coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

वीरगन्ज– बलिउड अभिनेता अर्थात भारतीय सिने कलाकार गोबिन्दा वीरगन्ज आइपुगेको चर्चा जति देखियो त्यति ‘नेपाल प्रथम चलचित्र महोत्सव’मा स्थानीयको चासो भेटिएन। अभिनेता गोबिन्दा बिहीवार सुरु भएको यसै महोत्सवको पाहुनाको रुपमा काठमाडौं हुँदै वीरगन्ज आइपुगेका हुन्। महोत्सव स्थल रहेको स्थानीय आदर्शनगर रंगशालाको सेरोफेरो बिहीवार गुल्जार भइरहँदा धेरै स्थानीयले एक आपसमा जिज्ञासा राखे ‘का होख ता?’ अर्थात के भइराखेको छ? जवाफको आदानप्रदान पनि भइरहेको थियो, ‘गोबिन्दा आइलबा’ अर्थात गोबिन्दा आएका छन्।

अझ दुई दिन शुक्रवार र शनिवारसम्म चल्ने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्। मञ्च अगाडि २ सय बढी नेपाली चलचित्रकर्मी, कलाकार, निर्माता र निर्देशकको चहलपहल अनि त्यतिकै संख्यामा संचारकर्मी पत्रकारको उपस्थिति थियो। केही स्थानीय कलाकारहरु महोत्सवमा आफ्नो स्थानको खोजीमा देखिए। साँसद, राजनीतिक दलका नेता, स्थानीय अगुवाहरु, आयोजक, सहआयोजक, प्रायोजकलगायतका पनि थिए। सुरक्षाकर्मी, टेन्टवाला, साउण्ड सर्भिसका मानिसहरु र लाइटवाला पनि हुने नै भए। स्थानीय सर्वसधारणको उपस्थिति भने खासै देखिएन। सहरमा महोत्सवलाई लिएर उत्साहन देखिएको कुरा उद्घाटन कार्यक्रममा समेत प्रतिबिम्बित भयो। 

‘राष्ट्रपति ज्युले उद्घाटन गर्नु भएको छ, संघीय सरकारका मन्त्री र प्रदेश २ सरकारका मुख्यमन्त्रीको उपस्थिति छ, साँसदहरु र राजनीतिक दलका नेतादेखि बिभिन्न क्षेत्रका अगुवाहरु आउनु भएको छ, महानगरपालिका र वीरगन्ज उद्योग बाणिज्य संघ त सहआयोजक नै भइहाले, महोत्सवका कारण भएको डेढ सय बढी कलाकारहरुको जमघट पनि नेपालमा पहिलो पटक नै हो,’फिल्मनिर्मातामाधववाग्लेलेभने, ‘जति गरे पनिअलिकतिकमीकमजोरी त जहाँ पनि हुन्छ, उद्घाटनको कार्यक्रम सकियोस, बलिउड कलाकार गोबिन्दा आउन दिनु मान्छेहरु ओरिन्छन्।’ मान्छेहरु नेपाली चलचित्र महोत्सवका लागि आउने हुन कि गोबिन्दा हेर्न? भन्ने प्रश्नमा उनले जोडे, ‘यही त हो यथार्थ, जहाँ कलाकार त्यहाँ दर्शक।’

नेपाली सिनेमा क्षेत्रसँग यस भेगका मानिसको फितलो सम्बन्ध महोत्सवमा यथार्थ रुपमा प्रतिबिम्बित भएको स्थानीयकला संस्कृति क्षेत्रका ब्यक्तिहरुको बुझाई छ। ‘महोत्सव वीरगन्जमा आयोजन हुनु भनेको सहरको लागि गर्वको विषय हो, तर यसले चाहिएजस्तो स्थानीयलाई आकर्षित गर्न सकेको छैन’, स्थानीय भोजपुरीका श्रष्टा रितुराजले भने, ‘यदि उपस्थिति चाहिन्छ र व्यापारिक लाभ चाहिन्छ भने नेपाली सिने जगतको बिषयबस्तुमा निकै परिवर्तन पनि चाहिन्छ।’

भोजपुरी आधुनिक गीतका स्थापित कलाकार सुनिल पण्डितको बुझाई पनि करिब करिब यस्तै छ। ‘यत्रो महोत्सव हुँदैछ, स्थानीय जनमानसमा किन उत्साहको संचार भएन?’ सुनिलले नागरिकलाई भने, ‘कमीकमजोरी छ, विचार गर्नुपर्ने कुरा हो। यहाँको स्थानीय कलाकार, काला र परिवेशलाई नेपाली फिल्म जगतले नसमेटेको नतिजा हो यो।’ स्थानीय कलाकारले महसुस गरेको कुरा छँदैछ, नेपाली सिने जगतका स्थापित कलाकरहरुको बुझाईमा समेत वीरगन्ज लगायतको तराईका ठाउँमा नेपाली सिनेमाले बजार पाएको छैन। बजार नपाउनुको अर्थ दर्शक नपाउनु हो। 

‘अत्याधिक रुपमा देखिएको कुरा के छ भने नेपाली चलचित्रको यहाँ मार्केट छैन, नेपाली सिनेमा यहाँका दर्शकहरु हेर्नु हुन्न र नेपाली कलाकारलाई पनि चिन्नु हुन्न’, अभिनेत्री नीता ढुँगानाले चलचित्र महोत्सवप्रति स्थानीयको क्रेज नहुनुको कारण भनिन, ‘नेपाली कलाकार चिनेकै छैनन्, नेपाली सिनेमा हेरेकै छैनन् भने नेपाली सिनेमा र कलाकारमा चासो स्वभाविक रुपमा हुँदैन।’ मधेसका कथा र पात्रहरुले अब नेपाली सिनेमामा स्थान पाउन थालेको उनले बताइन्।’

अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मीले वीरगन्जमा यतिको आयोजनलाई र सहभागितालाई राम्रै मान्नुपर्ने बताइन्। आफूले यस महोत्सवलाई लिएर सोचेंभन्दा बढी यहाँ पाएको बताइन्। स्थानीयको कम उत्साहको बारेमा उनले भनिन, ‘अझ ३ दिन बाँकी छ, कालाकारहरुको प्रस्तुति हुन पनि बाँकी छ, हेरौं कस्तो होला!’

राष्ट्रिय जनता पार्टीका महासचिव शिवपटेलले उद्घाटनमा राष्ट्रपति लगायतको बिशिष्ठ उपस्थितिका कारण भएको सुरक्षा कडाइ र आयोजकहरुको समान्य ब्यवस्थापकीय कमजोरी लगायतका कारणले स्थानीयको सहभागिता चाहिएजस्तो नभएको महसुस गरे।

कार्यक्रमको सहआयोजक होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार नेपालका २ सय बढी सिने कलाकारले भाग लिने यस महोत्सवमा कार्यशाला, बिभिन्न प्रस्तुति र अन्य मनोरन्जनात्मक गतिबिधि हुने छ। 

प्रकाशित: २१ कार्तिक २०७६ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App