coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

स्थानीय ज्ञान, सीप र प्रविधि संरक्षण

समुदायले आफ्नै अनुभवले आर्जन तथा संरक्षण गरेका अति महत्वपूर्ण ज्ञान, सीप र प्रविधि हाम्रा समुदायमा पर्याप्त छन्। अभिलेखका रूपमा नराखिए पनि परम्परागत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएका छन्। मधेसमा हुरी–बतास आउने कुराको संकेत थोरै समय पहिला नै भइसकेको हुन्छ, त्यस कुराको ज्ञान हुने स्थानीय व्यक्ति सुरक्षित स्थानमा पुग्न र आफूलाई संरक्षण गर्न भ्याउँछन्। हिमाली भेगमा बस्ने व्यक्तिलाई हिमपात हुनुभन्दा पहिलाको आकाशको अवस्थाले हिमपात कति ठूलो हुन्छ ? कस्तो अवस्थामा र कस्तो स्थानमा हिमपहिरो आउँछ भन्ने मात्र होइन, हिमपात भइसकेपछि घरहरू कसरी जोगाउने, हिउँबाट कसरी बच्ने भन्ने पनि ज्ञान हुन्छ। पहाडी भेगमा कुन दिशाबाट पानी पर्न सुरु ग-यो भने ठूलो पानी पर्छ र कुन दिशाबाट आउने पानी कुहिरोसँगै बिलाउँछ भन्ने पनि स्थानीय अनुभवी व्यक्तिले अनुमान गर्न सक्छन्। पुराना पुस्ताले लामो समय लगाएर प्राप्त गरेका यस्ता खालका ज्ञान नयाँ तथा युवा पुस्तालाई जानकारी नहुन सक्छ। यस्ता खालका ज्ञानको कमीले गर्दा ठूलो क्षति पनि बेहोर्नुपर्ने हुन सक्छ।

आरनमा भाँडा बनाउने, हतियारमा धार लगाउने, जुत्ता, स्थानीय पोसाक, माटाका भाँडा निर्माण गर्ने, डाला, नाङ्ला, सुपा, भकारी, डोका, नाम्ला बुन्ने, काठका ठेकी, विभिन्न भाँडा र आकार निर्माण गर्ने, कलाकृतिहरू निर्माण गर्ने, खोलामा माछा समात्ने, जंगली जनावरबाट जोगिनेजस्ता महत्वपूर्ण ज्ञान, सीप, प्रविधि स्थानीय समुदायले पुस्तौंपुस्ता संरक्षण र हस्तान्तरण गर्दै आएका हुन। स्थानीय जडीबुटीको प्रयोग गर्ने, दुर्घटनाबाट बच्ने, प्रकृतिको संरक्षण गर्ने, प्राकृतिक प्रकोप तथा हुरी, बतास, बाढी, पहिरोबाट सुरक्षित हुने, कृषि उत्पादन, पशुपालन, चरन संरक्षण, संगीत, गायन, नृत्य, खेल, चित्रकला, मूर्ति निर्माण, डिजाइनहरू निर्माण गर्नेलगायत धेरै किसिम र क्षेत्रका ज्ञान–सीप प्रविधि हाम्रा समुदायमा छन्।

हालै भक्तपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर विद्यालय तहको स्थानीय पाठ्यक्रम बनाई लागू गरेको छ। केही अन्य नगरिपालिका र गाउँपालिकाले समेत स्थानीय पाठ्यक्रम बनाई स्थानयि ज्ञान, सीप र प्रविधि संरक्षण गर्ने प्रयास गरेका छन्।

स्थानीय सीपहरू खानाका परिकार बनाउने, स्थानीय स्रोत–साधन प्रयोग गर्नेजस्तो सालका पात गाँसेर दुना–टपरी बनाउने, रूखका लोकता निकालेर दाम्ला, डोरी, नाम्ला बनाउने, लोकताबाट कपडा बनाउने, स्थानीय रूख–बिरुवा, जडिबुटीबाट औषधि निर्माण गर्नेजस्ता जीवनका लागि अत्यावश्यक ज्ञान–सीप नयाँ तथा युवा पुस्तामा नसर्ने अवस्था सिर्जना भएको छ। परम्परागत रूपमा आर्जित ज्ञान, सीप, प्रविधि संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई समस्या उत्पन्न हुन सक्छ। यस्ता ज्ञान, सीप र प्रविधिहरूलाई युवाबीच हस्तान्तरण गर्नु अति नै आवश्यक छ। जुन समाजले आफ्ना परम्परागत मूल्य, ज्ञान सीप, प्रविधि जोगाएर राख्न सक्छ र अन्य समाजबाट पनि सिक्ने प्रयास गर्छ, परम्परागत ज्ञानलाई आधुनिकीकरण गर्छ भने त्यस्तो समाजले नै विकासमा फड्को मार्न सक्छ। यस्ता ज्ञान, सीप र प्रविधि कसरी युवा तथा नयाँ पुस्तासम्म पु-याउने भन्ने कुरा अहिलेको चुनौती हो।

दिगो विकासका लागि, स्थानीय स्रोत–साधन संरक्षण प्रवद्र्धन गर्न, विकासमा स्थानीय समुदायको सहभागिता वृद्धि गर्न, स्थानीय समुदायको विकासमा स्वामित्व कायम गर्न र समुदायको विकासका लागि स्थानीय ज्ञान, सीप र प्रविधिको ठूलो महत्व हुन्छ। ज्ञान व्यवस्थापनका दृष्टिले पनि स्थानीय ज्ञान, सीप र प्रविधि संरक्षण गरिनु आवश्यक छ। यसका लागि स्थानीय परम्परागत ज्ञानमा विज्ञान खोज्ने, आधुनिक विज्ञानलाई स्थानीय ज्ञान, सीप र प्रविधिमा मिसाउने, अन्य स्थानका ज्ञान–सीपसँग तुलना गरेर हेर्ने,  आफ्ना समाजका ज्ञान, सीपलाई परिमार्जन गर्ने, परिष्कृत गर्ने, प्रबोधीकरण गर्ने गर्नु पनि उत्तिकै आवश्यक छ। यस्ता कार्यले समुदायको आयस्रोत वृद्धि मात्र हुँदैन, नयाँ पुस्तामा आफ्नो समुदायले प्राप्त गरेका ज्ञान, सीप हस्तान्तरण हँुदै पनि जान्छन्। अनि स्थानीय समुदाय स्वावलम्बी हुन सहयोग पुग्छ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ज) को १८ नम्बरमा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने दायित्व र अधिकार स्थानीय तह तथा नगरपालिका र गाउँपालिकालाई सुम्पेको छ। विगतमा स्थानीय ज्ञान, सीप र प्रविधि संरक्षणका लागि खासै काम भएको पाइँदैन। आयातीत ज्ञान, सीपभन्दा पुस्तौंपुस्ता खारिएका र हस्तान्तरण हुँदै आएका आफ्नै पुर्खाले आर्जन गरेका ज्ञान, सीप महत्वपूर्ण हुन सक्छन्। विकासको गतिमा आफ्ना पुर्खाहरूले आर्जन गरेका अमूल्य ज्ञान, सीप, प्रविधि हराएर जाने हुन् कि, आफ्नै ज्ञान–सीप अरू कसैमार्फत सिक्नुपर्ने हो कि भन्ने डर पनि उत्पन्न हुँदै छ। स्थानीय तहले स्थानीय ज्ञान–सीप प्रविधि संकलन, संरक्षण, विकास, प्रयोग तथा बौद्धिक सम्पत्तिका रूपमा दर्ता गर्ने, डकुमेन्ट्री निर्माण गर्ने,  त्यस्ता ज्ञान–सीप–प्रविधि समेटेर पुस्तक प्रकाशन गर्ने, सञ्चारमाध्यममा प्रचारप्रसार गर्ने, विद्यार्थी तथा युवाबीच त्यस्ता ज्ञान, सीप, प्रविधि प्रयोगको प्रतियोगिता गराउने, राम्रो गर्नेलाई पुरस्कार व्यवस्था गर्ने काम स्थानीय तहले गर्न सक्छन्। युवाका लागि स्थानीय ज्ञान, सीप र प्रविधिका ज्ञाताहरूबाट तालिम सञ्चालन गराउन सकिन्छ। त्यस्ता ज्ञान, सीप र प्रविधिको प्रदर्शनी गरी युवा पुस्तामा प्रवद्र्धन गर्ने काम पनि गर्न सकिन्छ। 

गाउँपालिका तथा नगरपालिकाले स्थानीय ज्ञान, सीप र प्रविधि संकलन, संरक्षण र प्रवद्र्धन गर्न अनुभवी व्यक्ति समेटेर समिति निर्माण गर्न सक्छ। विज्ञहरूको सहयोगमा स्थानीय ज्ञान, सीप र प्रविधि संकलन, संरक्षण र प्रवद्र्धन सम्बन्धमा नीति, योजना निर्माण गर्ने, कार्ययोजनाहरू बनाई लागू गर्ने कार्य पनि स्थानीय गाउँपालिका र नगरपालिकाले गर्न सक्छन्। ज्ञान, सीप र प्रविधि संकलन, संरक्षण र प्रवद्र्धन स्रोतकेन्द्र निर्माण गर्न पनि सम्भव हुन सक्छ। स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित भएर साना उद्योग तथा व्यवसाय सञ्चालन गर्नेलाई ऋण सहयोग गर्ने, कर छुट गर्ने, उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्नेजस्ता कार्य पनि गर्न सकिन्छ। 

औपचारिक शिक्षामा पनि स्थानीय ज्ञान, सीप र प्रविधि समेट्न सकिन्छ। त्यसका लागि स्थानीय पाठ्यक्रममा स्थानीय ज्ञान, सीप र प्रविधि राख्न उपयुक्त हुन सक्छ। डोल्पामा हरेक वर्ष वैशाख र जेठमा विद्यालयमा अध्ययन गर्ने बाबालिका प्रायः यार्सागुम्बा टिप्न लेकमा जाने, विद्यालयहरू खाली हुने, लेकमा जाँदा विभिन्न दुर्घटनामा हुने, वातावरण विनास हुनेजस्ता समस्या थिए। यी समस्या समेटेर यार्सागुम्बाको स्थानीय पाठ्यक्रम निर्माण गरी जिल्लाभरका विद्यालयमा लागू गरियो। विद्यालयमा पढाइको १ विषयकै रूपमा यार्सागुम्बा राखेपछि बालबालिकाले आफ्नै लेकमा पाइने यार्सागुम्बाबारे जानाकारी प्राप्त गरे।  लेकमा कसरी जाने ? यार्सागुम्बा कस्तो स्थानमा पाइन्छ, ? लेकमा आइपर्ने हिमपहिरो, हिउँ लाग्ने, आँखामा समस्या देखिनेलगायत समस्याबाट कसरी बच्ने ? यस्ता कुरा कक्षाकोठामा सिकाउन वर्षाैं यार्सागुम्बा टिप्दै आएका स्थानीय किसान तथा अनुभवी व्यक्तिहरूलाई भिœयाइयो। वातावरण विनासका कारण हुने हानिबारे बालबालिकालाई सचेत गराइयो र वातावरण संरक्षणका लागि सजग बनाइयो। यो पाठ्यक्रम लागू भएको २–३ वर्षमा यार्सागुम्बा टिप्न जाँदा हुने दुर्घटना कम गर्न सफलता मिल्यो। बालबालिका, वातावरणबारे अभिभावकलाई समेत सम्झाउन सक्ने भए।

हालै भक्तपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर विद्यालय तहको स्थानीय पाठ्यक्रम बनाई लागू गरेको छ। शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले भक्तपुरले बनाएको पाठ्यक्रम, पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रमभन्दा कम स्तरको नभएको र त्यसमा भक्तपुरमा रहेका निकै महŒवपूर्ण स्थानीय पक्ष समेटिएको भनेका छन्। यस्तै केही अन्य नगरिपालिका र गाउँपालिकाले समेत स्थानीय पाठ्यक्रम बनाई स्थानयि ज्ञान, सीप र प्रविधि संरक्षण गर्ने प्रयास गरेका छन्। हाम्रो समाजलाई ज्ञानमा आधारित, कुनै घटनाको कारण खोज्ने, विगतको भन्दा फरक किसिमले सोच्ने, आफ्ना सकारत्मक पक्ष संरक्षण गर्ने, अरूका राम्रा पक्ष सिक्ने, स्थानीय ज्ञानलाई विश्वव्यापी बनाउने र विश्वव्यापी ज्ञानलाई आफ्नो स्थानीय ज्ञानमा जोड्ने कार्य गर्न सकियो भने हाम्रो समाज पनि तलैदेखि बलियो हुन, आफंैमा धानिने खालको अर्थतत्र विकास गर्न र समृद्धि बन्न सक्छ भन्ने कुरामा कुनै शंका छैन।

प्रकाशित: २२ कार्तिक २०७६ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App