८ वैशाख २०८१ शनिबार
समाज

आमरण अनशनरत डा. केसीलाई अस्पताल सारियो

डडेल्धुरा– ६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो। 

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र जिल्ला प्रशासनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ।

डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनका भाई किशोर केसीले बताए। सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ गते सोमबारदेखि अनशन सुरु गरेका थिए।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा केसी गत सोमबार देखि डडेल्धुरा सुदरमुकाममा १७ औं पटकको सत्याग्रह सुरु गरेका थिए। डा केसीको स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको अस्पतालका निमित्त मेडिकलल  सुपरीटेनडेण्ट डा जितेन्द्र कंडेलले बताए। ‘अस्पताल आफैसंग आवश्यक जनशक्ति छैन’, डा कंडेलले भने, ‘अस्पतालमा आउने विरामीलाई समय दिन भ्याई नभ्याई छ। अनि डा केसीज्यू यसपटक डडेल्धुरामा आएर आमरण अनशनमा हुनुहुन्छ। उहाँको स्वास्थ्यको ध्यान राख्नु हाम्रो कर्तव्य हुन जान्छ। चिसो कोठमा अनसन बस्दा आफैमा समस्या छ। अस्पतालमै भयो भने उहाँको स्वास्थ्यको ख्याल राख्न सजिलो भएकाले अस्पतालै सार्नु पर्ने अवस्था सिर्जना भयो।’ 

डा केसीले डडेल्धुरा अस्पतालदेखि करिब एक सय मिटरको दुरीमा अस्पतालको गेट नजिकै रहेको एक निजी घरको कोठामा सत्याग्रह थालेका थिए। चिसोका कारण सत्याग्रह थालेको दोस्रो दिनमै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। शुक्रबार बिहान स्वास्थ्यमा केही सुधार भए पनि बेलुकी फेरि समस्या देखिए पछि करिब साढे आठ बजे अस्पताल लगिएको डा कंडेलले बताए। 

सत्याग्रहको तेस्रो दिन बुधबार नै डा केसीको बोलचाल नै बन्द भएको थियो। स्थानीयले कोठालाई न्यानो बनाउने प्रबन्ध मिलाएका थिए। तर पनि स्वास्थ्यमा समस्या आएको डा कंडेलको  भनाई छ। डा केसीले सत्याग्रह थालेको  घरमा घाम नै नपर्ने भएकाले चिसोमा ९ देखि १२ डिग्री सेल्सियससम्म तापक्रम हुँदा समस्या भएको उनले बताए। 

रामेछाप जिल्लाको कांडादेवी–६ स्थायी घर भएका डा केसीले यस पटक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, डोटीमा सरकारी मेडिकलेज स्थापना र डडेल्धुरा अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक स्वास्थ्यकर्मीको पदपूर्ति गर्नुपर्ने माग पनि अघि सारेका छन्। यसअघि आफूसंग भएका सबै सम्भौता कार्यान्वयन लगायतका माग संगै सुदूरपश्चिममेलीहरुका लागि मेडिकल कलेज र रिक्त दरबन्दी पूर्तिको माग विशेष रहेको छ। 

उनले सारा नेपालीको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा बारेका माग राख्दै आएकाले आफ्नो पनि समर्थन रहेको उनका भाई किशोर केसीले बताए। ‘१७ पटक आमरण अनशनमा बस्दा म उहाँसंग नै छु। डा केसीका काकाका छोरा भाई केसीले भने, ‘आफ्ना र  आफ्नो जिल्लाका लागि मात्रै पनि उहाँले आवाज उठान गर्नु सक्नु हुन्थ्यो। तर, त्यसो नगरी उहाँले सारा नेपालीको हितका लागि विभिन्न जिल्ला पुग्दै सरकारसंग माग राख्दै आफू, परिवारको वास्ता नगरी लडिरहुन भएको छ। यसमा हामी गर्व गर्छौं।’ 

प्रकाशित: २३ कार्तिक २०७६ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App