४ वैशाख २०८१ मंगलबार
अर्थ

तितेपातीको तेल उत्पादन सुरु

रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँमा राखिएको तितेपाती प्रशोधन गर्ने मेसिन। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ। गत वर्ष गत्लाङमा परीक्षण गरिएको भए पनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलोगाउँमा उत्पादन सुरु गरिएको हो।

गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यवसायी भीम तामाङले बताए। ‘अहिले ठूलोगाउँमा उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘दैनिक ६ सय केजी तितेपाती प्रशोधन भइरहेको छ।’

५० लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। ठूलोगाउँमा रहेको ब्लु बेल इसेन्सल प्रालिले सञ्चालन गरेको उत्पादन केन्द्रले वार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य राखेको छ।

एक हजार दुई सय एमएल बराबर एक केजी हुन्छ। भदौदेखि उत्पादन सुरु गरेर मंसिर १५ गतेसम्म उत्पादन गर्ने कम्पनीले जनाएको छ। तेल उत्पादनका लागि कच्चा पदार्थको अभाव नरहेको उनले बताए। ‘तेल उत्पादनका लागि कच्चा पदार्थको अभाव भएको छैन, तर, तितेपाती छिटै सुक्ने समस्या छ।’

बिहान संकलन गरेको तितेपाती बेलुकी प्रशोधनमा लगिसक्नु पर्छ। तितेपाती संकलन गर्नेले प्रतिकेजी पाँच रुपैयाँ पाउँछन्। संकलन गरेको तितेपाती ल्याउनका लागि कम्पनीले मिनिट्रक ल्याएको छ।

अहिले दैनिक एक केजी तीन सय ग्राम तेल उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ। कम्पनीमा अहिले एउटा मात्रै मेसिन भएका कारण कम उत्पादन भएको हो। उनका अनुसार मासिक १८ हजार केजी प्रशोधन गर्ने क्षमता छ। यहाँ उत्पादन भएको तेल काठमाडौं पु-याइने योजना छ। ‘तत्कालका लागि काठमाडौंमा लैजाने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘पछि आफैंले बोटलिङ गर्ने तथा सन्चो उत्पादन गर्ने योजना छ।’

बोटलिङ गर्ने तथा सन्चो उत्पादनका लागि वनस्पति विभागसँग छलफल चलिरहेको छ। प्रक्रिया पूरा गरेपछि उत्पादनलाई बजारीकरण गर्ने योजना रहेको उनले बताए। आवश्यक पर्ने बोतल चीन तथा भारतबाट आयात गर्नुपर्ने भएकाले केही समय बढी लाग्ने देखिन्छ। तितेपातीको प्रशोधनको काम सकिएपछि उद्योगले धसिंगरेको तेल उत्पादन सुरु गर्ने छ। गत वर्षदेखि यहाँ धसिंगरेको तेल उत्पादन सुरु भएको थियो। यो वर्षदेखि यसलाई निरन्तरता दिन लागिएको हो।

प्रकाशित: २१ कार्तिक २०७६ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App