coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

वायु प्रदूषणका कारण भारतीय राजधानीको दृश्य। तस्बिर : एजेन्सी

काठमाडौं (बिबिसी) – उत्तरी भारत प्रदूषणको चरम तहबाट बाहिर आउन संघर्ष गरिरहेका बेला एसियाका अन्य सहरका वायुको गुणस्तरलाई लिएर नयाँ बहस सुरु भएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि वायु प्रदूषणले आक्रान्त बनाइरहेकै बेला एसियका अन्य सहरमा पनि वायुको गुणस्तरबारे चिन्तासमेत व्यक्त भएका छन्।

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्। चीनको राजधानी बेइजिङमा व्याप्त धुँवाका लागि लामो समयदेखि परिचित छ। यद्यपि तथ्यांकले भने चीनको भन्दा भारत, पाकिस्तान र बंगलादेशको वायुको अवस्था थप प्रदूषित रहेको देखाएको छ। त्यसो हो भने दक्षिण एसिया किन यति धेरै प्रदूषित भयो त ? प्रश्न टड्कारो रूपमा अगाडि आएको छ।

एसियाका सबैभन्दा प्रदूषित सहरहरु
विश्वव्यापी रूपमै वायु (हावा) को गुणस्तर संकलन गर्ने गरेको स्विस आधारित एउटा समूह ‘आइक्यु एयरभिजुयल’ र ग्रिनपिस नामक संस्थाले गरेको अनुसन्धानअनुसार विश्वका ३० अति प्रदूषित सहरमध्ये भारतकै मात्र २२ वटा सहर रहेका छन्।

बाँकी आठ सहर पाकिस्तान, बंगलादेश र चीनका रहेका छन्। यद्यपि यो सूचीमा चीनको राजधानी बेइजिङ भने पर्दैन। बेइजिङ त प्रदूषित सहरको एक सय २२ औं नम्बरमा रहेको सो अनुसन्धानले देखाएको छ।

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्।

विश्वव्यापी रूपमा हेर्ने हो भने पनि प्रदूषणको तहमा एसियाली सहरहरु नै शीर्ष स्थानमा पर्ने बिबिसीले उल्लेख गरेको छ।

समग्र देशहरुलाई हेर्ने हो भने, खराब वायु भएको देश बंगलादेश हो र त्यसलाई पाकिस्तान र भारतले पछ्याएका छन्। यी सबै श्रेणी प्रतिवर्ष औसत हावाको गुणमा आधारित भएर गरिएको बताइएको छ।

यी सबै देशका धेरै भिन्न घनत्वका मापन स्टेसन र डाटा पारदर्शिता भएका कारण तथ्यांकलाई सावधानीपूर्वक अध्ययन गर्नुपर्ने आवश्यकतासमेत रहेको छ। यद्यपि यी सबैले समग्र प्रवृत्तिको संकेत गरेको बिबिसीले उल्लेख गरेको छ।

किन भारतको अवस्था चीनको भन्दा खराब छ ?
सहरी क्षेत्रमा हुने प्रदूषणमा सामान्यतया विभिन्न कारक तत्वको मिश्रण रहेको हुन्छ, जसमा अधिकांश ट्राफिक, जीवाश्म इनधनबाट चल्ने ऊर्जा संयन्त्र र ठूला उद्योगहरु रहेका हुन्छन्।
चीन र भारतका बीचमा यी सबै कुरा साझा भए पनि एउटा प्रमुख विषय भने फरक छ।

भारतीय किसानले आफ्ना खेतमा धान काटीसकेपछि बाँकी रहेका पराल र ठुटालाई जलाउने गरेका छन्। विशेष गरेर दीपावलीको आसपास किसानले धान भित्र्याउने र बाँकी रहेका पराल र ठुटा जलाउने गरेका कारण भारतमा प्रदूषण तह वृद्धि हुने गरेको छ।

‘यस वर्षको संस्करणमा पनि भारतको प्रदूषणका लागि कृषिजन्य सामानमा लगाइएको आगो जिम्मेवार देखिएको छ,’ लन्डन स्कुल अफ इकोनोमिक्सका सहायक प्राध्यापक थोमस स्मिथलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘चीन भने यो विषयमा लड्न सफल भएको छ। उसले कृषिजन्य उत्पादन (पराल, ठुटालगायत) लाई डढाउन पूर्ण रूपमा प्रतिबन्ध गरेको छ,’ उनले बताए। यही कारणले पनि दिल्लीको भन्दा बेइजिङको प्रदूषणको तह फरक रहेको उनको जिकिर छ।

अमेरिकी एजेन्सी नासाले आगो र तापीय विकृतिबारेको एउटा विश्वव्यापी सिंहावलोकन उपलब्ध गराएको छ र प्रयोगकर्तालाई विगतका केही दिन र केही सातामा भएका विकाससँग सम्बन्धित घटनाक्रमलाई ट्रयाक गर्न अनुमति दिएको छ।

‘दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा आगोको असामान्य आद्रता देखाएको छ,’ प्राध्यापक स्मिथले जिकिर गरेका छन्। मानिसले प्रदूषणका प्रमुख कारणमा कारहरु र ठूलो उद्योगहरुलाई मात्र देख्ने गरेको भए पनि कृषिजन्य आगजनीको अवस्थालाई नजरअन्दाज गर्न नमिल्ने प्राध्यापक स्मिथले जनाएका छन्।

सहरमा प्रदूषणको तह बढेर असहजता भएकै बेला भारतको सर्वोच्च अदालतले दिल्ली वरपरका राज्यमा परालजन्य पदार्थमा आगो लगाउने कार्य रोक्नका लागि आदेश पनि दिएको परिवेश छ। तर चिसोयामको चिसो हावाका कारण दिल्लीको अवस्था झनै खराब हुँदै गएको छ र प्रदूषण गराउने कारक तत्व पनि सहरबाट बाहिर जान सकिरहेको छैन।

प्राध्यापक स्मिथका अनुसार प्रदूषण रोक्नका लागि भारत धेरै हदसम्म प्रतिक्रियावादी रहँदै आएको छ तर बेइजिङ भने सक्रिय र निवारक रहँदै पहिलो चरणमा समस्या रोक्नतर्फ लागिरहेको छ।

प्रदूषणको अवस्था कस्तो छ ?
हावामा रहेका खतरनाक तत्वको तहका आधारमा प्रदूषणको तह वर्गाीकरण गरिँदै आएको छ। त्यसरी संकलित नतिजालाई राम्रोदेखि खतरनाकको स्केलमा वर्गीकरण गरिन्छ।
‘प्रदूषणको प्रभाव व्यक्तिनै पिच्छे फरक हुन्छ,’ ‘न्यु साउथ वेल्स विश्वविद्यालय’ की क्रिस्टिन काउली बताउँछिन्।
‘केही मानिसले आँखा चिलाउने, घाँटी दुख्ने गरेको गुनासो गर्छन् भने केहीले दमको लक्षण देखिएको गुनासो गर्छन्। दम नभएका व्यक्तिमा पनि प्रदूषणका कारण खोकी लाग्नु एउटा सामान्य लक्षण हो,’ उनले बताइन्।
‘प्रदूषणका कारण सबैभन्दा धेरै वृद्ध नागरिक प्रताडीत हुने गर्छन् भने बालबालिका र श्वासप्रश्वासम्बन्धी रोगका विरामी वा मुटु रोगसम्बन्धी समस्यामा परेका व्यक्तिलाई पनि प्रदूषण अभिसाप नै हो,’ उनले भनिन्।

प्रकाशित: २१ कार्तिक २०७६ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App