८ वैशाख २०८१ शनिबार
राजनीति

डायलासिसपछिको एक साता, प्रधानमन्त्री निरन्तर सक्रिय

फाइल तस्बिर

काठमाडौं - स्वास्थ्य उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेतासँग भेटघाटलाई तीव्रता दिएका छन्। गत साताको बुधबार र बिहीबार डायलासिसपछि आराम गरिराखेका प्रधानमन्त्रीले दोस्रो दिनदेखि नै सरकार र पार्टीको बैठकमा सक्रिय सहभागी भएका छन्। शुक्रबार केही आराम गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग केहीबेर कुराकानी गरेका थिए। त्यसपछि शनिबार पार्टीको सचिवालय बैठक राखेका थिए। शनिबार पार्टीका सचिवालय सदस्यसँग छलफल गरेपछि ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक राखेर सातवटै प्रदेश प्रमुख हटाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यस बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पार्टीका नेतालाई जानकारी गराएका थिए।

त्यसपछि आइतबार पार्टी सचिवालय बैठक राखेका थिए। त्यसैदिन पुनः मन्त्रिपरिषद्को बैठक बोलाए पनि पार्टी र अध्यक्ष पुष्पकमल दाहालसँगको आन्तरिक छलफलका कारण भ्याएका थिएनन्। आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा जाँचका लागि गएका थिए। जाँचपछि मिर्गौलाको तत्काल डायलासिस गर्नुनपर्ने भएपछि अस्पतालबाट बालुवाटार आएका प्रधानमन्त्री ओलीले ११ बजे बोलाएको मन्त्रिपरिषद् बैठक १ बजे राखेका थिए। दिउँसो १ देखि साढे २ बजेसम्म बसेको बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति र प्रदेश प्रमुख पदमुक्त गरेका थिए। त्यसपछि ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका थिए। त्यसअघि ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेपछि तत्कालै सचिवालय बैठक बोलाए। साँझ ५ः३० देखि बसेको बैठक सवा सात बजेतिर सकिएको थियो।

उनले सोमबार पनि पार्टीको सचिवालय बैठक राखेका थिए। सोमबार सचिवालयको बैठक सिध्याएर उनले मन्त्रिपरिषद् बैठक राखेका थिए। सो बैठकबाट सातवटै प्रदेश प्रमुख नियुक्ति गरेका ओलीले मंगलबार दिनभर पार्टीका आन्तरिक समस्या र सरकार सञ्चालनबारे नेताहरूसँग छलफल गरेका थिए। मंगलबार नै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरेका उनी मंगलबार नै राष्ट्रपति कार्यालयमा प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा सहभागी भएका थिए। उनी नियमित रूपमा प्रमुख सल्लाहकार सचिवालयका सदस्यसँग पनि छलफलमै रहेका छन् भने मुख्यसचिव लोकदर्शन रेग्मी र सुरक्षा निकायका अधिकारीसँग पनि नियमित सम्पर्कमै रहेका छन्।

यसैसाता पार्टीको सचिवालय बैठकबाटै उपनिर्वाचनका लागि उम्मेदवारसमेत तय भएको छ। प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले नियमित काम गरिरहेको जानकारी दिएका छन्। ‘उहाँ आराम पनि गरिरहनु भएको छ, काम पनि गरिरहनुभएको छ। तपाईंहरूलाई थाहै छ एक सातामा के–के काम भएका छन् के के निर्णय भएका छन्। प्रधानमन्त्रीज्यूको सक्रियतामा कुनै कमी आएको छैन,’ प्रेस सल्लाहकार अर्यालले भने ‘आवश्यकता अनुसार मन्त्रीहरुलाई पनि निर्देशन दिइरहनु भएको छ।’

दाङदेखि कास्कीसम्मको भ्रमण सिध्याएर काठमाडौं आइपुगेका नेकपाका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका थिए। दाहालले आफू सहभागी कार्यक्रम र त्यहाँको वस्तुस्थितिबारे ओलीलाई जानकारी गराएका थिए।

प्रकाशित: २२ कार्तिक २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App