८ वैशाख २०८१ शनिबार
समाज

घरघरमै पुगी ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिकलाई घरमै पुगी सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा खतिवडालगायत। तस्बिर:नागरिक

नुवाकोट - जिल्लाको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले घरघरमै पुगेर ९० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था र उनीहरूको जीवनशैलीबारे जानकारी लिन घरघरमै पुगेर सम्मान गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए।

‘ज्येष्ठ नागरिक भनेका हाम्रा मार्गदर्शक हुन्। उनीहरूकै कारण हामी यो स्थानमा छौं। समाजमा ज्येष्ठ नागरिकलाई नराम्रो व्यवहार गरेको पनि पाइन्छ। आफ्नो गाउँपालिकामा पनि त्यस्तो भएको छ कि भन्नेमा हामी चिन्तित छौं,’ लामाले भने, ‘सन्तानलाई हुर्काउन र समाजलाई सकारात्मक रूपमा अघि बढाउन पु¥याएको योगदानलाई कदर गर्दै हामीले यो कार्यक्रम सुरु गरेका हौं। कुनै ज्येष्ठ नागरिक बेसहारा बन्नु नपरोस् भन्ने हाम्रो कामना हो। उहाँहरूको दुःख पिरमर्का बुझ्न घरघरमै पुग्छौं।’

उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सम्बन्धित ज्येष्ठ नागरिकका घरमा पुगेर दुई हजार रुपैयाँ र न्यायो कपडासहित सम्मानपत्र प्रदान गर्ने गरिएको छ। गाउँपालिकामा गत चैत मसान्तसम्ममा ९० वर्ष पार गर्ने ४५ जना छन्। अहिलेसम्म वडा १, २ र ३ का १० जनालाई सम्मान गरिसकिएको छ। बाँकी ज्येष्ठ नागरिकको घरमा पुग्न बाँकी रहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए।

सुत्केरी आमासँग उपाध्यक्ष

सोही गाउँपालिकाले सुनौलो हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत रहेर तीन हजार रुपैयाँसहित १५ सय रुपैयाँबराबरको पोसिलो खानेकुरा उपलब्ध गराउँदै आएको छ। चालू आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले बताइन्।

‘सुत्केरी अवस्थामा पोषणको कमी हुँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ। पोषणको कमीकै कारण त्यस्तो नहोस् भनेर सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम ल्याएका हौं,’ खतिवडाले भनिन्, ‘घरमै सुत्केरी हुने परम्परालाई शून्यमा झार्नु हाम्रो मुख्य उद्देश्य हो। त्यसैगरी गर्भवतीहरूले नियमित गर्भ जाँच गरेर आफ्नो र गर्भको बच्चाको स्वास्थ्यप्रति सजग होऊन् भन्ने चाहन्छौं। त्यसको अभियानमा गाउँपालिका सँगै छ।’

प्रकाशित: २३ कार्तिक २०७६ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App