coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'क्रसर डनको कब्जामा चुरे'

धनुषा - गणतन्त्र नेपालका प्रथम एवं पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र क्रसर डनको कब्जामा रहेको बताएका छन्। जनकपुरधाममा पर्यटन वर्षको प्रचारप्रसार गर्ने उद्देश्यले शुभारम्भ भएको आइएमई नेपाल साहित्यिक महोत्सवमा शनिबार ‘चुरेको चिन्ता’ विषयक सत्रमा बोल्दै पूर्वराष्ट्रपति यादवले क्रसर डनले चुरेलाई कब्जा गरी राखेको बताएका हुन्।

‘चुरेलाई क्रसर माफियाहरूले कब्जा गरी राखेका छन्,’ उनले भने, ‘उनीहरूले राजनीतिक संरक्षण पाइराखेका छन्। सबै पार्टीले पनि उनीहरूलाई नै टिकट दिन्छन्।’ विगतमा चुरे क्षेत्रका रूखहरू कटान भएको र अहिले त्यहाँ गिट्टी, बालुवालगायत उत्खनन भइरहे पनि तीनै तहको सरकार मुकदर्शक भएर बसेको उनले सुनाए। ‘चुरे विनासमा तीनै तहको सरकार जोडतोडले लागेको छ,’ उनले भने, ‘यो कार्यमा दलका कार्यकर्तादेखि ठूलाठूला नेता खुलेआम लागेका छन्।’ चुरे संरक्षणको गुरुयोजना बने पनि समयमा कानुन नबनेको उनले गुनासो गरे।

‘मैले त राष्ट्रपति चुरे संरक्षण अगाडि बढाएँ तर कार्यान्वयन गर्ने सरकारले हो,’ उनले भने, ‘२० वर्षको गुरुयोजना बनेको छ। तर कानुन बनाउने कोही छैन।’ उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फ संकेत गर्दै चुरेको कुरा बिर्सिएको भन्दै चुरेको मुद्दालाई सदनमा उठाउन आग्रह गरे। विज्ञहरूसँग गहन छलफल गरेर चुरे संरक्षणका लागि आवश्यक कानुन ल्याउन संघीय र प्रदेश सरकारलाई उनले सुझाए। ‘चुरियामा डोजर आतंक छ, चुरियालाई भत्काउने क्रम जारी छ,’ उनले भने, ‘यस्तालाई संरक्षण दिइरहने कि सरकारले रोक्नलाई ठोस कदम चाल्ने ?’

चुरेलाई क्रसर माफियाहरूले कब्जा गरी राखेका छन्। उनीहरूले राजनीतिक संरक्षण पाइरहेका छन्। सबै पार्टीले पनि उनीहरूलाई नै टिकट दिन्छन्।

‘विकासको नाममा विनास’
राष्ट्रपति यादवले अहिले देशमा विकासको नाममा विनास भइरहेको बताएका छन्। अनुसन्धान र विज्ञहरूको सल्लाहबिना विकासको जग ठान्नुको औचित्य नरहेको उनले सुनाए। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल, निजगढदेखि काठमाडौंसम्म बन्न लागेको फास्टट्र्याक, निर्माणाधीन मदनभण्डारी राजमार्गलगायत विकासप्रति उनले विरोध जनाएका छन्। ‘चुरेको संरक्षण गर्नुको सट्टा सरकारले नै चुरेको छातीमा डोजर चलाएर चिरिरहेको छ,’ उनले भने, ‘चुरेलाई बर्बाद गरी मदनभण्डारी राजमार्ग बनाउने काम भइरहेको छ। यसले चुरेसहित देशको विनास निश्चित छ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त ठाउँमा नरहेको भन्दै वैज्ञानिक अध्ययन गर्न उनले सरकारलाई सुझाए। ‘त्यस ठाउँमा विमानस्थल बन्यो भने बाँचेको जंगल पनि सखाप हुन्छ तसर्थ चार किलोमिटरपूर्व वा पश्चिम सारेर बनाउनुपर्छ, चुरिया माई भनेर देवीदेवतालाई पूजा गर्ने अनि सिंगो देशकै आमाको रूपमा रहेको माटो (चुरिया) लाई नजोगाउने ?’ उनले भने, ‘विकासको नाममा विनास गर्नु हुँदैन। त्यसको विकल्प खोज्नुपर्छ।’

‘निजगढबाहेक अर्को विकल्प छैन’

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वराष्ट्रपति यादवलाई जवाफ फर्काउँदै अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बाहेक विकल्प नरहेको बताए। विरोध गर्नु नेपालीको बानी नै रहेको भन्दै उनले यसको विरोध गर्नुको कुनै औचित्य नरहेको जनाए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका लागि आठ स्थानको अध्ययन गर्दा निजगढ नै उत्तम देखिएको छ,’ उनले भने, ‘यद्यपि पुराना रूखहरू काटिने हुँदा जंगली जनावरलाई समस्या हुन सक्छ। तर, त्यो बाहेक विकल्प नै छैन। दायाँबायाँ गर्दा पुराना सालका रूखहरू बर्बाद हुन्छन्।’

‘मदन भण्डारी राजमार्ग रोकौं’

पूर्वप्रधानमन्त्री नेपालले मदन भण्डारी राजर्मागको आवश्यकता नरहेको औंल्याएका छन्। राजमार्ग, सडकलगायतले जंगल विनास भइरहेको प्रति आक्रोस व्यक्त गर्दै उनले मेचीदेखि महाकालीसम्म कतिवटा राजमार्ग चाहिन्छन् ? भनेर प्रश्न गरे। ‘नेपालको जनसंख्या १० करोडसम्म भयो भने कतिले राजमार्गले धान्छ ? कृषि उत्पादन र कलकारखानाको सामान ओहोरदोहोरका लागि कति सडक चाहिन्छ ? उत्तर–दक्षिण र मेचीमहाकाली पुग्न कति राजमार्ग चाहिन्छ ?’ उनले भने, ‘त्यसबारे कुनै चिन्तन छैन। लहडमा सडक बनाउने काम भइरहेको छ।’ पूर्वपश्चिम, हुलाकी र मध्यपहाडी राजमार्ग बनिसकेकाले अर्को राजमार्ग नचाहिने उनले बताए। ‘राजमार्गको हिसाबले तीनवटा भए पुग्छ,’ उनले थपे, ‘पूर्वपश्चिम राजमार्गको छेउमा रेल्वे लाइन राखे पुग्छ।’

प्रकाशित: २४ कार्तिक २०७६ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App