८ वैशाख २०८१ शनिबार
खेल

सन्दीपको कप्तानीमा यु १९ टोली छनोट

काठमाडौं- श्रीलंकामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटमा लेग स्पिनर सन्दिप लामिछानेको कप्तानीमा नेपालले आफ्नो चुनौती प्रस्तुत गर्ने भएको छ। अस्ट्रेलियाको सिड्नीमा स्थानीय क्लबबाट खेलेर फर्किएका सन्दिपलाई पहिलोपल्ट यु–१९ टोलीको कप्तानी जिम्मेवारी दिइएको हो।

साढे दुई महिनाको अस्टे्रलिया बसाइमा सन्दिपले माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्नुका साथै वेस्टर्न सुवर्सबाट ग्रेड क्रिकेट खेलेका थिए।

बंगलादेशमा सम्पन्न यु–१९ विश्वकपबाट सन्दिप चर्चामा आएका थिए। न्युजिल्यान्डविरुद्ध ह्याटि्रक पूरा गरेका सन्दिपले प्रतियोगिता १४ विकेट लिएका थिए। प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिनेमा सन्दिप दोस्रो स्थानमा थिए। पहिलो स्थानमा नामिबियाका फ्रिट्ज कोट्जे (१५ विकेट) थिए।

यसै वर्ष कीर्तिपुरमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सन्दिपले नामिबियाविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उक्त प्रतियोगितामा उनले २ विकेट लिएका थिए।

मंसिर २८ बाट श्रीलंकामा हुने प्रतियोगिताका लागि नेपाली छनोट समितिले सोमबार १५ सदस्यीय टोलीघोषणा गरेको हो। छनोट समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)का एसिया क्रिकेट विकास अधिकृत बैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दास छन्।

प्रशिक्षक दासले कप्तानका लागि नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने भएकाले सन्दिपलाई उक्त जिम्मेवारी दिइएको बताए। उनले भने, ‘सिनियरभन्दा कसमा नेतृत्व गर्ने क्षमता छ भन्ने हो। त्यसैले हामीले सन्दिपलाई कप्तानीजिम्मेवारी दिएका हौं।’

घोषितटोलीमा ३ स्पिनर र ३ मिडियम पेसर छन्। १ जना अलराउन्डर छन् भने ८ जना ब्याट्सम्यान छन्।

यसअघि नेपालले राजु रिजालको कप्तानी यु–१९ विश्वकप क्रिकेट खेलेको थियो। श्रीलंकामा हुने तेस्रो संस्करणका लागि नेपाली टोलीका अन्य सदस्यमा मोहम्मद आसिफ शेख,रवीन्द्रजंग शाही, अदिल खान, भीमसार्की, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, सुवर्णकर उराव, सन्दिपसुनुवार, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अविनाश कर्ण र रोहितकुमार पौडेल रहेका छन्। साहब आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापालाई वैकल्पिक खेलाडीमा राखिएको छ। प्रतियोगिताका लागि५ विकास क्षेत्रबाट ५२ खेलाडीछनोट गरेर बन्द प्रशिक्षणमा राखिएको थियो।

आयोजक श्रीलंकासँगै भारत, पाकिस्तान, बंगलादेश, नेपाल, अफगानिस्तान, मलेसिया र सिंगापुरले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्। समूह 'ए' मा नेपालसँगै आयोजक श्रीलंका, साबिक विजेता भारत र मलेसिया छन्। समूह 'बी' मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान, र सिंगापुर छन्।

मलेसियाबाट सन् २०१२ देखि सुरु एसिया कपको पहिलो संस्करणमा पाकिस्तान र भारत संयुक्त विजेता बनेका थिए भने दोस्रो संस्करणको फाइनलमा भारतले पाकिस्तानलाई ४० रनले हराएको थियो।

 

प्रकाशित: २१ मंसिर २०७३ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App