८ वैशाख २०८१ शनिबार
खेल

नेपालले प्रतिद्वन्द्वी नै पाएन

पोखरा – पोखरामा झन्डै दुई दशकअघिदेखि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले गत वर्ष एसियाली खेलकुदमा सहभागी भएर नेपाललाई रजत पदक दिलायो। नेपाललाई दुई दशकपछि पदक दिलाउन सफल प्याराग्लाइडिङलाई त्यसपछि मात्र सरकारले खेल गतिविधिको मान्यता दियो।

एसियाली खेलकुदमा सहभागी हुँदै एक मात्र पदक (रजत) जिताएर पोखरामा मात्र सीमित प्याराग्लाइडिङले पोहोर मुलुककै इज्जत धानेको थियो भने ‘पदकका लागि सधैंको दाबेदारी’ बन्दै खेल पदाधिकारीको आँखा खोलिदिएको थियो। मुलुकका लागि दुई दशक अन्तरालमा पदक दिलाएको प्याराग्लाइडिङले डेब्यु संस्करणमै इतिहास बनाउँदा खेलक्षेत्रका व्यक्तिको ध्यान तान्न सकेको थियो।

पदकका लागि त्यही सम्भावनायुक्त खेल प्याराग्लाइडिङले आसन्न १३औ दक्षिण एसियाली खेल (साग) मा भने क्षमता देखाउन नपाउने निश्चित भएको छ। सागमा पहिलो पटक सहभागी हुन पाए पनि प्रतिस्पर्धी राष्ट्र सहभागी नहुँदा पदक जित्ने सम्भावनायुक्त यो खेलले सागमा वञ्चित हुनुपरेको हो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्णयअनुसार सागमा प्याराग्लाइडिङ सहभागी हुन कम्तीमा तीनवटा राष्ट्र हुनुपर्छ। तर, अन्तिम समयमा नेपालबाहेक कुनै पनि मुलुक खेलका लागि तयार नभएपछि प्याराग्लाइडिङको सम्भावना टरेको हो।  

प्याग्लाइडिङका राष्ट्रिय प्रशिक्षक योगेश भट्टराईले सहभागी मुलुकको संख्या नपुग्दा सागमा प्याराग्लाइडिङको प्रतिस्पर्धा नहुने निश्चित भएको बताए। उनका अनुसार नेपाल, भारत, पाकिस्तान सहभागी हुने बताए पनि अन्तिम समयमा उनीहरूले नआउने जनाउ दिएको बताए। ‘नेपालको तयारी छ। तर, भारत आउन चाहेन, पाकिस्तान मात्र आएर पनि पुग्दैन,’ भट्टराईले भने,‘अरु मुलुकको त झनै तयारी थिएन। नेपालले पदक जित्ने सम्भावनायुक्त खेल थियो। तर, त्यही खेल नै नहुने भएको छ।’

नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष समेत रहेका भट्टराईले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सम्बन्धित मुलुकका प्याराग्लाइडिङ एसोसिएसनबीचको समन्वय अभावमा अहिले खेल नहुने चरणमा पुगेको बताए। ‘नेपालको पदक जित्ने सम्भावना त्यही प्याराग्लाइडिङसँग थियो। तर, त्यो पनि नहुने निश्चित भइसक्यो। अरू मुलुक तयार नभएसम्म नेपाल एक्लै खेल्न मिलेन,’ उनले भने।

एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङले क्रसकन्ट्री विधामा एक मात्र रजत पदक जितेको थियो। त्यसपछि नेपाली प्याराग्लाइडिङ खेलाडीको हौसला बढेको थियो। सागमा पनि पदक जित्न सक्ने सम्भावना रहेको भन्दै खेलाडी निकै हौसिएका थिए। तर, त्यही पदकको सम्भावनायुक्त खेल नै हुन नसक्दा तयारीमा रहेका खेलाडी समेत निराश बनेका छन्। प्याराग्लाइडिङका राष्ट्रिय कप्तान विमल अधिकारी नेपालले पदक जित्ने सम्भावना बोकेको खेलमा खेल्नै नपाउँदा खेलाडी नै निराश हुनपरेको बताए। ‘एसियालीमा खेलकुदमा हामीले राम्रो गरेका थियौं। त्यही कारण पनि अरू मुलुक यहाँ आउन नचाहेको हामीले बुझेका छांै,’ अधिकारीले भने, ‘प्याराग्लाइडिङका सबै पदकमा नेपालको दाबा हुन्थ्यो र थियो।’

नेपाल प्याराग्लाइडिङका सबै पदकको दाबेदार भएकाले पनि अरू मुलुकले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको उनको अनुमान छ। अधिकारीका अनुमानमा प्याराग्लाइडिङमा पनि नेपाल कमजोर हुन्थ्यो भने ती मुलुक सहभागी हुन सक्थे। तर, नेपाल यसमा कमजोर नहुँदा अरूले सहभागिता जनाउन नचाहेको उनले बताए। प्याराग्लाइडिङको प्रतिस्पर्धा नहुँदा खेलाडी मात्र नभई एसियन ओलम्पिक कमिटीका पदाधिकारी पनि दुखी रहेको उनले बताए। ‘खेलाडीले खल्लो महसुस गरेका छन्। हाम्रा लागि यो क्षमता देखाउने अवसर थियो, तर, त्यही अवसर गुमाउनुप¥यो,’ अधिकारीले भने।

नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका प्याराग्लाइडिङका टिमलाई सागमा सहभागी हुन आमन्त्रण गरिएको थियो। तर, तीमध्ये केही मुलुक सम्पर्कमै आएनन् भने कतिपयले अन्तिम समयमा सहभागिता जनाउन नसक्ने जनाउ दिएका छन्। पाकिस्तान लामो समयदेखि सम्पर्कमा नरहेको उनले बताए। बंगलादेश पनि पछिल्लो तीन सातादेखि सम्पर्कमै छैन। श्रीलंकाले राष्ट्रिय टोली नभएको भन्दै सहभागिता जनाउन चाहेन। भारत पनि अन्तिम समयमा तयार नदेखिएको उनले बताए।

भारतमा प्याराग्लाइडिङका दर्जन हाराहारीमा क्लब भए पनि राष्ट्रिय टोली नरहेकाले सहभागी हुन नचाहेको उनले बताए। ‘प्याराग्लाइिडङका स्थानीय क्लब ती मुलुकमा पनि छन्। तर, राष्ट्रिय टोली नबनाएकाले पनि कतिपय मुलुकले सहभागिता जनाउन चाहेनन,’ रावतले भने, ‘नेपाल मात्र तयार भएर पुगेन। प्रतिस्पर्धाका लागि सहभागी मुलुक नै नभएपछि नेपालले पदक अवसर गुमाएको छ।’

सागमा सहभागिता जनाउनका लागि प्याराग्लाइडिङका २७ जना खेलाडी बन्द प्रशिक्षणमा थिए। तीमध्येबाट ५ पुरुष र ३ महिला अन्तिम छनोटमा पर्ने गरी अभ्यास गरिरहेका थिए। प्याराग्लाइडिङको टिम र व्यक्तिगततर्फ एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गराइने तयारी रहेको समेत रावतले बताए। ‘अब त कुनै मुलुक तयार भए पनि खेलाउनै सकिन्न। किनभने निकै नै  ढिला भइसकेकाले अन्तर्राष्ट्रिय निर्णायक समेत भित्रयाउन सकिन्न,’ उनले भने। ती खेलाडीले आठ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने तयारी थियो। ‘नेपाली खेलाडीले अधिक स्वर्ण जित्ने सम्भावना थियो। तर, त्यही खेल नै खेलाउन पाएनौं। यो मुलुकका लागि घाटा हो,’ रावतले भने, ‘नेपाल मात्र तयार भएर अपुग भयो। सबैभन्दा बढी स्वर्ण जित्ने खेल नै प्याराग्लाइडिङ थियो। तर, त्यही खेल नहुने भएको छ।’

स्वर्ण पदक जित्ने खेल भए पनि सागमा प्रतिस्पर्धाका लागि प्याराग्लाइडिङका पूर्वाधार भने अभावै थियो। पोखरा महानगरपालिकासँग जग्गा भाडामा लिएर टेकअफ र ल्यान्डिङका पूर्वाधार बनाउने भनिए पनि महानगरले बेवास्ता गर्दा ठाउँ पाउन नसेकेको रावतले बताए। ‘राष्ट्रिय खेलकुद परिषद्बाट आएको बजेटले महानगरसँग भाडामा लिएको जग्गामा टेकअफको ठाउँ व्यवस्थित बनाउने योजना थियो। तर, त्यो पनि अपुरो थियो,’ उनले भने, ‘पूर्वाधार पनि थिएन। खेल नै हुने अवस्था आएन।’ प्याराग्लाइडिङको टेकअफका लागि ८० मिटर लम्बाइ र ८० मिटर चौडाइको भिरालो (४० डिग्री) को जग्गा चाहिन्छ। अहिले भाडाको जग्गामा प्याराग्लाइडिङको टेकअफ र ल्यान्डिङ हुँदै आएको छ। हरेक कम्पनीले टेकअफ र ल्यान्डिङका लागि मात्र वर्षको १ लाख रुपैयाँ भाडा तिर्छन्। यहाँको सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुन्छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App