६ वैशाख २०८१ बिहीबार
अर्थ

हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुने

काठमाडौं – आगामी मंसिर १२ देखि १६ गतेसम्म काठमाडौंमा हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ। नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी गराएको हो।

नेपाल हस्तकला महासंघको आयोजनामा हुन गइरहेको उक्त १७ औं प्रदर्शनी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वाधानमा काठमाडौं महानगर, ललितपुर महानगर, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, ललिलपुर उद्योग महासंघ, नबिल बैंक, फेडेक्स एभरेस्ट दी कार्गाे, एक्जिभेसन लाइट हाउसलगायतको सहयोगमा आयोजना हुन लागेको हो।

नेपाली हस्तकलाका वस्तुको स्थानिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु-याउने तथा निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ। महासंघका अनुसार आन्तरिक बजारमा करिब १० अर्ब बराबरको नेपाली हस्तकला सामग्री खरिद बिक्री भइरहेको छ। त्यस्तै सोही मूल्य बराबरको अमेरिका, युरोपियन मुलुक, चीन, जापान भारतलगायत मुलुकमा २५ भन्दा बढी प्रकारका हस्तकलाका सामग्री निर्यात हुँदै आएको महासंघले जनाएको छ।

प्रदर्शनीबारे जानकारी गराउँदै मेला संयोजक धर्मराज शाक्यले हस्तकलाका वस्तुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गौरवलाई उच्च राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। प्रर्दशनीमा आठवटा प्याभिलियनसहित करिब दुई सय स्टल रहने उनले जानकारी गराए। प्रदर्शनीमा नेपालसहित भारत, श्रीलंका, बंगलादेशलगायत मुलुकका २० वटा स्टलमार्फत सहभागिता रहने उनको भनाइ छ।

मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ठ हुने एक प्याभिलियन र एक स्टललाई २० हजारदेखि ५० हजार रुपैयाँसम्म नगद पुरुस्कार दिइने छ। जिल्ला हस्तकला संघ र वस्तुगत संघको समेत सहभागिता रहने उक्त प्रदर्शनीमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुलाई प्रदर्शनीमा राखिने छ।

मेलामा दुई लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। चीन, भारत, जापान, सयुक्त अधिराज्य, सयुक्त राज्य अमेरिका, ताइवानलगायत देशबाट विदेशी आयातकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यसरी सहभागिता जनाउने पाहुनामध्ये २० हजार आगुन्तकका लागि निःशुल्क पासको व्यवस्था गरिएको जनाइएको छ। झन्डै १० करोडको कारोबार हुने अनुमान गरिएको मेलाको प्रचार प्रसार तथा प्रभावकारी बनाउन नेपालस्थित कुटनैतिक नियोग, सरकारी, गैर सरकारी तथा अर्ध सरकारी संस्थासँग समन्वय गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App