५ वैशाख २०८१ बुधबार
विचार

लुम्बिनी विकास परिषद्को प्रतीक्षामा

उग्येन शेरव भिक्षु कृष्णमान

२०७६ साउन २५ गते शनिबार कमलादीस्थित कवि राजा महेन्द्रको निजी कोषबाट निर्माण भएको प्रज्ञा प्रतिष्ठान भवन हलमा अखिल नेपाल भिक्षु महासंघको आयोजनाअन्तर्गत सञ्चालित पुजनीय भिक्षु ज्ञानपूर्णिक महास्थवीरको संघ नायक अभिनन्दन समारोहमा कानिङ सेदुपलिङ महाविहार (बौद्ध सेतो गुम्बा) का तर्फबाट सहभागी बन्ने सौभाग्य पाएको थिएँ, मैले।

उक्त समारोहमा गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन अस्वस्थताका  कारण उपस्थिति हुन नसके तापनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सह–उपस्थितिले समारोह अझ बढी उज्यालोमय बन्न पुग्यो।

यस गरिमामय समारोहमा विभिन्न विहार एवं सम्बन्धित संघ–संस्थाहरूबाट आएका प्रतिनिधिहरूका अतिरिक्त श्रीलंका तथा म्यानमार राजदूतावासका राजदूतहरूले पनि सहभागिता जनाएका थिए।

बुद्धभूमि नेपाल राष्ट्रमा स्थापित थेरवादी संघमा १९८५ सालदेखि नै भिक्षुहरूमध्ये अनुमोदित एकजना भिक्षुलाई संघ नायक घोषित गर्ने चलन बसेको थियो। सोही चलनअनुसार प्रथम संघ नायकमा भिक्षु प्रज्ञानन्द महास्थवीरको उदय भयो। अन्य पूज्यपाद संघ नायकहरू थिए– भिक्षु शाक्यानन्द, भिक्षु अनिरुद्ध, भिक्षु सुवोधानन्द, भिक्षु बुद्धघोष र भिक्षु अश्वघोषपछि सातौं संघ नायकका रूपमा पूजनीय भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई हामीले पाउन सक्यौं।

संस्कृतिमन्त्री योगेश भट्टराईको सक्रियतामा लुम्बिनी विकास कोषबाट लुम्बिनी विकास परिषद्मा शीघ्र परिणत हुन सकोस्, हाम्रो प्रार्थना !

सभाहलको प्रांगणबाट विभिन्न वक्ताले धारणा राखे। तीमध्ये संस्कृतिमन्त्री योगेश भट्टराईले आफ्नो मन्तव्य प्रस्तुत गरिसकेपछि श्री घः विहारका गुरुमाले उहाँलाई लुम्बिनी मन्त्रीको उपाधिले सुसज्जित गराउनुभयो। यस उपाधिबाट संस्कृतिमन्त्री पनि खुसीले प्रफुल्ल हुनुभयो। सभाहलमा उपस्थित सम्पूर्ण सहभागीसमक्ष आफ्नो राय व्यक्त गर्दा उहाँले भन्नुभयो– ‘बुद्ध जन्मस्थल लुम्बिनी विकास हेतु स्थापना भएको लुम्बिनी विकास कोषलाई लुम्बिनी विकास परिषद्मा रूपान्तरण गर्नुछ।’ उहाँको यो सकारात्मक सोच हो। यसका लागि लुम्बिनी विकास कोष ऐन २०४२ संशोधन गरी संसद्मा पेस गर्न जरुरी देखिन्छ। लुम्बिनी विकास कोष गठन पहिले २०४२ सालअगाडि लुम्बिनी विकास समिति थियो।

संस्कृति मन्त्री योगेश भट्टराईको पहलमा कोषबाट परिषद्मा शीघ्र रूपान्तरण हुन सके उक्त लुम्बिनी विकास परिषद्मा प्रदेश ५ का मुख्यमन्त्री, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर, सम्बन्धित क्षेत्रका सांसद, लुम्बिनी विहार क्षेत्रका महायान थेरवाद संघबाट २ प्रतिनिधि समावेश गराउनु न्यायोचित देखिन्छ। यसबाट लुम्बिनी विकासका लागि संयुक्त राष्ट्र संघकै पहलमा विश्वविख्यात् वास्तुविद् जापानी केन्जो टाङ्गेले तयार पारेको गुरुयोजनाअनुसारका बाँकी कामले पनि तीव्रता पाउनेछ।

स्मरण रहोस्, सन् १९६७ मा राजा महेन्द्रको निम्तोमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव श्री उथान नेपाल आउँदा लुम्बिनी भ्रमण गर्नुभएको थियो। त्यसताका भिक्षु अनिरुद्ध्र पुरानो मायादेवी मन्दिर क्षेत्रको देखभालको जिम्मेवारीमा हुनुहुन्थ्यो। बर्मेली भाषामा लुम्बिनीको अवस्थाबारे जानकारी दिलाउँदा र आफैंले लुम्बिनीको दयनीय अवस्था देख्दा श्री उथानले आँशु थाम्न सक्नुभएन। यसरी भिक्षु अनिरुद्ध्र भन्तेले श्री उत्थानको छातीमा ज्योति जागरणको बीजारोपण गर्नुभएको हो, फलस्वरूप आजको लुम्बिनी विद्यमान छ।

अन्तमा, संस्कृतिमन्त्री योगेश भट्टराईको सक्रियतामा लुम्बिनी विकास कोषबाट लुम्बिनी विकास परिषद्मा शीघ्र परिणत हुन सकोस्, हाम्रो प्रार्थना !
पूर्वअध्यक्ष, अमेरिकन लाइब्रेरी

प्रकाशित: २२ कार्तिक २०७६ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App