coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चालकको असावधानी दुर्घटनाको मुख्य कारण

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा पछिल्लो एक महिनाबीचमा दुई भयानक बस दुर्घटना भए । चाडबाडको मुखमा भएका ती दुर्घटनामा २९ यात्रुको ज्यान गयो भने एक सय ५६ घाइते भए । केही घाइते अझै उपचाररत छन् ।

गत असोज २४ गते इन्द्रावती गाउँपालिकाको भोटसिपा, बडहरेमा खचाखच दसैँका यात्रु बोकेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बर बस दुर्घटना हुँदा एकै गाउँका सातसहित ११ को मृत्यु भएको थियो । यो दुर्घटनामा एक सय ६ भन्दाबढी यात्रु घाइते भएका थिए ।

चाडबाडको मुखमा भएको यो दुर्घटनाको शोकबाट उत्रँदै गर्दा आइतबार अर्को भयानक दुर्घटना निम्तियो । दोलखा जिल्लाको मागादेउरालीबाट राजधानी काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु अरनिको राजमार्गको सुकुटेबाट सुनकोसी नदीमा खसेर दुर्घटना हुँदा १८ यात्रुको निधन भयो भने ५० घाइते भए ।

सडक र ठाउँ फरक भए पनि दुई दुर्घटनाका कारणमा तीनवटा संयोग र समानता भेटिन्छन् । ती हुन् चालकको असावधानी, क्षमताभन्दा बढी यात्रु र बसको प्राविधिक अवस्था । ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जवरजस्ति बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने थोत्रो बस चलाउँदा सुनकोसी घटना निम्तिएको थियो । सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए ।

‘मुख्य त चालकको असावधानीले नै ठूला दुर्घटना निम्तिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले नागरिकसँग भने । उनकाअनुसार क्षमताभन्दा बढी यात्रु चढाउँनु, थोत्रा बस चलाउनु, समय–समयमा सवारी साधन मर्मत नगर्नु र चलाउनुअघि बसको प्राविधि अवस्था नजाँच्नु चालकको असावधानीसँग जोडिएर आउने दुर्घटनाका सहायक कारण हुन् । ‘चालकले सावधानी अपनाए मात्रै ७५ प्रतिशतभन्दा सवारी दुर्घटना न्यूनिकरण हुने देखिन्छ,’ डिएसपी काफ्ले बताउँछन् ।

सिन्धुपाल्चोक बढी सवारी दुर्घटना हुने जिल्लामा पर्छ । बर्सेनी या केही वर्षको बीचमा यहाँ ठुल्ठूला दुर्घटना हुँदै आएको छ । खासगरी सुनकोसी र भोटेकोसी नदी किनारमा अवस्थित अरनिको राजमार्गको यात्राको लागि सबैभन्दा बढी जोखिमपूर्ण देखिन्छ । ग्रामीण सडकमा पनि ठूला दुर्घटना हुँदै आएका छन् । पछिल्ला १३ वर्षमा मात्रै जिल्लामा आठवटा भयानक दुर्घटना भएका छन् । यी दुर्घटनामा मात्रै एक सय ३८ यात्रुको ज्यान गएको छ भने तीन सयभन्दा बढी घाइते भएको तथ्यांक छ ।

राजमार्गको बन्देउ–तातोपानी खण्डमा सुनकोसी र भोटेकोसी नदीमा खसेर चारवटा भयानक दुर्घटना भएका छन् । अरु चार ठूला दुर्घटना सहायक र ग्रामीण सडकमा भएका हुन् । अरु सानातिना दुर्घटनाको सूची त निकै लामो छ । २०६३ साउन पहिलो साता बलेफी–जलविरे सडक खण्डको चनौटेबाट ना.२ख ८१७३ नम्बरको बस ब्रम्हायणी नदी किनारमा खस्दा २५ यात्रुको ज्यान गएको थियो । २०६६ भदौ २६ गते राजमार्गको सुकेटेबाटै ना.२ख ६२२८ नम्बरको यात्रुबस सुनकोसीमा खसेर डुब्दा २५ को एकै थलोमा मृत्यु भएको थियो । १५ यात्रु नदीमा बेपत्ता भएका थिए ।

त्यसको वर्ष दिन नवित्दै २०६७ भदौमा बा२ख ४०१३ नम्बरको यात्रुबस राजमार्गको बसेरीबाट भोटेकोसी नदीमा खस्दा ३० को ज्यान गएको थियो । २५ यात्रु नदीमा हराएको हराएै भए । २०६८ मा ठोकर्पाको कच्ची सडकमा भएको बस दुर्घटनामा नौ यात्रुले मृत्युवरण गर्नु परेको थियो ।

त्यस्तै २०६९ जेठ १८ गते राजमार्गकै कोठेबाट बा२ख ३३४७ नम्बरको बस सुनकोसीमै खस्दा पाँचको ज्यान लिएको थियो । २०७० जेठ १५ गते थाङपालधापको कच्ची सडकमा बा२ख ३६४५ नम्बरको बस दुर्घटना हुँदा १५ को मृत्यु भएको थियो । यात्रुसँग झगडा परेपछि चालकले जानाजान बस भिरबाट खसालेका थिए ।

तीव्र गति, नाममात्रको ग्रामीण सडकमा बस चलाउनु, सडक स्त्तारोन्नति नगरिनु, राजमार्ग समयमै मर्मत नहुनु, खाल्डाखुल्डी नपुर्नु, घुम्ति फराकिलो नबनाइनु लगायत कारण दुर्घटना निम्तिदै आएको जानकाहरु बताउँछन् । सडक दुर्घटनामा यात्रुको पनि दोष देखिने उनीहरुको तर्क छ । उनीहरुका अनुसार यात्रु सुविधाभोगि बन्दै गएका छन् । बस खचाखच देख्दा देख्दै चढ्छन् । पाँच मिनेट पनि हिँड्न चाहँदैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहाल दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेत गराइरहेको दाबी गर्छन् । ‘क्षमताभन्दा बढी यात्रु बोक्ने बसका चालकलाई कार्वाही गरेका छौँ । सम्झाएका छौँ,’ उनले भने, ‘तर पनि झुक्याइ हाल्छन् ।’
    
 

प्रकाशित: २२ कार्तिक २०७६ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App