५ वैशाख २०८१ बुधबार
राजनीति

आन्दोलनबाट बाहिरियो रुपन्देही कांग्रेस

बुटवल- प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्र्याएर प्रदेश ४ मा गाभ्ने सरकारी प्रस्तावविरुद्धको आन्दोलन चर्कंदै गइरहेका बेला रुपन्देही कंाग्रेसले आन्दोलनमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

जिल्ला सभापति अब्दुल  रज्जाकले विज्ञप्ति निकालेर एमालेले सञ्चालन गरेको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएका हुन्। ‘संविधान संशोधनले समस्या समाधान गर्ने भएकाले कांग्रेस संशोधनको पक्षमा छ, एमालेले चलाएको आन्दोलनमा सहभागी नहुन कार्यकर्ता, भ्रातृ संगठन र शुभेच्छुकलाई आग्रह गर्छु', रज्जाकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सभापति रज्जाकले आन्दोलनमा सहभागी नहुन भन्दै विज्ञप्ति निकालेपछि स्थानीयस्तरमा असन्तुष्टि बढेको छ। विभिन्न विद्यार्थी संगठनसँगै आन्दोलनमा होमिएको नेवि संघका प्रदेश उपाध्यक्ष प्रकाश रानाले आन्दोलनमा सहभागी नहुन भन्नु गलत भएको बताए। ‘हामी जनताको आन्दोलनमा साथ दिइरहेका छौं, पार्टीले  निर्देशन दियो भने सबै मान्नुपर्छ भन्ने छैन, हामी पार्टीलाई त्यस्तो नगर्न खबरदारी गर्छौं', उनले भने।

१७ गते बुटवलमा भएको विशालसभाको सभापतित्व गरेका संयुक्त आन्दोलन संयोजन समितिका संयोजक एंव कांग्रेस  गुल्मीका सभापति भुवन श्रेष्ठले रज्जाकको विज्ञप्ति हास्यास्पद र जनताप्रतिको अपमान भएको बताए। सरकारले पाँच नम्बर  प्रदेशका पहाड र मधेसका जिल्लाको परम्परादेखिको आर्थिक,  सामाजिक र सांस्कृतिक सम्बन्ध तोड्न खोजेकाले आन्दोलनमा  उत्रनुपरेको उनले प्रस्ट पारे।

  माओवादी केन्द्र रुपन्देहीका जिल्ला तहका नेता कार्यकर्ता पनि  पछिल्ला दिनमा आन्दोलनबाट बाहिरै छन्। माओवादी केन्द्रका स्थानीय नेता प्रदेश टुक्रिनु हुँदैन भन्ने  पक्षमा भए पनि सरकारको नेतृत्व गरेको पार्टी भएकाले अप्ठेरोमा परेको बताउँछन्। पोलिटब्युरो सदस्य माधव शर्माले प्रदेश टुक्रिनु हुँदैन भन्ने मत पार्टी बैठकमा राखेको बताए। ‘अहिलेको आन्दोलनले निकास दिँदैन भन्ने हो', उनले भने।

एमालेले आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउने शनिबार डाकेको सर्वदलीय बैठकमा सहभागी कांग्रेस र माओवादी केन्द्रका नेता यसबारे पछि सल्लाह गर्ने भन्दै बाहिरिएका थिए। तर कांग्रेस र माओवादी केन्द्रका भ्रातृ संगठन भने आन्दोलनमा छन्।

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्धको आन्दोलनप्रति विभिन्न संघसंस्थाले एक्यैबद्धता जनाइरहेका छन्। सोमबार पनि आन्दोलनकारीले यहाँं प्रदर्शन गरे। आन्दोलनकारीले बिहान ७ देखि अपराह्न ४ बजेसम्म बुटबल बन्द गर्दै आएका छन्। आन्दोलन मर्यादित र संयमित देखिएको इलाका प्रहरी कार्यालयका  डिएसपी मुकुन्द मरासिनीले बताए।

प्रकाशित: २१ मंसिर २०७३ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App