८ वैशाख २०८१ शनिबार
अन्य

फक्ताङलुङ दर्शन

ताप्लेजुङको खम्बाचेनमा पुगेपछि हाम्रो ध्यान कुम्भकर्ण हिमालले तानिरह्यो। पूर्वी पहाडका बस्तीबाट सधैं देखिने हिमालको काखमा पुग्ने रहरले यसपाला उकालो लाग्यौं हामी।

ताप्लेजुङमा रहेको फक्ताङलुङ (७,७१० मिटर) पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्थुम लगायतका जिल्लाबाट सहजै देखिन्छ। दुवैतिर कुम जस्तो देखिने हिमालको सौन्दर्यले मोहित तुल्याउँछ। यसलाई लिम्बू जातिको पवित्रस्थल मानिन्छ। मुन्धुममा वर्णित महत्वपूर्ण स्थानका रूपमा लिइन्छ। कुम्भकर्णलाई लिम्बू भाषामा फक्ताङलुङ भनिन्छ।

फक्ताङलुङ हिमालको सौन्दर्य, धार्मिक महत्व र भौगोलिक विशिष्टता सुनेका हामी उकालिन हतारिएका थियौं। ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि तापेथोकसम्म जिपको यात्रा गरेपछि पदयात्रामा निस्केका थियौं। सेकाथुम, आम्जीलेसा, ग्याब्ला, घुन्सा हुँदै खम्बाचेनबाट फक्ताङलुङ निस्कियौँ। खम्बाचेन र लोनाक खोला मिसिएर घुन्सा खोला बन्ने ठाउँको पुल त-यौं।

उकालोमा दजर्नौ यात्री थिए। यीमध्ये अधिकांश धार्मिक पदयात्री रहेछन्। विदेशी पनि मोहित भएर फर्किएका देखिन्थे। छेउमै फक्ताङलुङबाट बगेर आएको नदी छ। जति हे-यो उति हिमाल नजिक देखिने। फक्ताङलुङको कुम जति हे-यो उति मनमोहक। 

हिमाली क्षेत्रको उकालो हिँड्न सजिलो छैन। लामोलामो सास तान्दै उकालिनुपर्छ। डाँडा नजिकै देखिए पनि पुग्न बेर लाग्ने। हामी ६ जना रमाउँदै, गाउँदै उकालो चढ्यौं। हामीलाई थकाइभन्दा पनि दृश्यको मादकताले जित्यो।

हिमालको फराकिलो भूगोल, ससाना पोखरी, पातलो बुट्टयान र बेजोडले बहने हावाको मिश्रण गजबै थियो। हामीले ढुंगामा सुसाउँदै हिमाल हे¥यौं। आँखै अगाडि टल्किए हिमाल। धार्मिक आस्थाले मन भावुक बनिहाल्यो। 

बाटोमा भुटानबाट आएका रामबहादुर राईलाई भेट्यौँ। उनीसहित चार जना तीर्थयात्रामा आएका महिना दिन भएछ। पाँचथर र ताप्लेजुङको सिमाना कावेलीबाट पूजा गर्दै तिम्बु पोखरी हुँदै फक्ताङलुङ आएका रहेछन्।

हामीले राई जस्ता धेरै जनालाई देख्यौँ। उमेरले नछेक्दो रहेछ, हिमाली यात्रामा पाका मानिसको संख्या पनि ठूलै थियो। फक्ताङलुङको वेस क्याम्प (४५५० मिटर) मा छ। लिम्बूहरूले आस्थाको ठाउँ भनेर हिमालको काखमा ठूलो ढुंगा भएको तस्बिर देखेको धेरै भएको थियो। त्यहाँ पुग्दा धेरै खुसी भएँ।

हिमाली मौसम र हिँडाइको चापले केही समस्या त भएकै हो। तर, हामीले यहाँ आइपुग्नुलाई ठूलो सफलता मान्यौं। ‘ओत तागेर निङमाफुङ माङ्गे सेवारो’ भन्यौँ हामीले पनि। फक्ताङलुङको फेदमा महागुरु फाल्गुनन्दले १९९३ सालमा ध्यान तथा पूजा गरेका थिए।

दसैँ र तिहारको बीचमा हिमालय यात्रामा निस्केका हामीलाई फक्तालुङको दर्शन महत्वपूर्ण बन्यो। हिमालको भूबनोट, खोला, खोल्सा तथा डाँडाहरूको विचरणले आध्यात्मिक भावना जगायो। 

सन्जोगले यो बेला यहाँ ठूलो पूजा हुन लागेको रहेछ। विश्वशान्ति तथा मानव कल्याणका लागि हुन लागेको पूजाको तयारी भइरहेको थियो। त्यहाँ टेन्ट टाँगेर बस्ने ठाउँ बनाइएको रहेछ। पदमार्गमा भेटिएका दर्शनार्थी त्यहीँ भेटिए। हामी पुग्दा आयोजक निकै खुसी भए।

हामी पुगेको ठाउँलाई पारुहाङ भनिँदो रहेछ। अर्को ठाउँलाई मारुहाङ(५,००० मिटर)  भनिन्छ भनेर हामीलाई एक जना अगुवा ज्ञानु चरपेले बताए। पितृदेव र मातृदेवका रूपमा मानिँदो रहेछ यो भूमिलाई।
लिम्बू जातिको उत्पत्तिस्थलका रूपमा यसको पूजा गरिन्छ। पूजालाई भव्य बनाउन तयारी गरिएको थियो।

हामी फर्कंदा बाटोमा थुपै्र दर्शनार्थी भेटिए। हामीले  फक्ताङलुङ हिमाललाई नजिकबाट हे-यौं। मुन्धुममा समेत वर्णित पवित्र स्थलको काखमा पुग्नेको लर्को ताप्लेजुङको रानीपुलदेखि माथिसम्मै देखिन्थ्यो। हिमाली भूभागको दृश्यमा रमाउन उपयुक्तथलोका  रूपमा यो ठाँउ छ।

हामीले भौतिक पूर्वाधार र प्रचारको अभाव देख्यौं। हाम्रो यात्राको संयोजन सुदिप श्रेष्ठले गरेका थिए। हाम्रो समूहमा डा. मंगोल योल्मू, दाबा लामा, उमेश लावती र सिताराम गुरागाई थिए।

फक्ताङलुङको फेदमा पूर्वाधार अभाव देखियो। हामीलाई पूजाका आयोजकले चिया र मकै खुवाए। राहत मिल्यो। हामी साँझ पर्ने बेलासम्म बस्यौं। बिहानै टल्केका हिमाल साँझसम्म टल्केका थिए। घामको टकले साँझ पर्न खोज्दा पहेंलिएका हिमाल पनि उत्तिकै आर्कषक लाग्ने। चिसो अत्यधिक भएकाले साँझपख हामी खम्बाचेनतर्फ लाग्यौं।

खम्बाचेन कञ्चनङ्घा पदमार्गमा पर्ने भएकाले यहाँ सुविधासम्पन्न होटल छन्। खम्बाचेनसम्म कञ्चनजङ्घाको उत्तरी बेस क्याम्प जाने बाटो र फक्ताङलुङ जाने बाटो मिल्छ। खम्बाचेनदेखि फक्ताङलुङ बेस क्याम्पसम्म पुगेर फर्किन सकिन्छ। तर माथि नै बस्ने ठाँउ बनाउन उपयुक्त देखिन्छ।

ताप्लेजुङ सदरमुकामदेखि रानी पुलसम्म गाडीमा जान सकिन्छ। यहाँबाट तमोर नदीको किनारैकिनार सेकाथुम पुगिन्छ। सेकाथुमबाट घुन्साखोलाको काखैकाख अघि बढ्नुपर्छ। सदरमुकाम फुङलिङदेखि पाँच दिनमा फक्ताङलुङ पुग्न सकिन्छ।

असोजदेखि मंसिर र फागुनदेखि चैतमा यो क्षेत्र घुम्न उपयुक्त हुन्छ। कञ्चनजङ्घा बेस क्याम्प जाने पर्यटकलाई यता लान सके राम्रो हुन्थ्यो।
कुमारी गन्तव्य
सुदिप श्रेष्ठ,कार्यक्रम संयोजक, समृद्ध पहाड
यो हिमाली क्षेत्र भर्जिन गन्तव्य हो। नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यसको पहिचान गर्नु जरुरी छ। पूर्वाधारको विकास तथा प्रचारमा सरकारले  जोड दिनुपर्छ। मान्छेहरू धार्मिक आस्था र रहले मात्र पुगिरहेका छन्। तर, यसलाई घुम्नै पर्ने गन्तव्यका रूपमा विकास गर्नु पर्ने देखिन्छ। विदेशीलाई मात्र होइन, आन्तरिक पर्यटकलाई पनि यहाँ लोभ्याउन सकिन्छ।

प्रकाशित: २३ कार्तिक २०७६ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App