७ वैशाख २०८१ शुक्रबार
समाज

डाक्टर केसीको पक्षमा समर्थन बढ्दै

फाइल तस्बिर

डडेल्धुरा - चिकित्सा क्षेत्रमा आफूसँग सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयनलगायतका माग राखी १७ औं पटक सत्याग्रह थालेका डाक्टर गोविन्द केसीको समर्थनमा -याली निकालिएको छ। यसअघि डाक्टर केसीले १६ औं पटकसम्म सत्याग्रह गरेकोमा प्रत्येक पटक सरकारले उनीसँग सम्झौता गर्ने तर कार्यान्यवन भने नगर्ने गरेकाले सम्झौता भएका बुँदा कार्यान्वयनमा ल्याउन डाक्टर केसी सोमबार बेलुकादेखि १७ औं सत्याग्रहमा बसेका हुन्। यसपटक उनी डडेल्धुरामा सत्याग्रह बसेका छन्। डाक्टर केसीले राखेका मागहरू सर्वसाधारण नेपाली जनताको माग भएकाले ती मागप्रति सरकारलाई जवाफदेही बनाउन दबाबस्वरूप -याली निकालिएको नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताए।

केसीको मागप्रति सत्याग्रहको चौथो दिन बिहीबार दिउँसो नागरिक समाजको अगुवाइमा विभिन्न संघ–संस्थाका प्रतिनिधि एवं स्थानीयले डडेल्धुरा सदरमुकाममा -याली निकालिएको हो। ‘डाक्टर केसीले राखेका सम्पूर्ण मागहरू पूरा गर, डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि निर्णय गर, डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरूको यथाशीघ्र व्यवस्था गर, डाक्टर केसीको जीवन रक्षा गर,’ लेखिएको ब्यानरसहित प्लेकार्ड बोकी ¥यालीले जिल्ला सदरमुकामस्थित बागबजारको बसपार्कदेखि डाक्टर केसीले सत्याग्रह थालेको तुफानडाँडासम्म ¥याली निकालिएको थियो।

डाक्टर केसीले सत्याग्रह थालेको चार दिन बित्दा पनि सरकारले चार दिनसम्म कुनै प्रतिक्रिया जनाएको छैन। त्यसबाट क्षुब्ध डडेल्धुरालगायत सुदूरपश्चिमबासीको समर्थन डाक्टर केसीका पक्षमा दिनदिनै बढ्दै गएको छ।

डाक्टर केसीले सरकारसँग राखेका माग जायज भएकाले सबैले समर्थन गरेको संयोजक जोशीको भनाइ छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि डडेल्धुरामा पटकपटक आन्दोलन भएका छन्। यसपटक सारा नेपालीको स्वास्थ्य क्षेत्रमा समान पहँुचका लागि डाक्टर केसी डडेल्धुरा पुगेर सत्याग्रह थाल्दै आन्दोलनमा होमिएकाले डडेल्धुरालगायत सुदूरपश्चिमबासीको समर्थन दिनदिनै बढ्दै गएको छ। सरकारले चार दिनसम्म कुनै प्रतिक्रिया नजनाएकाले उनको समर्थन र आन्दोलनका गतिविधि बढ्दै गएको उल्लेख गर्दै संयोजक जोशीले भने, ‘सबै नेपालीलाई सरल, सहज, सस्तोमा औषधि उपचार सुविधा उपलब्ध गराउनुपर्ने, चिकित्सा शिक्षामा गरिब नेपालीका छोराछोरीको पहुँच बढाउनुपर्नेलगायत मागमा नेपाली जनताको समर्थन नहुने कुरै छैन।’

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले डाक्टर केसीको समर्थनमा डलेल्धुराको नागरिक समाज, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटेल व्यवसायी संघलगायत स्थानीयको समर्थन रहेको बताए। ‘डाक्टर केसीले थालेको सत्याग्रह उनी आफूका लागि नभएर सबै गरिब सर्वसाधारण जनताका लागि हो,’ उनले भने, ‘चिकित्सा क्षेत्रमा सबैको समान पहुँचका लागि उनी लडिरहेका छन्। उनको आन्दोलनले स्वास्थ्य क्षेत्रमा भावीपुस्ताको सहज ढंगले समान पहँुच पुग्ने अपेक्षा गरिएको छ।’ केसीका माग समयमै सरकारले सम्बोधन नगरे आन्दोलनका जुनसुकै कार्यक्रम गर्न आफूहरू तयार रहेको उनले बताए।

डडेल्धुरा अस्पतालका विषयमा बारम्बार अवाज उठान गरे पनि नेता तथा सरकारको नेतृत्व गरिरहेकाले कुनै सुनुवाइ नगर्दा डडेल्धुरालागतय सुदूरपश्चिमका पहाडी जनताले स्वास्थ्य उपचारमा सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ। मेडिकल शिक्षामा अहिले भइरहेको व्यापारीकरणविरुद्ध लड्ने डाक्टर केसी एक्लो अगुवा भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेल बताउँछन्। ‘उहाँले जे गरिरहनुभएको छ त्यो हामी र हामीपछिका सन्ततिलाई सहज होस्, यो ठाँउमा सजिलो गरी मेडिकल पढ्न पाउन्, भोलि सबैको स्वास्थ्य उपचार सहज होस्, भन्नका लागि गरिरहनुभएको छ,’ उनले भने।

उनले सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा र डोटीमध्ये कुनै एक ठाँउमा मेडिकल कलेज हुनुपर्छ भनेर माग राख्दा राज्यले कुनै सुनुवाइ नगरेको गुनासो गरे। ‘जसरी कर्णाली राज्यबाट उपेक्षित छ उसैगरी सुदूरपश्चिम स्वास्थ्यलगायत विकासका सूचकमा धेरै पछाडि धकेलिएको छ,’ उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसमम राम्रो, सबै सेवा–सुविधा दिनसक्ने एउटै पनि संस्था छैन। विकट हिमाली जिल्ला दार्चुला, बझाङ, बाजुरालगायत बैतडी, अछाम, डोटी, डडेल्धुराका स्थानीय उपचारका लागि धनगढी पुग्नुपर्ने, त्योभन्दा पनि पर नेपालगन्ज, भरतपुर, काठमाडौं र भारतका विभिन्न अस्पतालमा जानुपर्ने, दुःख भोग्नुपर्ने, लुटिने घटनाहरू पनि थुप्रै छन्।’ डाक्टर केसी डडेल्धुरा पुगी मेडिकल कलेज स्थापनाको माग राखेकाले यसलाई डडेल्धुराबासीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबासीले ठुलो अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।

डाक्टर केसीको अवस्था

डाक्टर केसीले सत्याग्रहसहित आमरण अनसन थालेको बिहीबार चार दिन पुगेको छ। उनको रक्तचाप तलमाथि भइरहेको भए पनि मुटुको चाल र रगतको रिपोर्ट भने सामान्य नै छ। तर उनको पिसाबमा हुने किटोनबडिज पोजेटिभ देखिएको डाक्टर कँडेलले बताए। ‘जुन रुटिन ग्लुकोज हाम्रो शरीरबाट आउनुपर्ने हो, डाक्टर केसीको शरीरले त्यसको विकल्प खोज्दैछ,’ उनले भने, ‘आमरण अनसनमा बस्दा शरीरले गर्ने गतिविधि चलाउन वैकल्पिक उर्जा निकाल्छ। शरीरले ग्लुकोज आउने स्रोतबाट नभई अन्य स्रोतबाट इनर्जी खोज्ने भएकाले स्वास्थ्य समस्या बढ्दै जान्छ।’

प्रकाशित: २२ कार्तिक २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App