७ वैशाख २०८१ शुक्रबार
समाज

१४ दिनदेखि तिवारी अनशनमा, वार्ता विफल

राजविराज- सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत विकास तिवारीको अवस्था बुझ्न सोमबार स्वास्थ्य मन्त्रालयको टोली राजविराज आइपुगेको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. महेश खनालको नेतृत्वमा चार सदस्यीय टोली यसरी सप्तरी आइपुगेको हो। टोलीमा डा. खनालका अतिरिक्त स्वास्थ्य मन्त्रालयका उपसचिव हरिदास शर्मा, लेखाअधिकृत प्रह्लाद सापकोटा र पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखाअधिकृत सोम अधिकारी छन्।

टोलीले मागबारे तिवारीसँग छलफल गर्‍यो तर तिवारीले स्वास्थ्यमन्त्री नआएसम्म अनशनलाई निरन्तरता दिने अडान दोहोर्‍याएका छन्।

सद्भावना पार्टी गजेन्द्रवादीको केन्द्रीय अध्यक्षसमेत रहेका तिवारी भन्छन्, 'टोलीसँग अत्यन्तै सकारात्मक कुराकानी भयो तर उक्त टोलीबाट माग सम्बोधन सम्भव नदेखिएकाले अनशनलाई निरन्तरता दिने अवस्था रहेको हो।' अञ्चल अस्पतालमा भइरहेको अनियमितता स्वास्थ्यमन्त्री स्वयं आएर बुझ्नुपर्ने तिवारीको भनाइ छ।

'सरकार अझै पनि हाम्रो मागप्रति गम्भीर हुन नसकेको मेरो बुझाइ छ,' तिवारीले भने, 'मन्त्री आफैंले आएर एकपटक अस्पतालको निरीक्षण गर्नुपर्छ भन्ने माग गरिरहँदा राज्यमन्त्री तहको निर्णयबाट वार्ता टोली पठाउने काम उपयुक्त लागेन।'

मागप्रति विभाग र मन्त्रालय गम्भीर : डा. खनाल

 वार्ता टोली संयोजक डा. खनालले तिवारीले उठाएका मागप्रति स्वास्थ्य मन्त्रालय र विभाग गम्भीर रहेको बताएका छन्। सोमबार अस्पताल परिसरमै भेटिएका डा.खनालले अनशनकारीको तर्फबाट उठाइएका सबैजसो माग पूरा गर्ने म्यान्डेडसहित आएको जानकारी गराए।

 'यसअघि मंसिर १३ गते पनि स्थानीयस्तरमै एक चरणको वार्ता भएको थियो,' डा. खनालले भने, 'स्थानीय स्तरमा पूरा गर्न सकिने मागप्रति स्थानीयस्तरमै प्रतिबद्धता जनाइएको छ, त्यसबाहेकका माग पूरा गर्न हामी टोलीसहित आइपुगेका छौँ।' तिवारीले उठाएका आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि सम्बन्धित ज्ञान भएका कर्मचारीसहितको टोली आएको उनको भनाइ छ।

 'वार्ताका क्रममा उहाँले स्वास्थ्यमन्त्रीलाई नै बोलाउनुपर्ने तथा नागरिक समाजका केन्द्रीय अगुवाको नेतृत्वमा आर्थिक अनियमिततासम्बन्धी छानबिन टोली गठन गरिनुपर्ने लगायत माग गर्नुभएको छ,' डा. खनालले भने, 'यसबारे प्रतिवेदनमार्फत स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौँ।'

'अस्पतालको अवस्था दयनीय'

वार्ता टोली संयोजक डा. महेश खनाल यसअघि सगरमाथा अञ्चल अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

अञ्चल अस्पतालको अवस्था दयनीय रहेको र यसप्रति सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने डा. खनालको भनाइ छ। 'अत्यन्त सानातिना समस्या समयमा समाधान नभएका कारण आमरण अनशन बस्नुपर्ने अवस्था आएको हो,' उनले भने, 'यसप्रति चौतर्फी पहल नभए समस्याको समाधान सम्भव छैन।'

 खासगरी चिकित्सकको सरुवाका सम्बन्धमा कडा कानुन बनाउनुपर्ने उनको धारणा छ। 'दरबन्दी हुँदाहुँदै पनि चिकित्सक नहुनु अत्यन्त दुर्भाग्यपुर्ण हो,' उनले भने, 'एक स्थानबाट अर्को स्थानमा कम्तीमा दुई वर्षसम्म सरुवा नहुने कानुन बनाउन सकिए मात्रै सरकारी अस्पतालको अवस्थामा सुधार आउँछ।'

प्रकाशित: २१ मंसिर २०७३ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App