। सेन्सरहरूको मद्दतले गाडीले बाटोमा आउने व्यवधानहरू सजिलै छल्छ र सम्भावित दुर्घटनाको व्यवस्थापन मानिसले भन्दा बढी सुरक्षित रूपले गर्छ।

अब औद्योगिक उत्पादन, यातायात तथा सञ्चार सञ्चालन मानवद्वारा मात्र हुँदैन, कृत्रिम ज्ञानको सहायताले यन्त्रहरू एकअर्काको नित्य सम्पर्कमा रहेर आफैं अन्तरक्रिया गरिरहेका हुन्छन्।

अब औद्योगिक उत्पादन, यातायात तथा सञ्चार सञ्चालन मानवद्वारा मात्र हुँदैन। कृत्रिम ज्ञानको सहायताले यन्त्रहरू एकअर्काको नित्य सम्पर्कमा रहेर आफैं अन्तरक्रिया गरिरहेका हुन्छन्। यस क्रममा विविध खालका सूचना र तथ्यांक उत्पादन तथा प्रवाह चलिरहेको हुन्छ। मानिस पनि इन्टरनेटजडित मेसिनमा आफ्ना व्यक्तिगत सूचना राखेर एकआपसको सम्पर्कमा आउँछन्, जसलाई सामाजिक सञ्जाल भनिन्छ। त्यसरी नै सार्वजनिक स्थानहरूमा जडित सेन्सर र सूचना संकलनका अन्य उपकरणले मानिसको ओहोरदोहोर तथा अन्य क्रियाकलापको निगरानी गरिरहेका हुन्छन् र त्यसबाट ठूलो परिमाणमा तथ्यांक संकलन भइरहेका हुन्छन्। विभिन्न प्रयोजनका लागि अन्तरिक्षमा पठाइएका भूउपग्रहहरूले पृथ्वीको वातावरण, प्राकृतिक गतिविधि र मानवीय क्रियाकलापका तथ्यांक संकलन गरिरहेका हुन्छन्। यस्ता तथ्यांकमा परम्परागत स्वरूपको संख्या मात्र नभई सचित्र विवरण, आवाज र दृश्यसमेत हुन्छन्। औद्योगिक क्रान्तिको अहिलेको चरणमा तथ्यांकको दायरा धेरै फैलिएर बृहत् भएकाले यन्त्रहरू र तिनसँगको मानवीय अन्तरक्रियाबाट उत्पादन र प्रवाह हुने तथ्यांकलाई नै बृहत् तथ्यांक भनिन्छ। जसरी मानव संकलित तथ्यांकले सूचना र ज्ञानको विस्तार गर्छन्, त्यसरी नै यन्त्रहरूबीचको अन्तरक्रियाद्वारा उत्पादित बृहत् तथ्यांकले कृत्रिम ज्ञानको प्रवद्र्धन गर्छ।

परम्परागत रूपमा केन्द्रीय तथ्यांक विभाग वा अन्य संस्थाले प्रकाशन गर्ने आधिकारिक तथ्यांकभन्दा बृहत् तथ्यांक कुन अर्थमा भिन्न छ भने यसको उत्पादन यन्त्रहरूबीचको अन्तरक्रियाबाट आफैं हुन्छ। यसका लागि घरघरमा गएर तथ्यांक संकलन गर्न आवश्यक हुँदैन। नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या झन्डै करोड पुगिसकेको छ। संसारमा सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भारतमा (२७ करोड) भए पनि कूल जनसंख्याको अनुपातमा यो संख्या नेपालमा बढी छ। अर्थात् १ करोड नेपालीका नाम, लिंग, उमेर, बासस्थान, मुख्य पेसाजस्ता जनगणनाबाट संकलन हुने तथ्यांक फेसबुकमा त्यत्तिकै उपलब्ध छन्। आर्थिक क्षेत्रमा पनि बृहत् तथ्यांकको उत्पादन र प्रयोग बढ्दै छ।

नेपाल भ्रमण वर्ष सफल पार्ने हो भने विदेशी पर्यटकका लागि उनीहरूको आफ्नै मोबाइल फोनको प्रयोग सहज हुने वातावरण बनाउनुपर्छ।

इन्टरनेटका माध्यमबाट उपभोग्य सामग्री खरिद–बिक्री हुने भएकाले खुद्रा व्यापारसम्बन्धी तथ्यांक– सामानको प्रकार, परिमाण र मूल्य आदि दैनिक रूपमा उपलब्ध हुन्छन्। साथै खरिद गर्नुअघि उपभोक्ताले इन्टरनेटमा आफ्नो आवश्यकताअनुसार सामान खोजी गर्ने भएकाले गुगलजस्ता सर्च इन्जिनले के–कस्ता सामानमा उपभोक्ताले रुचि देखाएका थिए भन्नेबारेको तथ्यांक गुगल ट्रेन्डमा प्रकाशन गर्छ। यसबाट विभिन्न सामानको माग र आपूर्तिमा हुने सम्भावित वृद्धिका आँकडाहरू प्राप्त गर्न सकिन्छ। गुगल ट्रेन्डबाट प्राप्त तथ्यांकले विभिन्न उद्योगधन्दाका साथसाथै समग्र आर्थिक दर प्रक्षेपण गर्न पनि मद्दत गर्छ। यसरी नै उपभोक्ता खर्चको जानकारी डेबिट वा क्रेडिट कार्डका माध्यमबाट गरिने भुक्तानीबाट प्राप्त हुन्छ भने इन्टरनेटमा प्रकाशित  विज्ञापनबाट सूचना संकलन गरेर विभिन्न क्षेत्रमा कारोबार गरिरहेका कम्पनीहरूको लगत तयार गर्न सकिन्छ।

बृहत् तथ्यांकको अर्को महत्वपूर्ण स्रोत मोबाइल फोन हो। नेपालमा एक करोडभन्दा बढी वयस्क मानिससँग कम्तीमा एउटा मोबाइल फोन नम्बर छ। दूरसञ्चार, एनसेलजस्ता ठूला कम्पनीहरूसँग एक करोडभन्दा बढी ग्राहकको व्यक्तिगत विवरण छन्। एउटै ग्राहकले एक वा विभिन्न कम्पनीबाट एकभन्दा बढी फोन लिएकाले यी विवरण दोहोरिएका छन्, फलस्वरूप कूल बिक्री भएको नम्बरको संख्या नेपालको जनसंख्याभन्दा बढी छ। तर यो तथ्यांकको उचित प्रशोधन गरेर हरेक ग्राहकको एकल विवरण तयार गर्न सकिन्छ। मोबाइल फोन प्रयोगकर्ता एक स्थानबाट अर्को स्थानमा गएको विवरण टावरको सहायताबाट संकलन भइरहेको हुन्छ।

यस्ता विवरणको विश्लेषणबाट प्रमुख सहर वा अन्य स्थानबीच कति संख्या र कुन समयमा मानिसको ओहोरदोहोर कम वा बढी हुन्छ भन्ने तथ्यांक प्राप्त हुन्छ। शिवरात्रि वा माघे संक्रान्तिजस्ता ठूला मेलाका बेला भीड व्यवस्थापन गर्न र यातायात तथा सुरक्षाको प्रबन्ध गर्न यस्तो तथ्यांक धेरै उपयोगी हुन्छ। मोबाइल फोनको तथ्यांक विश्वका विभिन्न भागमा सरुवा रोगको महामारी नियन्त्रण गर्न सफल रूपमा प्रयोग गरिएको उदाहरण छन्। सुरुमा रोग पत्ता लागेको स्थानबाट मानिसको ओहोरदोहोर कुन दिशातर्फ बढी छ भन्ने सूचनाका आधारमा रोग विस्तारको क्षेत्र निर्धारण गर्न र रोग नियन्त्रणको कार्यक्रमलक्षित गर्न सकिन्छ।

युरोप र अन्य विकसित देशमा मोबाइल फोनबाट विदेशी पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि तथा खर्चबारे तथ्यांक संकलन हुन्छन्। पर्यटकले सीमा नाघ्नेबित्तिकै स्थानीय टेलिकमले उसको मोबाइलसँग सम्पर्क गर्छ र एक सन्देश पठाउँछ। पर्यटकको मोबाइलले सन्देश टिप्नेबित्तिकै पर्यटक कहाँबाट आएको भन्ने थाहा हुन्छ। स्थानीय टेलिकमका माध्यमबाट सम्पर्क भइन्जेल प्राप्त हुने सूचनाका आधारमा पर्यटकको बसाइ अवधि पनि थाहा हुन्छ र क्रेडिट कार्डका गतिविधिका आधारमा उसले स्थानीय होटेल, रेस्टुराँ वा अन्य सेवामा गरेको खर्च विवरण निकाल्न सकिन्छ।

तर नेपालमा अन्तर्राष्ट्रिय रोमिङ दर उच्च भएकाले अधिकतर विदेशी नेपालमा छँदा आफ्नो फोन प्रयोग गर्दैनन्। कमसेकम भारतसँग रोमिङको समस्या समाधान गर्न सके पर्यटकसम्बन्धी तथ्यांक मोबाइल फोन प्रदायकहरूबाटै संकलन गर्न सकिन्थ्यो। अन्तर्राष्ट्रिय रोमिङ प्रयोग गर्नुभन्दा स्थानीय सीमकार्डको प्रयोग धेरै सस्तो पर्छ। त्यसैले पनि स्थानीय फोनका ग्राहकको संख्या अत्यधिक देखिन्छ। नेपाल भ्रमण वर्ष सफल पार्ने हो भने विदेशी पर्यटकका लागि उनीहरूको आफ्नै मोबाइल फोनको प्रयोग सहज हुने वातावरण बनाउनुपर्छ। त्यसरी नै क्रेडिट कार्ड प्रयोग पनि काठमाडौंका स्तरीय होटेलहरूमा मात्र सीमित छ।

त्यो पनि चर्को कमिसन दरका कारण व्यापारीहरू नै ग्राहकबाट नगद भुक्तानीको अपेक्षा राख्छन्। यी समस्याले गर्दा प्रविधिले प्रदान गरेका अवसरहरू सदुपयोग हुन सकेका छैनन्। बृहत् तथ्यांकका नयाँ स्रोतहरू आउँदैमा यी तथ्यांक तत्कालै प्रयोग हुन सक्छन् र परम्परागत तथ्यांक संकलन कार्यक्रम अब अनावश्यक भइसक्यो भन्ने कदापि होइन। नयाँ स्रोतहरूको प्रयोगका केही व्यावसायिक, कानुनी र प्राविधिक पक्ष छन्। व्यावसायिक कम्पनीहरूको स्वामित्वमा रहेका तथ्यांक सार्वजनिक प्रयोगमा ल्याउन के–कस्ता कानुनी प्रावधान आवश्यक हुन्छन्, त्यस सम्बन्धमा अध्ययन र परामर्श हुन बाँकी नै छ।

बृहत् तथ्यांक प्रयोगकर्ताको आवश्यकताअनुसारको ढाँचामा उपलब्ध हुँदैन। इन्टरनेट साइटहरूबाट तथ्यांक निकाल्न र प्रशोधन गर्न आँकडा–विज्ञान (डाटा साइन्स) मा तालिमप्राप्त दक्ष जनशक्ति आवश्यक हुन्छ।पछिल्लो समय तीव्र वृद्धि भएको भए पनि देशमा कूल जनसंख्याको जम्मा ३४ प्रतिशत जनताको मात्रै  इन्टरनेटमा पहुँच छ। बृहत् तथ्यांकका स्रोतबाट प्राप्त गर्न सकिने सूचना पूर्ण र भरपर्दो भइसकेको छैन। फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जालको प्रयोग सहरी युवामा सीमित छ। त्यसैले सामाजिक सञ्जालको आँकडामा भर परेर राज्यले विकासका कार्यक्रम बनाउन सक्दैन। यी समस्या हुँदाहुँदै पनि हामीले वर्तमान विश्वको विज्ञान तथा प्रौद्योगिकी विकासको दिशा हेरेर नयाँ सम्भावनाहरूको समयमै पहिचान गर्न सक्नुपर्छ।

वि.सं. २०७८ मा नेपालमा १२औं जनगणना हुँदै छ। जनगणना परम्परागत ढाँचामा तथ्यांकको एक प्रमुख स्रोत हो। घरपरिवारको लगत र जन्म–मृत्युको सबल पञ्जिका राख्न सके जनगणनाबिनै जनसंख्या निर्धारण गर्न सकिन्छ भन्ने कुरा धेरै मुलुकको अनुभवबाट सिद्ध भइसकेको छ। नेपाल त्यो अवस्थामा पुग्न नसकेको भए पनि प्राविधिक विकासका सहुलियत प्रयोग गरेर तथ्यांक उत्पादन र प्रकाशन प्रभावकारी बनाउन सक्षम छ। त्यसका लागि राज्यले कृत्रिम ज्ञान र बृहत् तथ्यांक क्षेत्रमा कार्यरत सरकारी तथा निजी संस्थाहरूलाई सहभागी गराउने प्रयास आवश्यक छ। बृहत् तथ्यांक अर्को एक नयाँ स्रोत हो, जसको उचित प्रयोग हुन सके देशको जनसंख्याबारे पूर्ण जानकारी पाउन १० वर्ष कुर्न र ठूलो रकम खर्च गर्न नपर्ने समय चाँडै आउन सक्ने थियो।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App