coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चीनले बन्द गर्याे कोरला नाका

हरिकृष्ण गौतम
काठमाडौं–उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।

अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वनिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमतिअनुसार हरेक वर्ष दुईपटक नेपाल र तिब्बतको सीमाक्षेत्रमा मेला आयोजना हुँदै आएको छ ।
स्रोतका अनुसार चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हो । ‘२५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो,’ एक उच्च सरकारी अधिकारीले भने, ‘चिनियाँले हामीलाई जानकारी नै नदिई १० दिनअघि नै एक्कासि बन्द गरे ।’

तोकिएको समयभन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । ‘२५ दिनका लागि खोल्ने सहमति थियो,’ प्रजिअ अधिकारीले भने, ‘बिहीबारबाट नाका बन्द भएको अनौपचारिक जानकारी आएको छ ।’ उनले सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले नाका बन्द गरेको हुनसक्ने बताए । ‘सुरक्षाको विषयमा चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘सामान किन्न व्यापारी नगएका कारण बन्द गरेका हुन सक्छन् ।’

दुई देशको सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताक्रममा नाका खोलिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले एक दशक अघिदेखि सीमामा तारबार लगाएर कोराला गेट बन्द गरेको थियो । सीमा क्षेत्रभन्दा चीनतर्फको करिब ३ किलोमिटरको दुरीमा रहेको तिब्बती भूमिमा मेला आयोजना भएको थियो । उक्त क्षेत्रमा चिनियाँ व्यापारीले राखेका स्टलमा नेपाली व्यापारीले सामान किनेका छन् ।
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीसहित सरकारी अधिकारीको समन्वयमा मेला आयोजना भएको हो । मेलामा मुस्ताङी र तिब्बती व्यापारीले सामान बिक्री गरेका थिए । मेलामा नेपालीले पनि तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायतका स्टल राखेको उपल्लो मुस्ताङका इन्द्रधारा विष्टले बताए ।  मेलामा करिब पाँच करोडको कारोबार भएको अनुमान छ ।

अरु बेला बन्द रहने नाकामा व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाएका थिए । बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले पनि उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ । पछिल्लो समय चिनियाँ व्यापारीले मोबाइल तथा इलोक्ट्रोनिक्स सामानसमेत मेलामा ल्याउने गरेका छन् ।

मेलामा तिब्बती धार्मिक नेता दलाइ लामाका तस्बिर, लकेटसहित पुस्तक बिक्री–वितरण गर्न रोक लगाइएको एक व्यापारीले बताए । मेला आसपास क्षेत्रमा धेरै दलाइ लामाका अनुनायी भएकाले पनि नाकामा कडाइ हुने गरेको व्यापारीको भनाइ छ । तिब्बती र उपल्लो मुस्ताङवासीले दलाइ लामालाई भगवानजस्तै मान्छन् ।

सन् २००२ मा मुस्ताङ–तिब्बतका सरकारी अधिकारीबीच भएको वार्तापछि दुई देशका बासिन्दालाई १० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न दिने सहमति भए पनि अहिले त्यसो हुन सकेको छैन । विगतमा व्यापार मेलामा जाने मुस्ताङका व्यापारीलाई परिचयपत्र माग्ने, मनपरी मूल्य लिने गरिएकाले नेपाली व्यापारी मेलाप्रति रुष्ट थिए । सीमाक्षेत्रमा आयोजना हुने मेला मुस्ताङको बस्तीनजिकै ल्याउनुपर्ने प्रस्ताव छलफलका बेला राख्नुपर्ने उपल्लो मुस्ताङका बासिन्दाको माग छ ।

सहभागीका अनुसार यार्सागुन्बुसहित बहुमूल्य जडीबुटीप्रति चिनियाँ व्यापारीले चासो देखाउने गरेका छन् । मेलामा झोङवासेन र लाब्राङ बजारका व्यापारीले निर्माण सामग्री, लत्ताकपडा, भेडाच्यांग्रा तथा घोडासमेत किनबेच गरेका थिए । उक्त नाका नियमित सञ्चालन गर्न नेपाली पक्षले चिनियाँलाई पटक—पटक आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालनमा आउन सकेको छैन ।

उक्त नाका समुन्द्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ छ । सीमाक्षेत्रमा सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिको निगरानी गर्ने गरेको छ । लामो समयदेखि बन्द रहेको नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियावाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन ।

 

प्रकाशित: १६ असार २०७३ २३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App