७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीका पक्षमा दिनहुँ प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा निकालिएको राँके जलुसपछि भीमदत्त चोकमा आयोजित कोणसभा। तस्बिर : नागरिक

डडेल्धुरा – सरकारसँग सात बुँदे माग राख्दै एक सातादेखि डडेल्धुरामा १७ औं सत्याग्रह (आमरण अनशन) थालेका डा. गोविन्द केसीले सरकारले दम्भ देखाउँदा चिकित्सा क्षेत्रमा सुधार हुन नसकेको बताएका छन। सञ्चारकर्मीले आइतबार राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन्। सरकारले माग पूरा गर्नुको साटो जबरजस्ती गर्दै आएको आरोप लगाउँदै उनले चिकित्सा क्षेत्रमा देखिने सुधार नगरे अझै कडा माग राख्ने जानकारी पनि गराए। स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अनशनस्थलबाट डडेल्धुरा अस्तालमा लगिएको छ।

केसीले प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क रूपमा पाउनुपर्ने बताउँदै जनताको मालिक होइन, सेवक भएर सरकार चलाउन जनताले नेकपालाई भोट दिएको स्मरण गराए। उनले भने, ‘तर जनअपेक्षाविपरीत कम्युनिस्ट सरकार माफियाहरूसँग मिलेको छ।’

केसीका सबै माग सरकारले तत्काल पूरा गर्नुपर्ने भन्दै नागरिक समाजको अगुवाइमा विभिन्न संघ–संस्था तथा डडेल्धुरावासीले ६ दिनदेखि प्रदर्शन गर्दै आएका छन। चिकित्सा शिक्षा क्षेत्रमा सुधार एवं सरकारले आफूसँग विगतमा गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित केसीले १७ औं सत्याग्रह डडेल्धुराबाट थालेका हुन।

केसीले सत्याग्रह थालेको आइतबार सात दिन पुगेको छ। उनका माग जायज रहेको र सरकारले पूरा गर्नुपर्ने भन्दै डडेल्धुरास्थित संघ–संस्था, समाजसेवी अगुवाहरूले सत्याग्रहप्रति समर्थन जनाउँदै आएका छन। माग सम्बोधनका लागि सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै डडेल्धुरा सदरमुकाममा ६ दिनयता लगातार प्रदर्शन हुँदै आएको छ।

केसीले आमरण अनशनप्रति सरकारले कुनै प्रतिक्रिया नजनाएपछि जिल्ला सदरमुकाम बागबजारमा आइतबार झुरो (दियालो) जुलुस निकालिएको छ। विद्युत नभएका बेला सुदूरपश्चिमवासीले झुरो बालेर उज्यालो बनाउँथे। सल्लाको रुखबाट निकालिने झुरो उज्यालोका लागि प्रयोग गरिन्छ। सरकार अध्याँरोमा सुतेकाले ब्युँझाउन झुरो बालेर जुलुस निकालिएको नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्मिच प्रदेश संयोजक प्रकाश साउदले बताए।

डा. गोविन्द केसीका माग पूरा गर्न सरकारले चासो नदेखाए थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालने गर्ने नागरिक समाजको चेतावनी।

यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य उपचारमा सबैको समान पहुँचलगायत माग राखी पटकपटक अनशन बसेका केसीले यस पटक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा वा डोटीमा मेडिकल कलेज निर्माण र कर्मचारी समायोजनले डडेल्धुरा अस्पताललगायत देशभरिका अस्पताल, स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको पदपूर्ति हुनुपर्ने माग थपेका छन। ‘डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्यमा सरल, सहज, समान पहुँच अनि सस्तो स्वास्थ्य उपचार पाउनुपर्ने पक्षमा छन,’ साउदले भने, ‘गरिब नेपालीले उपचारै नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ। यस कारण अन्धो सरकार, सुतेको सरकारलाई ब्युँझाउन दिउँसै झुरो बाली जुलुस निकालिएको हो।’

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरीविरुद्ध पनि नाराबाजी गरियो। प्रदर्शनकारीले राँको बाली बागबजार क्षेत्र परिक्रमा गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा सामान्य झडपसमेत भएको थियो। दिउँसो बजार पूर्ण रूपले बन्द रहे। एम्बुलेन्स र अतिआवश्यकीयबाहेक अन्य सवारीसाधन पनि प्रदर्शनका क्रममा चलेनन। झुरो जुलुस सहिद भीमदत्त चोकमा पुगेपछि कोणसभामा परिणत भयो। केसीका मागप्रति समर्थन जनाउन डोटीलगायत जिल्लाबाट सर्वसाधारण आउने क्रम जारी छ।

प्रजातान्त्रिक शिक्षक संघ डोटीका अध्यक्ष लोकराज भट्टले केसीका माग जायज भएकाले सबैले साथ दिनुपर्ने बताए। यस्तै, नेपाली कांग्रेस जिल्ला पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले डा. केसीको आन्दोलनले महाअभियानको रुप लिएको बताए। केसीका मागप्रति सरकार मौन रहिरहे सोमबारदेखि अझ कडा रूपले प्रस्तुत हुने नागरिक समाज डडेल्धुराले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App