coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किए

काठमाडौं- साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ। प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ। त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ।

आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएका छन्। श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा पार्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई ठक्कर दिएको हो।

श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो। सामान्य मर्मतपछि जहाज सञ्चालनमा आउने विमानस्थलले जनाएको छ।

यो घटनालाई एयरलाइन्सका सञ्चालकहरु साँघुरो व्यवस्थापनले गर्दा समस्या आएको बताउँछन्। तर, विमानस्थलको प्रशासनले जहाजको चाप बढे पनि उडान व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइएको जिकिर गरेको छ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको बताए। विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्रीएयरको जहाजले अवतरणपछि पार्किङमा लैजाने क्रममा पार्किङमै रहेको यतीको जहाजको पछाडी सामान्य ठक्कर दिएको र मर्मतपछि सञ्चालनमा आउने बताए।

विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ। विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन।

आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ। आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

प्रकाशित: २२ कार्तिक २०७६ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App