७ वैशाख २०८१ शुक्रबार
राजनीति

राज्यव्यवस्थाले बोलायो प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर:नागिरक

काठमाडौं – प्रतिनिधिसभाका राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानीमा भारतले नेपालको सिमाना मिचेको विषयमा छलफल गर्न सोमबार बैठक बोलाएका छन्। सिमानाका विषयमा जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र भूमि सुधारमन्त्री पदमा अर्याललाई बैठकमा बोलाएको छ। राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठले भनिन्, ‘यो (सीमा) संवेदनशील विषय भएकाले प्रधानमन्त्रीलाई बोलाइएको हो।’

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसबारेमा छलफल गर्न र आवश्यक जानकारी लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ।

नयाँ संविधानअनुसार प्रतिनिधिसभा गठनपछि प्रधानमन्त्रीलाई समितिको बैठकमा पहिलोपटक डाकिएको हो। तर, प्रधानमन्त्री आफ्नो स्वास्थ्य अवस्था हेरर मात्र बैठकमा जानेनजाने भन्नेबारे सोमबार बिहान निर्णयमा पुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सर्भे अफ इन्डियाले हालै ‘पोलिटिकल म्याप अफ इन्डिया’ प्रकाशित गरेको छ। सो नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतको सीमारेखाभित्र राखिएको छ । यसबाट नेपालको तीन सय ७२ वर्गकिलोमिटर भू–भाग भारततर्फ परेको छ। भारतले सीमा मिचेको भन्दै नेपालमा विरोध भइरहेको छ। यस विषयमा शनिबार सर्वदली बैठक समेत बसेको छ। सो बैठकले सीमा विवाद प्रधानमन्त्री तहबाट समाधान गर्न सुझाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि नपरेको बताएका छन्। उनले भनेका छन्, ‘हामीले नेपालसँगको सिमाना हेरफेर गरेका छैनौं।’ नेपाल–भारत संयुक्त बोर्डर वर्किङ ग्रुपको सातौं बैठक तीन महिनापछि काठमाडौंमा हुँदैछ। त्यस समयमा कालापानी क्षेत्र भारतको हो भन्ने प्रमाणका रुपमा देखाउन नयाँ नक्सा बनाएर उसले प्रकाशित ग्ेको अनुमान विज्ञहरुको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App