६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल

आफूले गरेको अत्याचारको सूची न्यायाधीशले पढ्दै गर्दा सुनिरहेका एन्टागान्डा।

कंगो (बिबिसी) – युद्ध अपराध र मानवताविरोधी अपराधमा दोषी ठहर गर्दै कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल सजाय सुनाइएको छ।

‘टर्मिनेटर’ उपनामबाट चर्चित बोस्को एन्टागान्डा नामका पूर्वविद्रोही नेतामाथि हत्या, बलात्कार, यौनदासी र बाल सैनिक प्रयोगलगायतका १८ वटा मुद्दा चलेका थिए।

अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले गत जुलाई महिनामा एन्टागान्डाका वफादार सैनिकले सर्वसाधारण नागरिकको नरसंहार गरेको ठहर गरेको थियो।

अन्तर्राष्ट्रिय अपराध अदालतले हालसम्म हेरेको मुद्दामध्ये सबैभन्दा धेरै कैद सजाय सुनाइएको यो पहिलो घटना भएको बिबिसीले उल्लेख गरेको छ।

इजलासमा एन्टागान्डाले ध्यान दिएर कुरा सुनेपछि न्यायाधीश रोबर्ट फ्रेमरले उनका कार्यकर्ताले गरेको अपराधको लामो फेहरिस्त सुनाएका थिए। जसमा, बलात्कार र साना बालबालिकामाथि यौनदासी बनाएको लगायतका अत्याचार समावेश गरिएको थियो।

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए।

न्यायाधीश फ्रेमरले बलात्कार पीडित एक १३ वर्षीया किशोरीको मुद्दालाई जोड दिएर इजलासमा सुनाएका थिए। उनले ती किशोरीले वर्षौंसम्म शल्यक्रिया गर्नु परेको र लामो समयसम्म उनीमा व्याप्त डरका कारण विद्यालय छोड्नु परेको तितो यथार्थ सुनाएका थिए।

न्यायाधीश फ्रेमरले प्रतिवादी एन्टागान्डाको मुद्दामा कुनै शान्त कुरा नै नभएको भए पनि र अपराधको तह बढि नै भएको भए पनि आजीवन कारागारको सजाय भने तोक्न नसकिने पनि बताएका थिए। एन्टागान्डाले आफूमाथि लागेको अभियोगबारे यसअघि नै पुनरावेदन गरिसकेका छन्।

अन्तर्राष्ट्रिय अपराध अदालतले यौनदासी राखेको अभियोगमा दोषी ठहर गरेको एन्टागान्डा पहिलो व्यक्ति थिए र सन् २००२ मा स्थापना भएपछि यस अदालतले दोषी ठहर गरेको उनी चौथो व्यक्ति पनि थिए।

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए। उनले सन् २०१३ मा रुवान्डास्थित अमेरिकी दूतावासमा आत्मसमर्पण गरेका थिए।

आत्मसमर्पण गर्नु भनेको एन्टागान्डाले आत्मसंरक्षणका लागि चालेको कार्य भएको विश्लेषकहरुले बताएका छन्। आफ्नो एम२३ विद्रोही समूहमा भएको शक्तिका लागि संघर्षमा शक्ति गुमाएपछिको खतराबाट बच्नका लागि उनले अमेरिकी दूतावासमा आत्मसमर्पण गरेको विश्लेषकहरुले दाबी गर्दै आएका छन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App