coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

युभेन्ट्स नकआउट चरणमा

पेरिस – डग्लस कोस्टाले इन्जुरी समयमा गरेको गोलमा युभेन्ट्सले लोकोमोटिभ मस्कोमाथि २–१ को जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्दा पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिखले पनि प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

माउरो इकार्डीले पहिलो हाफमा गरेको गोल पर्याप्त बनेको दिन पिएसजीले क्लब ब्रुजलाई १–० ले हराउँदा बायर्नले ओलम्पियाकोसलाई २–० ले हराएको हो। म्यानचेस्टर सिटी भने एट्लान्टासँग १–१ को बराबरीमा रोकिँदा समूह ‘सी’ बाट अघिल्लो चरण प्रवेशका लागि कुर्नुपर्ने भएको छ।

रूसमा भएको खेलको चौथो मिनेटमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको फ्रिकिकमा एरोन रामसेले बललाई जाली चुमाउँदै युभेन्ट्सलाई खेलमा अघि बढाएका थिए। तर टोलीले आफ्नो अग्रता धेरै समय टिकाउन सकेन। त्यसको ८ मिनेटपछि नै एलेक्से मेरानचुकले मस्कोलाई खेलमा फर्काएका थिए। इन्जुरी समयको तेस्रो मिनेटमा रामसेले गरेको गोल युभेन्ट्सलाई नकआउट चरण प्रवेशमा पर्याप्त बन्यो।

‘कोस्टा इन्जुरीपछि बिस्तारै लयमा फर्कंदै छन् तर उनले अहिलेबाटै मैदानमा प्रभाव छाड्न थालिसके,’ युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले भने। युभेन्ट्स ४ खेलमा १० अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा छ भने समान खेलमा ७ अंकका साथ एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ। समान खेलमा समान ३ अंकका साथ बायर लेभरकुसेन र मस्को क्रमशः तेस्रो र चौथो स्थानमा छन्। समूह ‘डी’ अन्तर्गत बिहीबारै भएको अर्को खेलमा एट्लेटिको लेभरकुसेनसँग २–१ ले पराजित भयो।

यता पिसजीले लगातार आठौं सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का ग-यो। यद्यपि फ्रान्सेली लिग विजेता पिएसजी १९९५ पछि भने प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्न सकेको छैन। समूह ‘ए’ मा पिएसजीले जित हात पार्दा खेलको ३२औं मिनेटमा इकार्डीले गरेको गोल नेै निर्णायक बन्यो। यसै सिजन इन्टर मिलानबाट लोनमा पिएसजी भित्रिएका इकार्डीको यो क्लबका लागि  सिजनको आठौं गोल हो। खेल सकिन १४ मिनेट बाँकी हुँदा ब्रुजले खेलमा फर्कने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। तर एम्बाय डियाज्नेले गरेको पेनाल्टी प्रहार पिएसजीका गोलकिपर केलोर नाभासले विफल पारेका थिए।

समूह ‘ए’ मा पिएसजी ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा बस्दै अघिल्लो चरण प्रवेश गरेको हो। समान खेलमा ७ अंकका साथ रियाल मड्रिड दोस्रो स्थानमा छ भने ब्रुज २ र गालातासारेले १ अंकका साथ क्रमशः तेस्रो र चौथौ स्थानमा छन्।

समूह ‘ए’ अन्तर्गत बुधबार भएको अर्को खेलमा रियालले गालातासारेमाथि ६–० को रबाफिलो जित हात पारेको हो। रियालको जितमा रोड्रिगोले ह्याट्रिक पूरा गर्दा करिम बेन्जेमाले २ र कप्तान सर्जियो रामोसले १ गोल गरे। समूह ‘बी’ बाट बायर्न म्युनिखले ओलम्पियाकोसलाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। ४ खेलमा १२ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ भने समान खेलमा ७ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। बुधबारै भएको समूहको अर्को खेलमा टोटेनह्यामले रेड बेलग्रेडलाई ४–० ले हरायो।

समूह ‘सी’ अन्तर्गत म्यानचेस्टर सिटी र एट्लान्टाको खेल १–१ को बराबरीमा रोकियो। जहाँ सिटीका रक्षक काइले वाल्करले अन्तिम ९ मिनेट पोस्टको जिम्मेवारी सम्हालेका थिए। ४६औं मिनेटमा सिटीका पहिलो रोजाइका गोलकिपर इडरसन चोटका कारण मैदानबाट बाहिरिएपछि क्लाउडियो ब्राभो मैदान प्रवेश गरेका थिए। तर ब्राभो पनि ८१औं मिनेटमा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बाल्करले पोस्ट सम्हालेका थिए। खेलको सातौं मिनेटमा रहिम स्टर्लिङको गोलमा सिटीले अग्रता लिएको थियो। ४३औं मिनेटमा ग्याब्रियल जिससले पेनाल्टीको अवसर खेर फाल्दा सिटीले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो। ४९आैं मिनेटमा मारियो पासालिचले एट्लान्टालाई खेलमा फर्काएका थिए।

यस नतिजापछि ४ खेलमा १० अंकका साथ सिटी समूह ‘सी’ को शीर्ष स्थानमा छ। साख्तर डोनेस्क ५ अंकका साथ दोस्रो, डाइनाभो जागे्रब पनि समान ५ अंकका साथ तेस्रो स्थानमा छ। एट्लान्टाको खातामा १ अंक छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App