coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आलु महोत्सवमा आलुकै पहाड

महोत्सव स्थलमा निर्माण गरिएको आलुको पहाड। फोटो : कृष्ण/नागरिक

बाजुरा- सुदूरपश्चिम कै पहिलो आलु महोत्सवमा १ हजार क्वीन्टल आलुको पहाड निर्माण गरिएको छ। महोत्सव आयोजकले सिंगो गाउँका आलु संकलन गरेर १ हजार क्वीन्टल आलु थुपारेर एकै ठाउँमा पहाड निर्माण गरेको हो।

आलु उत्पादन क्षमताको अवस्था बारे जानकारी दिन र उत्पादनको उचाई देखाउन सिंगो पहाड निर्माण गरिएको ढम्कने कृषि सहकारी संस्थाका अध्यक्ष नरबहादुर धामीले बताएका छन्। महोत्सवको आयोजना ढम्कने कृषि सहकार संस्थाले नै गरेको हो।

आलु उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्रका रुपमा रहेको ढम्कनेको आलुको प्रवद्र्धन तथा बजारीकरणका लागि कृषि ज्ञान केन्द्र र बडिमालिका नगरपालिकासँगको सहकार्यमा आलु महोत्सव आयोजना गरिएको हो।

स्थानीय बालीको प्रवद्र्धन र किसानका लागि हौसला प्रदान गर्न महोत्सव सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द्र सिजापतीले जानकारी दिए। ज्ञान केन्द्रले महोत्सवमा ३० प्रकारका आलुका परिकार बनाउने बारे नौ वटै स्थानीय तहका १८ जना होटल व्यवसायीलाई जानकारी समेत दिएको छ।

आलु खेतीको प्रवद्र्धन गरी किसानलाई कृषि तथा आलु खेती तर्फ आकर्षण बढाउन र आलु खेतीको प्राविधिक ज्ञान हस्तान्त्रण गर्न महोत्सव आयोजना गरिएको आयोजक संस्था ढम्कने कृषि सहकारी संस्थाका लोकेन्द्र रोकायाले बताएका छन्।

मनोरञ्जनका नाममा हुने महोत्सवलाई पनि फरक शैली र अभ्यासका साथ प्रस्तुत गरी ज्ञान सिप हस्तान्त्रण सहीत मनोरञ्जन प्राप्तीका लागि महोत्सवले राम्रो सन्देश दिएको कृषि विज्ञ तथा आलु वैज्ञानिक डाक्टर कालिका प्रसाद उपाध्यायले बताए। उपाध्याय स्वयमंले बाजुरा आएका आलु खेतीका प्राविधिक ज्ञानहरु बारे जानकारी गराएका थिए।

महोत्सवको दोस्रो दिन किसान र आलु वैज्ञानिक, बजार प्रतिनिधी, सरोकारवाला निकायसँग खुला छलफल आयोजना गरिएको थियो। महोत्सवमा किसानका समस्या र सवालबारे व्यापक छलफल गरिएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले जानकारी दिएका छन्।

महोत्सव कार्तिक २० देखि २२ सम्म सञ्चालन भएको हो। सुदूरपश्चिम सरकारका कृषि मन्त्री बिनिता चौधरीले महोत्सवको उद्घाटन गरेकी हुन्। बाजुराको आलु रसायन बिनाको भन्ने प्रमाणीत गर्नकै लागि महोत्सवले ठूलो सहयोग गरेको र किसानको उत्पादनलाई बजारसँग पुर्‍याउन मन्त्रालयले सक्दो सहयोग गर्ने चौधरीले आश्वासन दिएकी छन्।

चौधरीले उत्पादनमा सबैको सहकार्य र लगानी आवश्यक रहेको पनि बताएकी छन्। महोत्सवमा कृषि विज्ञ था वैज्ञानिक सहित अत्तरीया थाक बजार समितिका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो। नयाँ सन्देश सहितको महोत्सवमा आलुको पहाडले दर्शकहरुको मन जितेको थियो। ८० बढी परिवारले मात्र उत्पादन गरेको आलु संकलन गरेर १ हजार क्वीन्टलको पहाड निर्माण गरिएको थियो।

आलु बाजुराका बजारमा ३० देखि ४० रुपैयाँ प्रति केजी विक्री हुने गरेको छ। महोत्सव अवधीभर भने २५ रुपैयाँमा विक्री गरिएको छ। १ हजार क्वीन्टल नै जिल्ला बाहिर लैजाने गरि सहमति व्यापारीले गरेपछि किसानले घरमै आम्दानी गर्न पाएका छन्। १ हजार क्वीन्टल आलु प्रति केजी २५ रुपैयाँका दरले मात्र २५ हजार रुपैयाँ ढम्कनी बाजुराको हातमा परेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।

बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्याय सहितकै नेतृत्वमा महोत्सव सञ्चालन गरिएको हो। ढम्कनेलाई आलुको गाउँका रुपमा विकास गर्ने गरि पहिलो अभ्यास सुरु गरिएको र भव्य रुपमा सफल रहेको अध्यक्ष पाध्यायको भनाई छ।

मनोरञ्जन सहित कृषि क्षेत्रका प्राविधिक विषय बारे जानकारी दिईएको थियो, भने दर्शकहरुलाई ३० बढी आलुका परिकारहरु खान सुविधा दिएको थियो। थप १८ जनाले आलुकै ३० परिकार बनाउने ज्ञान समेत आर्जन गर्न पाएको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द्र सिजापतिले बताएका छन्।

बडिमालिका नगरपालिकाले किसानलाई फरक सन्देश दिनकै लागि आलु महोत्सव आयोजना गरिएको नगर उपप्रमुख कविता विष्टले बताएकी छन्। महोत्सवमा चर्चामा रहेका कलाकारहरुको पनि प्रस्तुती रहेको थियो। महोत्सव ५ हजार बढीले अवलोकन गरेका छन्।

देउडा गायक प्रकाश थापा, सूर्यविरही साउँद, आईएमइ लोक स्टार टप ५ मा पर्न सफल पविन्द्र सुनार सहित लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराका कलाकारहरुले कृषिसँग सम्बन्धीत गीत, नृत्य तथा झाँकी सहितका प्रस्तुती दिएका थिए। कार्यक्रम स्थलमा सुआहाराले आफ्नो पोषण कर्नर राखेको थियो, भने पीसविनले संविधानका किताबहरु नि:शुल्क वितरण गरेको थियो।  

 

 

प्रकाशित: २३ कार्तिक २०७६ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App