७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आठ हजार एटिएम आपूर्ति गर्दै ह्योसुङ

सोल (एजेन्सी) – दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ‘ह्योसुङ ग्रुप’ले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ।

ग्रुपको एटिएम उत्पादन इकाई ‘ह्युसोङ टिएनएस इन्क’ले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलरबराबरका आठ हजार थान एटिएम बिक्री गर्नेछ।

समूहका अनुसार नयाँ सम्झौतालगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयर मूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ। आर्थिक रूपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्डमार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्ने बताइएको छ।

मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन् तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ।

यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्युन–जुनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गरेको कम्पनीले जनाएको छ। त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो।

प्रकाशित: २२ कार्तिक २०७६ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App