८ वैशाख २०८१ शनिबार
अर्थ

उदयपुरमा ३ हजार मेट्रिक टन बढी धान फल्यो

उदयपुर– विगत वर्षहरुको तुलनामा यो वर्ष उदयपुरमा धान उत्पादन झण्डै ३ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ।

कृषि कार्यालयका कार्यालयका बागबानी विकास अधिकृत रामकुमार यादवका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ५३ हजार ४ सय ६२ मेट्रिक टन धान उत्पदान भएको थियो भने अहिले ५५ हजार ३ सय मेट्रिक टन उत्पादन भएको छ । गत वर्षको तुलनामा लगभग ३ हजार मेट्रिक टन धान उत्पादन बढेको यादवको भनाइ छ ।

कृषि कार्यालयका अनुसार यो वर्ष धान खेतीको जग्गा क्षेत्रफल पनि सामान्य बृद्धि भएको थियो । ०७२÷७३ मा १४ हजार ९९ हेक्टर जमीनमा धान खेती लगाइएको थियो। चालू आर्थिक वर्ष ०७३/७४ मा १४ हजार ७ सय हेक्टरमा धान खेती लगाइएको कार्यालयको अभिलेखमा उल्लेख छ। यसरी गतवर्षको दाँजोमा यो वर्ष ६ सय १ हेक्टर बढी जग्गामा धान रोपिएकाले पनि उत्पादन बृद्धि भएको अधिकृत यादवको भनाइ छ। यो वर्ष मौसमले पनि साथ दिएकाले उत्पादन बृद्धि भएको कार्यालयको ठहर छ।

‘यसपालि समयमै पानी परेकाले पनि रोपाई गर्न सजिलो भयो,’ अधिकृत यादवले भने ‘गत वर्ष लामो खडेरी परेकाले समयमै रोपाई गर्न सकिएको थिएन।’ त्यसमाथि गतवर्ष भारतीय अघोषित नाकाबन्दीका कारण समयमा मल बिउ आयात गर्न नसक्दा थप घाटा सहनु परेको थियो । त्यसले पनि उत्पादन घटेकोमा यो वर्ष त्यस्तो कुनै समस्या झेल्नु नपरेको किसानहरु बताउँछन् ।

उत्पादन बढ्नुको मुख्य कारण भनेको यो वर्ष मौसमले साथ दिएको र मल बिउ पनि बेलैमा आयात भएकाले राम्रो भएको गाईघाटका किसान दीर्घनारायण चौधरीले बताए । नउका अनुसार गतवर्ष पानी नपरेका कारण रोपाई गर्ने बेलासम्ममा त व्याड नै राख्न भ्याइएको थिएन । तर, यसपालि जेठ लाग्दै पानी परेकाले व्याड राख्न र रोपाई गर्न मौसम दुवैले साथ दियो।

उदयपुरको खाद्यान्नको मुख्य बाली नै मकै र धान हो। मकैपछिको दोस्रो ठूलो बाली भनेको धान नै हो। यहाँ हिउँदे बाहेक चैते र भदैया धान पनि उब्जाइन्छ। ३ प्रकारकै धान यो वर्ष सन्तोषजनक उत्पादन भएको किसानहरु बताउँछन्।

जिल्लाको पहाडी, खोँच, बेँसी र भित्रि मधेस सबैतिर तीनै खाले धानको खेती लगाउने गरिएको छ। पछिल्लो केही वर्षयता कृषि विकास कार्यालयमार्फत किसानले गाउँगाउँमा प्राविधिक झिकाएर धान खेतीका लागि अनुकुल वातावरण बनाउन माटो परीषण गराउने, उन्नत जातको विउ र स्तरीय मल लगाउने गरेका कारण पनि उत्पादन बढ्दै गएको हो । सिंचाई भने सबैतिर नपुगेका कारण धेरैजसो किसान आकासे पानीको भरमा भित्रि मधेस र पहाडी क्षेत्रका टारी खेतमा सिचाँईको सुविधा अपुग भएकाले समस्या छ ।

सिंंचाई असुविधाका कारण अधिकतर किसानहरु भ्ने परम्परागत खेती गर्न बाध्य छन् । पछिल्लो समय किसानहरुमा चेतना बृद्धि भएपछि आप्mनै लगानी र श्रममा आधुनिक र वैज्ञानिक कृति व्यवसाय अपनाउन थालेपछि कृषिमा उत्पादन बढ्दै गएको जिल्ला कृषि विकास महासंघको दावी छ । केही वर्षयता कृषि व्यवसायप्रति जनतामा आकर्षण बढ्दै गएपछि व्यक्तिगत तथा समूहगत प्रयासमा आधुनिक कृषि कार्यमा जनताको चासो जागेको कृषक महासंघका अध्यक्ष सोमबहादुर दनुवार बताउँछन् ।

उनका अनुसार परम्परागत कृषि प्रविधि छोड्दै माटो परक्षिण, उन्नत विउ, प्रांगारिक मल, हावापानी अनुकुलको विउ छनौट गरेर किसान खेतीमा लाग्न  थालेका छन् । कृषि कार्यालयका अनुसार खाद्यान्न बाली अन्र्तगत धान, कोदो, मकै र गहुँ उदयपुरका मुख्य बाली हुन् ।

गतवर्ष मकै १७ हजार ४ सय हेक्टर जग्गामा लगाइएको मकैको उत्पादन ३५ हजार ८८ मेट्रिक टन फलेको थियो । त्यस्तै कोदो २ हजार ७ सय ५६ हेक्टर क्षेत्रफलमा ५ हजार ७ सय ३६ मेट्रिक टन उत्पादन भएको तथ्यांक कार्यालयसँग छ । गहुँ ५ हजार १ सय हेक्टर क्षेत्रफलमा १२ हजार २ सय ४० मेट्रिक टन उत्पादन भएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित: २० मंसिर २०७३ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App