coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रीको स्वार्थ पूरा नहुँदा बिपीको सिनेट बैठक स्थगित

बिपी प्रतिष्ठानको उपकुलपति कार्यालयको भवनसहितको संरचना। तस्बिरः रोहित/नागरिक

सुनिल सापकोटा/काठमाडौं, रोहित राई/धरान
उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको छ।

मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार (कात्तिक २२) का लागि बोलाइएको थियो। बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए। तर मन्त्री यादवले सिनेट बैठक अघि आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन (विश्वनाथ) यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाललाई दबाब दिएका थिए। खनालले यो विषयमा कुलपति तथा प्रधानमन्त्रीसँग सल्लाह लिने जवाफ दिएपछि मन्त्री यादवले आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक अचानक स्थगित गरेका हुन्। प्रतिष्ठानमा २३ जना सिनेट सदस्यहरू छन्।

बिपी प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ। केही महिनाअघि मन्त्री यादवकै सिफारिसमा डाक्टर बिएन यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। बिपी प्रतिष्ठानकै चिकित्सक डाक्टर यादव काजमा राप्ती प्रतिष्ठान गएका हुन्। राप्ती प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीसँग तीव्र मतभेद र विवाद भएपछि हिजोआज डाक्टर यादव बिपी प्रतिष्ठानमा नै छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्।

स्रोतका अनुसार डाक्टर यादवकी छोरी ज्योत्सना र मन्त्री यादवका छोरा डाक्टर अमरेन्द्र यादवबीच प्रेम सम्बन्ध छ र उनीहरूको विवाह हुने तयारी पनि छ। मन्त्री यादवका छोरा अमरेन्द्र, रेक्टर यादवकी छोरी ज्योत्सना र रेक्टर यादव करिब चार महिना पहिला चीन भ्रमणमा समेत गएको स्रोतको भनाइ छ। अमरेन्द्र मन्त्री यादवका स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन्। ‘झन्डै एक महिनाअघिदेखि सिनेटको तयारी थियो। महŒवपूर्ण निर्णयहरू हुने र प्रतिष्ठानले नयाँ तरिकाबाट अघि बढ्छ कि भन्ने आशा थियो,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘तर स्वास्थ्यमन्त्रीको स्वार्थले गर्दा सिनेट नै स्थगित भयो।’

प्रतिष्ठानको सर्वोच्च निकाय सिनेट हो। प्रतिष्ठानको सम्पूर्ण नीतिगत निर्णय, बजेट तयारी र अनुमोदन, योजनाहरू स्वीकृतिलगायत सबै काम सिनेट बैठकबाट नै हुने गर्छ। लामो समय द्वन्द्व र अस्थिरताबाट गुज्रिएको प्रतिष्ठानलाई यो ४३ औं सिनेट बैठकले निकास दिने र अवरुद्ध महत्वपूर्ण योजनाहरू अघि बढ्ने अपेक्षा गरिएको थियो।

सिनेट बैठक स्वास्थ्यमन्त्रीको अध्यक्षतामा हुने गर्छ। अध्यक्षको निर्देशनमा सिनेटका सदस्य सचिव उपकुलपतिले कम्तीमा २१ दिनअघि सदस्यहरूलाई बैठक बस्ने जानकारी दिनुपर्ने हुन्छ। ‘सिनेट बैठक एक दिनअघि स्वास्थ्यमन्त्रीले स्थगित गरेको सूचना पायौं,’ बैठकमा सहभागी हुन धरानबाट गएको एक सदस्यले भने, ‘रजिष्ट्रारमा मन्त्रीले भनेको मान्छे सिफारिस गर्न उपकुलपतिलाई दबाब दिएछन्, कुलपति प्रधानमन्त्रीज्यूसँग सल्लाह नगरी त्यसो गर्न नमिल्ने भएपछि बैठक नै रोकियो।’

रजिष्ट्रारका लागि उपकुलपतिले नाम सिफारिस गर्नुपर्ने नियम छ। उपकुलपतिबाट सिफारिस भएकोमध्येबाट सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्त गर्न सक्छन्। सरकारको नेतृत्व गरेको नेकपा र सत्ता साझेदार समाजवादी पार्टीबीचमा भागबन्डा र नियुक्तिलाई लिएर पनि मतभेद हुने गरेको छ। प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर खनाल नेकपानिकट हुन्। तत्कालीन उपकुलपति डाक्टर राजकुमार रौनियारलाई अख्तियारले आठ लाख घुससहित पक्राउ गरेर मुद्दा चलाएपछि निलम्बनमा परेका थिए। त्यसपछि डाक्टर खनाल कार्यबाहक उपकुलपति भएका हुन्।

उपकुलपति डाक्टर खनालले रजिष्ट्रार नियुक्तिको विषयले सिनेट बैठक स्थगित भएको स्वीकार गरे पनि त्यो मन्त्री यादवको स्वार्थले नभएको जिकिर गरे। उनले रजिष्ट्रार नियुक्ति नहुँदा सिनेट बैठक गर्न हुनसक्ने कानुनी उल्झनका कारण बैठक स्थगित हुनपुगेको भन्दै मन्त्री यादवको बचाउ गरे। ‘रजिष्ट्रार नियुक्ति भएको छैन, कानुन हेर्दा चाहिन्छ कि जस्तो देखियो र कन्फ्युजन भयो,’ डाक्टर खनालले भने, ‘के कसरी गर्ने भनेर सल्लाह गर्दैछौं, कसलाई बनाउने भन्ने कुरा भएको छैन।’

यसअघि मन्त्री यादवको सनकमा बिनाकारण चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठानको एमडी÷एमएस÷एमडिएस प्रवेश परीक्षा स्थगित गरिएको थियो। कात्तिक २ गते तोकिएकोमा मन्त्री यादवको ठाडो निर्देशनमा बिनाकारण सार्दा धेरै विद्यार्थीलाई मर्का परेको थियो। के कारणले उक्त प्रवेश परीक्षा रद्द गरिएको हो भन्ने विषयमा अहिलेसम्म पनि प्रतिष्ठानले प्रष्ट पार्न सकेको छैन। प्रष्ठिानले निकालेको विज्ञप्तिमा भने मन्त्रालयको निर्देशनमा परीक्षा स्थगित गरेको उल्लेख छ।

स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘सिनेट रद्द भएको जानकारी पाएको हुँ तर के कारणले रद्द भएको हो त्यो मलाई थाहा भएन,’ चौरसियाले भने। यस विषयमा मन्त्री यादवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्।

प्रकाशित: २३ कार्तिक २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App