८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बर्लिनको पर्खाल ढलेको ३० औं वार्षिकोत्सव मनाइयो

बर्लिन – पूर्वी र पश्चिम जर्मनीलाई छुट्याउने बर्लिनको पर्खाल ढलेको ३० औं वार्षिकोत्सव जर्मनीमा शनिबार मनाइएको छ। जर्मनीलाई एक बनाउनका लागि बर्लिनको पर्खाल ढाल्ने कदम २० औं शताब्दीको एउटा महत्वपूर्ण घटना थियो।

तत्कालीन समयमा विश्व दुई धु्रवमा विभाजित थियो, एक संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको पूँजीवादी विश्व र अर्को तत्कालीन सोभियत संघ नेतृत्वको कम्युनिस्ट विश्व। बर्लिनको पर्खाल ढल्नुलाई कम्युनिस्ट समूहको विघटनको सुरुवातको रूपमा समेत लिइएको थियो।

कम्युनिस्ट शासन भएको पूर्वी जर्मनी र पूँजीवादी शासन भएको पश्चिम जर्मनीलाई लगभग तीन दशकसम्म छुट्याएको पर्खाललाई शीत युद्धको एउटा प्रतीकका रूपमा लिइन्थ्यो। तर सन् पर्खाल भत्काइएको एक वर्षपछि सन् १९९० मा दुई जर्मनीबीच एकता भयो र सिंगो जर्मनी बन्यो।

‘हामी हाम्रा मित्रसँगै ३० वर्षअघिको घटना सम्झन चाहन्छौं,’ जर्मनीका राष्ट्रपति स्टेनमियरले बर्नाअर स्ट्रासी बर्लिन पर्खाल स्मारकमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा बताए। बर्लिन पर्खाल भत्किएको ३० वर्ष पुगेको अवसरमा आयोजित औपचारिका कार्यक्रममा जर्मनीका चान्सलर एन्जेला मर्केलसहित पोल्यान्ड, हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रका राज्य प्रमुखसमेत सहभागी थिए।

३० औं वार्षिकोत्सव मनाउने क्रममा जर्मनीका राष्ट्रपति फ्रयांक–वाल्टर स्टेनमियरले शान्तिपूर्ण क्रान्तिका लागि पूर्वी युरोपलाई धन्यवादसमेत दिएका छन्। समारोहकै बीच राष्ट्रपति स्टेनमियर र पोल्यान्ठ, हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रका राष्ट्रपतिहरुले तत्कालीन पूर्वी र पश्चिम जर्मनी छुट्याउने पर्खालको बाँकी अवशेषमा रहेको सानो खाली ठाउँमा फूल राखेका थिए।

राष्ट्रपति स्टेनमियरले अमेरिकी इतिहासविद् फ्रान्सिस फुकुयामाले भने झैं ऐतिहासिक घटनाले ‘इतिहासको अन्त्य’ नदेख्ने बताउँदै राजनीतिक व्यवस्थाबीचका संर्घष जारी नै रहेको र भविष्य झनै अनिश्चितातर्फ लम्किरहेको समारोहमा बताए।

बर्लिन पर्खाल ढल्नुभन्दा तीन महिना पहिले सन् १९८९ मा हंगेरीको सीमा सुरक्षाकर्मीले पूर्वी जर्मनीका मानिसलाई अस्ट्रिया प्रवेश गर्न दिएका थिए। अस्ट्रिया हुँदै उनीहरु पश्चिममा देश पुगे। यही कारणले पूर्वी जर्मनीका तत्कालीन राष्ट्रपति राजीनामा दिन बाध्य भए। सोही वर्षको नोभेम्बर ९ का दिन पूर्वी जर्मनीले यात्रामा रहेको प्रतिबन्ध खुकुलो पार्ने निर्णय ग¥यो। यो निर्णय आएलगत्तै बर्लिनका मानिसले मौकाको सदुपयोग गर्दै पर्खाल भत्काउन सुरु गरे। हर्षित भीडले खुला सीमा पार गर्न थाल्यो।

अर्कातिर सयौं जर्मन नागरिक पूर्वी जर्मनीका आफ्ना छुट्टिएका आफन्तको पखाईमा थिए। खुला सीमा पार गर्नेबित्तिकै आफन्तहरु बीच मिलन भयो। त्यस रातका तस्बिर विश्वभरका सञ्चारमाध्यममा पुग्यो। त्यसको एक महिनापछि पूर्वी जर्मनीको अस्तित्व समाप्त भयो र जर्मनी मात्रै बाँकी रह्यो। पूर्वी र पश्चिम जर्मनीको एकीकरण भयो। अहिले पनि बर्लिन पर्खालका केही टुक्रा वा अवशेष बाँकी छन् जसले देश विभाजनको इतिहास सम्झाइरहेका छन्।

 

प्रकाशित: २४ कार्तिक २०७६ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App