coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अगाडि बनाउँदै पछाडि उप्किँदै

लहान–भगवानपुर–ठाढी सडक खण्डको नयाँ निर्माणमा महेशबारीदेखि भगवानपुरखण्डमा भत्किएको, उप्केको कालोपत्रे। तस्बिर: मिथिलेश यादव/नागरिक

लहान - सडक कालोपत्रे गरिएपछि कम्तीमा दुई–चार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने कामको गुणस्तरमा सम्झौता भएको सहजै अनुमान गर्न सकिन्छ। सिरहाको लहान–भगवानपुर–ठाढी सडकले त्यही नियति भोग्नुपरेको छ। कमजोर बेसमाथि कालोपत्रे गरिएका कारण निर्माण सम्पन्न नहुँदै सो सडकखण्ड भत्किन थालेको छ। यसबाट ठेकेदारहरूले प्राविधिकलाई मिलाएर कतिसम्म गुणस्तरहीन काम गरेका छन् भन्ने प्रमाण छताछुल्ल हुन पुगेको छ।

भगवानपुर माध्यमिक विद्यालयदेमिक स्वास्थ्य केन्द्रसम्म करिब पाँच सय मिटर कालोपत्रे सडक दर्जनौं स्थानमा भत्किएका छन्। कतै सडक भासिएर धाजा फाटेको छ भने कतै कालोपत्रे उप्किएको छ। ‘साइट इन्जिनियरको उपस्थितिबेगर कालोपत्रेकोे काम भयो,’ भगवानपुर गाउँपालिका–२ का वीरेन्द्र साहले भने, ‘गुणस्तरीयता काम नहुँदा बन्दाबन्दैको कालोपत्रे असार महिनामै उप्किन थाल्यो।’ डेढ महिनाअघि सो सडकखण्ड कालोपत्रेका लागि ‘बेस’ निर्माण गरिएको थियो। ‘बर्खामा निरन्तर सवारीसाधन गुड्दा बेसको माथिल्लो भाग खुकुलो भइसकेको थियो,’ उनले भने, ‘धसेको बेसमाथि कालोपत्रे गरिएपछि सडक कहाँ टिकाउ हुन्थ्यो ?’

खुकुलो र कमजोर बेसमै कालोपत्रे गरिएकाले बन्दाबन्दैको सडकको कालोपत्रे उप्किन थालेको थियो अहिले आएर पूरै कालोपत्रे सडक भासिएर धाजा फाट्न थालेको छ। ‘बेसमा रोलिङ गरेर कडा पारेपछि तारब्रसले सफा पारेर मात्र प्राइमिङ (मट्टितेल र अलकत्रा मिसाएर तयार पारिएको झोल) छर्नुपर्छ। अनि मात्र मसिनो गिट्टी र अलकत्रा मिसाएर तयार पारेको प्रिमिक्स हालेर कालोपत्रे गरेको अरू ठाउँमा देखेको थिएँ,’ भगवानपुरका ललितनारायण साहले भने, ‘तर यहाँ यो प्रक्रिया पूरा भएको देखिएन।’

निर्माण कम्पनी एपेक्स–उदय जेभीले सात किलोमिटर चार सय ५० मिटर लम्बाइ रहेको सो सडक पाँच करोड ३५ लाख ४७ हजार रुपैयाँमा कालोपत्रे गर्ने भन्दै सडक डिभिजन कार्यालयसँग २०७५ जेठ २ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७६ कात्तिक १ गतेसम्म काम सकिसक्नुपर्ने हो। म्याद सकिए पनि सम्झौताअनुरूपको झन्डै एक किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ। सडक कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर बेचन भण्डारीका अनुसार ठेकेदार कम्पनीले अहिलेसम्म चार करोड तीन लाख रकम भुक्तानी लिइसकेको छ।

सडकका कर्मचारीले नियमित अनुगमन नगर्दा ठेकेदार कम्पनीलाई सडकको गुणस्तर छल्न सजिलो भएको स्थानीय बताउँछन्। सम्झौतामा सडकको न्यूनतम मोटाइ ३० एमएम हुनुपर्ने भनिए पनि त्यति नभएको स्थानीयको गुनासो छ। बन्दै गरेको सडकको महेशबारी चोकदेखि भगवानपुरसम्म ठाउँठाउँमा कालोपत्रे उप्किएर गहिरो खाल्डो परेका छन्। सो सडकखण्डको ठेक्का निर्माण कम्पनीले निर्धारित ठेक्का रकमको करिब ४० प्रतिशत कम रकममा साकार गरेको सडक डिभिजन कार्यालयले जनाएको छ। ‘बन्दाबन्दै कालोपत्रे उप्किँदा हामीले सडक कार्यालयमा जानकारी गरायौं तर उल्टै ठेकेदारलाई दुःख नदिन भनियो,’ स्थानीय रामकुमार यादवले भने, ‘अगाडि बनाउँदै, पछाडि उप्किँदै गएको कालोपत्रेलाई सडक कार्यालयका इन्जिनियरले गुणस्तरीय भनेर हामीलाई फर्काए।’

साइट इन्जिनियरसमेत रहेका सूचना अधिकारी भण्डारीले बन्दै गरेको कालोपत्रे सडकको गुणस्तरीयतामा कमी नरहेको दाबी गर्दै जारी निर्माण कार्यमा देखिएको ‘सामान्य’ गडबडी ठेकेदार कम्पनीले सच्याउने बताए। ‘बन्दाबन्दै कालोपत्रे उप्किएर प्याच देखिनु, बेसभन्दा तलको माटो धसेर कालोपत्रे भत्किनु स्वाभाविक हो,’ उनले भने, ‘निर्माण सम्पन्न भएको ६ महिनाभित्र सडकमा आउने खराबी करेक्सन गर्ने जिम्मा निर्माण कम्पनीकै हुन्छ। त्यसैले चिन्ता लिनुपर्दैन।’

लहान र सीमावर्ती भारतीय सहर लौकाहासँग सम्पर्क स्थापित गर्ने यो सडक वर्षौदेखि बेवास्ताको सिकार बन्दा जीर्ण भइसकेको थियो। १० वर्षअघि जिल्ला विकास समिति मातहतमा ल्याइएको यो सडक कालोपत्रे गर्न सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिले लगानी गर्दै आएको थियो। तर तराई–मधेसमा त्यो बेला जनतान्त्रिक तराई मुक्ति मोर्चाका नामबाट हिंसात्मक गतिविधि भएर यो परियोजनामा काम गर्ने इन्जिनियर नवराज विष्ट मारिएका थिए। त्यसपछि सडक निर्माण बीचमै रोकिएको थियो।

पाँच नम्बर सडक डिभिजन कार्यालय लहानको मातहतमा आएपछि यो सडक कालोपत्रेको काम अगाडि बढ्यो। २०७३ देखि लहान–भगवानपुर–ठाढी सडक कालोपत्रे काम सुुरु भई अहिलेसम्म करिब १५ किलोमिटर कालोपत्रे भइसकेको छ। अगाडि बन्दै र पछाडि भत्किँदै गएको १८ किलोमिटर दूरीको यो सडक तीन वर्षअघि निर्माण भएको लहानदेखि पाँच किलोमिटर दक्षिणको कालोपत्रे अवशेष मात्र बाँकी छ।

सम्झौताअनुसार सोे सडकको काम कात्तिक १ गते सम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो तर अझसम्म काम पूरा हुन सकेको छैन्। ‘म्याद थप हुँदैन,’ इन्जिनियर भण्डारीले भने, ‘अब जरिवाना तिरेर ठेकेदारले काम पूरा गर्नुपर्छ।’

प्रकाशित: २२ कार्तिक २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App