coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

काठमाडौं – लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ।

श्रीलंकाली संसद्का सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का अध्यक्ष बिभी मल्लिकार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजिनिक गरेका हुन्।

एसएलपिएको ६४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोलाइएका लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो। अघिल्लो एक साता श्रीलंकामा बिताएका सिलवालको त्यही यात्रा यात्रा पुस्तकमा समेटिएको छ।

‘एक साताको श्रीलंका यात्रामात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाइ, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक,’ सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी बस्तीहरू र बुद्धका अनुयायीहरू थिए। नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो। छिमेकी भारत थियो। चियाका बगानहरू थिए। मोहक तालहरू थिए। हरियाली थियो।’ पुस्तकले दुई देशबीच आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे।

‘सगरमाथाको देशबाट सागरको देश र भू–परिवेष्ठित देशबाट समुद्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो,’ आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन्। नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० को निम्तो समेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App