७ वैशाख २०८१ शुक्रबार
राजनीति

फिर्ता भएन सरकारी गाडी

फाइल तस्बिर

वीरेन्द्रनगर– सत्तारुढ नेकपाका नेता यामलाल कँडेलले संसद् सचिवालयबाट पाएको गाडी फिर्ता गरेका छैनन्। तत्कालिन नेकपा एमालेका संसदीय दलको नेता हुँदा उनले गाडी सुविधा पाएका थिए।

हाल उनले संसद् सचिवालयबाट इन्धन गाडी मर्मत खर्च पाउँदै आएका छन्। दुई पार्टी (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी) को एकता हुँदा अहिले कर्णालीका मुख्यमन्त्री तथा तत्कालीन नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाही दलका नेता छन्। 

दुई पार्टी एक भएपछि कँडेलले गाडी सुविधा फिर्ता गर्नुपर्ने हो। गाडी फिर्ताका लागि संसद् सचिवालयले पनि उनलाई पत्र काटेको छैन। कर्णाली प्रदेश सरकारको निर्णयअनुसार कँडेललाई गाडी उपलब्ध गराएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए। सरकारले फिर्ता माग्ने निर्णय गरे गाडी फिर्ता माग्ने उनको भनाइ छ। ‘अहिले उहाँ (कँडेल) ले प्रयोग गर्ने गाडी सरकारी हो,’ उनले भने।

नेता कँडेलले कर्णाली प्रदेश सरकारको निर्णयअनुसार २०७५ साउन १३ गते संसद् सचिवालयबाट गाडी सुविधा लिएका थिए। बा२झ ३९७० नम्बरको स्कारपीयो गाडी ४९ लाख ४९ हजार नौ सय ९९ रूपैयाँमा खरिद भएको संसद् सचिवालयले जनाएको छ। उनले संसद् सचिवालयबाट इन्धन र गाडी मर्मत खर्चसमेत लिने गरेको संसद् सचिवालयले जनाएको छ। 

उनले गाडी फिर्ता नगर्दा राज्यको अनावश्यक व्ययभार बढेको प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ। सरकारी गाडीको दुरुपयोग भएको भन्दै कांग्रेसले गाडी फिर्ता हुनुपर्ने बताएको छ। कांग्रेस दलका नेता जीवनबहादुर शाहीले ‘कम्युनिस्ट नैतिकवान हुन्छन्, मलाई लाग्छ उहाँले नैतिकता गुमाउनु भएको छैन।’

संसद् सचिवालयका एक कर्मचारीका अनुसार हालसम्म उनको गाडी फिर्ता माग्ने कुनै प्रक्रिया सुरु भएको छैन। ‘दलको नेता नभएपछि उनले आफैँ गाडी फिर्ता गर्नुपर्ने हो’, उनले भने,‘तर उनले बुझाएका छैनन्।’ संसद् सचिवालयबाट दलका नेता संसदीय दलका सभापति प्रमुख सचेतक सचेतकले गाडीको सुविधा पाउँदै आएका छन्। यस विषयमा उनीसँग कुरा गर्दा प्रतिक्रिया नछाप्न भन । 

नयाँ गाडी खरिद हुँदै

संसदीय समितिले नयाँ गाडी खरिद गर्ने भएको छ। गाडी खरिदका लागि उक्त समितिले प्रक्रिया अगाडि बढाएको छ।

गाडी खरिदका लागि हेबी इक्कुमेन्ट डिभिजन कार्यालयलाई चिठी पठाएको संसद् सचिवालयले जनाएको छ। नयाँ खरिद हुने गाडी कर्णाली प्रदेशका सभाका सभामुख राजबहादुर शाहीले प्रयोग गर्ने बताइएको छ। हाल उनले कर्णाली सभा गठन भएपछि अर्को कार्यालयबाट हस्तान्तरण भई आएको गाडी प्रयोग गर्दै आएका छन्। नयाँ गाडी एक करोड ५० लाखसम्ममा खरिद हुने संसद् सचिवालयले जनाएको छ। हेबी इक्कुमेन्ट डिभिजन कार्यालयबाट स्वीकृत भई आयो भने गाडी किन्न बाटो खुल्ने संसद् सचिवालयको स्रोतले जनाएको छ। सभामुखले प्रयोग गर्दै आएको गाडी पुरानो भई सकेकाले नयाँ गाडी खरिद हुन लागेको स्रोतको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०७६ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App