coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागलुङमा विज्ञप्तिमार्फत नेकपाका घर्तीकाे बागी फिर्ता

नेकपाका नेता शेरमान घर्ती। तस्बिर :संगम/नागरिक।

बागलुङ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती चर्चित बने। यो चारदिन सबैको ध्यान शेरमानमै केन्द्रित भयो। कात्तिक २१ मा पार्टीले पश्चिम बागलुङलाई अवमूल्यन गरेको भन्दै बागी उम्मेदवारी दिएका शेरमान समर्थकको साथमा रातारात बुर्तिबाङ फर्किए। उम्मेदवारी दर्तालगत्तै गाडी चढेर बाटो लागेपछि जिल्ला तहका नेताले गहिरोसँग छलफल गर्न पाएनन्। सायद उम्मेदवारी दर्ता भए पनि सजिलै फिर्ता लिन्छन् भन्ने विश्वास थियो। किनकी पश्चिम बागलुङका कम्युनिस्ट नेताको अवमूल्यन भएको भनिएको यो पहिलोपटक होइन र उनीहरूले पार्टीलाई घुक्र्याउने काम गरेका पनि यो पहिलो थिएन।

यसपटक भने नेताले सोचे जस्तो उम्मदेवारी फिर्ता गराउने काम त्यति सहज हुन सकेन। चार दिनदेखि निरन्तर छलफल जारी रहे पनि शेरमानले उम्मेदवारी फिर्ता नलिने अडान यथावत राखेपछि निर्वाचन कार्यालयले तोकेको उम्मेदवारी फिर्ता गर्ने समय समेत घर्कियो। उम्मेदवारी फिर्ता गर्ने समय २० मिनेट पर पुगिसक्दा शेरमान प्रभुको हेलिकप्टरबाट बागलुङ ओर्लिए। अधिकारिक रूपमा उनले उम्मेदवारी फिर्ता लिन नपाएपछि नेकपाको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर एउटा विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सघाउने घोषणा गरेका छन्। ‘पार्टीको निर्देशनअनुसार मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर खिमजीलाई सघाउने घोषणा गर्छु,’ उनले भने, ‘भौगोलिक बिकटताका कारण समयमा आउन सकिएन र आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गर्न सकेन।’

पार्टीले आफ्ना मुद्दा सम्बोधन गर्ने भनेपछि आफू उम्मेदवारी फिर्ता लिन तयार भएको उनको भनाइ छ। ‘मैले बागलुङको पश्चिम भागलाई छुट्टै जिल्ला बनाउनुपर्छ भनेर माग गर्दै आएको थिएँ,’ उनले भने, ‘पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वले पनि यसलाई अगाडि बढाउने भनेपछि मैले उम्मेदवारी फिर्ता लिएको हुँ। अब म खिमविक्रमजीलाई जिताउन लाग्छु।’ नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पनि पश्चिम बागलुङको जनमतबारे केन्द्रीय नेतालाई जानकारी गराउने सहमति भएको बताए। ‘त्यो क्षेत्रको माग जिल्ला टुक्र्याउनुपर्छ भन्ने हुनुपर्छ भन्नेछ,’ उनले भने, ‘उहाँको आवाज हामीले जस्ताको त्यस्तै पु-याउँछौं।’ अब शेरमानले निर्वाचनको मुख्य कमाण्डर भएर निर्वाचन हाँक्ने र चुनाव चिह्न लिने काममा सहभागी नहुने बताए।

उम्मेदवारी फिर्ताका लागि आइतबार बिहान १० बजेदेखि दिनको १ बजेसम्मको समय तोकिएको थियो। शेरमानको उम्मदेवारी फिर्ता गराउन भनेर प्रभुको हेलिकप्टर दिन साढे १२ बजे बुर्तिबाङको उत्तरगंगा माविमा अवतरण ग¥यो। १० मिनेट जति त्यहाँ कुर्दा नेकपाका कुनै पनि नेता त्यहाँ नपुगेपछि ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीको घर होटल दरबारमा गएर हेलिकप्टर रोकियो। त्यतिबेला बागी उम्मदेवार शेरमान अर्का नेता तुलसीराम अर्यालको घरमा थिए। उम्मेदवार घर्तीलाई बन्धक बनाईएको भन्ने कसैले जानकारी दिएपछि प्रहरीले शेरमान र तुलसीराम दुबैलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेको थियो। दिनको १ बजेर ४ मिनेट जाँदा मात्रै शेरमान हेलिकप्टर चढेर बागलुङ आए। बागलुङ आइपुग्दा १ः२० भैसकेकाले उनले उम्मेदवारी झिक्न पाएनन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको बताएको छ।

‘तोकिएको समयमा कसैले पनि फिर्ता गर्नुभएन,’ मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने,ुसमय सकिएकाले अब फिर्ता हुँदैन। ’ शेरमानको उम्मेदवारी फिर्तासँगै पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने मुद्दा फेरि चकोसँग बल्झिएको छ। नेपाली कांग्रेसको क्षेत्रीय समितिले जनजागरणको अभियानमै छुट्टै जिल्ला बनाउने निर्णय गरेर कार्यक्रम गरेका थियो। नेकपाका नेताले पनि जिल्लाले आफूहरूलाई अन्याय गरेको भन्दै छुट्टै जिल्ला बनाउने माग गर्दै आएका थिए। वाम गठबन्ध जोगाउनका लागि शेरमानको मागमा सहमति जनाएसँग यो मुद्दा अब पेचिलो भएर गएको छ। शेरमान घर्ती २०६४ अघि राष्ट्रिय जनमोर्चामा क्रियाशील थिए।

राष्ट्रिय जनमोर्चाबाटै उनले २०५४ सालमा बोबाङको गाविस अध्यक्ष निर्वाचित भएका थिए। पछि माओवादी प्रवेश गरेका उनी माओवादी केन्द्रबाट संविधान सल्लाहकार बने। स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उनी तेस्रो स्थानमा आएका थिए। नेकपा माओवादी केन्द्रले शेरमानलाई उम्मेदवारी बनाउने निर्णय गरेपछि उम्मेदवारी दर्ता गर्ने बिहान नेकपा एमाले प्रवेश गरेका देवकुमार नेपालीले मेयरको निर्वाचनमा बाजी मारे। शेरमानको उम्मेदवारीलाई लिएर पश्चिमका नेकपा नेतामा दुई धार देखिएकाले उम्मेदवारी फिर्ता लिनमा ढिलाई भएको स्रोत बताउँछ।

‘कतिपय नेताहरु पार्टीको निर्देशन मान्नुपर्छ भन्ने मत थियो,’ स्रोतले भन्यो, ‘कतिपयले भने जसरी पनि निर्वाचनमा जानुपर्छ भन्दा मत बाझिएपछि यो अवस्था आएको हो।’ ढोरपाटन नगरप्रमुखले मध्यमार्गी भूमिका खेलेपछि शेरमानको उम्मेदवारी फिर्ता हुने अवस्था सिर्जना भएको समेत कतिपय बताउँछन्। शेरमानको उम्मेदवारी फितांसगै अब निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचन र राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २५ कार्तिक २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App