७ वैशाख २०८१ शुक्रबार
समाज

भाले र घ्यू बोकेर सुत्केरीलाई घरमै पुर्‍याउने वडाध्यक्ष

सुत्केरी परिवारलाई भाले हस्तान्तरण गर्दै कटारी ८ का वडाध्यक्ष कमल श्रेष्ठ । तस्विरः महेश्वर

कटारी (उदयपुर) - वडाका कोहि महिला सुत्केरी भएको खबर सुन्यो कि कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठ भाले र घ्यु खोज्न गाउँ कुदिहाल्छन्। साविक सिरिसे गाविस भई हाल कटारी ८ बाट वडाध्यक्ष निर्वाचित श्रेष्ठ वडाभित्रका हरेक सुत्केरी महिलालाई एउटा भाले र एक मानो घ्यू लिएर घरमै पुग्ने गरेका छन्। यो अभियान थालेको १ वर्ष भयो र अहिलेसम्म १६ महिलाले उनको सेवा पाइसकेका छन्।

घरघर पुगेर भाले र घ्यू सुत्केरीलाई दिनुको उदेश्य भने श्रेष्ठलाई आगामी चुनावमा भोटको सुरक्षा गर्नु मात्र छैन। यसबाट आमाको स्वास्थ्य र नवजात शिशुको कानुनी हकको सुरक्षा गर्नु पनि मुख्य कारण छ। बच्चा जन्मेपछि सुत्केरी आमाको कमजोर हुने स्वास्थ्य मजबुत पार्न कुखुराको भाले, घ्यू, माछामासु, अण्डा, सागसब्जी, फलफुल र गेडागुडी अनिवार्य खानुपर्ने वैज्ञानिक कारणबारे धेरैलाई थाहा नभएकाले सो कुराको जानकारी दिदै नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेर उसको कानुनी हक सुरक्षा गर्ने विषयमा सचेत गराउन पनि उनले यो अभियान थालेका हुन्।

‘म गाउँमा महिला सुत्केरी भए भन्ने थाहा पाउनेबित्तिकै भाले र घ्यू घरमै लगेर दिने गरेको छु’ वडाध्यक्ष श्रेष्ठले भने ‘यसको मतलव भोटको मात्र चिन्ता नभएर सुत्केरी महिला र नवजात शिशुको कानुनी हकको सुरक्षा पनि हो।’ गाउँ समाजमा धेरै महिलाको परम्परागत रुपमा सुत्केरी गराउने गरिएको छ भने उपचार पद्धति पनि परम्परागत रहेको भन्दै उनले आधुनिक जमाना अनुसार सुत्केरीको स्वास्थ्य र शिशुको कानुनी सुरक्षाका लागि भाले वितरण कार्यक्रम चलाएको उनले बताए।

हरेक सुत्केरी महिलालाई घरमै लगेर भाले र घ्यू दिने गरेको तर, त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने नियम वडाले बनाएको छ। जस अनुसार गर्भवति अवस्थामा अनिवार्य ४ पटक गर्भजाँच गरेको प्रमाण (कार्ड) र नवजात शिशुको जन्मदर्ता वडा कार्यालयमा आएर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। जन्म, मृत्यु, बिबाह, बसाइसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घट्ना घटेको ३५ दिनभित्रै दर्ता गर्दा शूल्क नलाग्ने हुनाले भाले र घ्यू दिनुअघि सुत्केरी महिलाको परिवारले यो मापदण्ड पुरा गर्नुपर्ने अनिवार्य शर्त उनले तोकेका छन्।

वडाध्यक्ष श्रेष्ठले यसअघि परम्परागत सुत्केरी गराउँदा महिलाको स्वास्थ्यस्थिति नाजुक भएर रोगी हुनु परेको तथा नवजात शिशुहरु आवश्यक पोष्टिक तत्वको अभावमा अपाङ्ग, लुलालगंगडा हुनु परेको बताए। त्यस्तै बालबालिकाको समयमा जन्मदर्ता नगर्दा नागरिक्ता बनाउन, विद्यालय भर्ना गर्न अप्ठेरो परेकाले पनि यो अभियानले महिला र बालबालिकाको हक अधिकारको सुरक्षा गर्ने श्रेष्ठको बुझाई छ।

सुत्केरी महिला र नवजात शिशु दुवैको स्वास्थ्य र कानुनी सुरक्षाका लागि अभियान चलाइएको हुनाले भाले र घ्यू वितरण कार्यक्रमसँग धेरै विषय समेटिएको छ। गर्भवति अवस्थामा ४ पटक स्वास्थ्य जाँच, सुत्केरी भएपछि माछामासु, दुध, अण्डा, फलफुल, सागसब्जी र गेडागुडी अनिवार्य खानुपर्ने र त्यो शिशु जन्मेको हजार दिनसम्म (सुनौलो हजार कार्यक्रम) निरन्तर हुनुपर्ने प्रावधान वडाले अनिवार्य गरेको छ। त्यस्तै ‘हर बार खाना चार’ भन्ने नारासहित प्रत्येक दिन सुत्केरीलाई यस्तो पोषिलो खाना खुवाउन अभिभावकलाई सचेत गराइएको छ।
    
यसबारेमा सुत्केरीको परिवारका सदस्यलाई स्वास्थ्यकर्मीसहितको टोली घरमै पुगेर वडाले तालिम दिने गरेको छ। ‘झट्ट हेर्दा सुत्केरीलाई भाले र घ्यू मात्र लगिदिएको मान्छेले देख्छन् तर, यसभित्र धेरै कुरा समेटिएको छ’ उनले भने ‘सुत्केरीको स्वास्थ्य राम्रो भए मात्र शिशुको स्वास्थ्य पनि राम्रो हुने हुँदा भाले र घ्यू दिन जाँदा स्वास्थ्यकर्मीसहितको टोली घरमै पुगेर सासुससुरा र श्रीमानलाई २÷३ घण्टा सँगै राखेर यसबारे जानकारी (तालिम) दिने गरेका छौं।’ त्यसो त गर्भजाँच र जन्मदर्ता प्रमाणसहितको निवेदन दिएपछि मात्र सुत्केरीले भाले र घ्यू पाउने गरेको उनले सुनाए।

वडाध्यक्षको यस्तो कार्यबाट स्थानीय खुसी भएका छन्। पछिल्लो पटक सुत्केरी भएकी सिरिसे बर्नीकी ममता बलम्पाकी मगरले वडाध्यक्ष र अनमि घरमै आएर आफुलाई सुत्केरी हुँदा अपनाउनुपर्ने सावधानी, पोषिलो र मिठो खानेकुरा खानुपर्ने तथा बच्चा हुर्काउने सुरक्षित उपायबारे जानकारी दिएपछि धेरै सहज भएको बताइन्। अर्की सुत्केरी नन्दकुमारी मगरका ससुरा गुमानसिंह मगरलाई पनि बुहारी  सुत्केरी भएपछि घरमै आएर भाले र घ्यू दिएको तथा स्वास्थ्य र खानपान तथा बच्चाको स्याहार सुसारबारे जानकारी दिएकोमा वडाध्यक्षको तारिफ गरे।

सिरिसेकी सुत्केरी रविना परियारले वडाध्यक्षबाट पाएको भाले र घ्यू तथा त्यो भन्दा बढी आमा र बच्चाको स्वास्थ्य र स्याहारसम्बन्धी जानकारी यसअघि कसैबाट नसुनेको ससुरा टीकाराम परियारले बताए। ‘हामीलाई त बच्चा जन्माउने हुर्काउने पुरानै पारा जानेका थियौं, यस्तो नयाँ कुरा केही थाहा थिएन’ परियारले खुसी हुँदै भने ‘वडाध्यक्षज्यु घर आएर सुत्केरी स्याहार्ने, के के खानुपर्छ भन्ने कुरा सिकाउनुभो, नानीको जन्मदर्ता तुरुन्त गर्न लगाउनुभो, भाले र घ्यू पनि बुहारीलाई ल्याइदिनुभो।’

 

प्रकाशित: २३ कार्तिक २०७६ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App