७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वसाधारण आक्रोशित

धनगढी – नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

साहित्यकार तथा संस्कृतिविद् पदमराज जोशीले नेपालको भूभाग अतिक्रमण गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको बताए। उनले भने, ‘हाम्रो भूमि अतिक्रमण भएको छ। हामी चुप लागेर सहन सक्दैनौं। यसको सुदूरपश्चिमेलीमात्रै नभई सबै नेपाली नागरिकले विरोध गर्नैपर्छ।’

४ मार्च १८१६ मा सुगौली सन्धिबाटै महाकाली नदीको मुहानसम्मको भूभाग नेपालकै भएको निक्र्योल भए पनि अहिले आएर भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा पार्दा भूमि खोसिएको पीडा महसुस भएको माटो बचाऊ अभियानका संयोजक हेमबाबु लेखकले बताए। उनले भने, ‘हामी हाम्रो माटो बचाउन प्राण त्याग गर्न तयार छौं।’ यो मुद्दामा संयुक्त राष्ट्रसंघको पनि ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ।

सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा महाकाली नदी प्रस्ट उल्लेख भएको बताउँदै लेखकले थपे, ‘सन्धिअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा नै हो। तसर्थ लिम्पियाधुरासम्मको जमिन हाम्रो हो।’ महाकाली सन्धिका नाममा भारतले १९६२ देखि कालापानीमा सेना राखेको उनले बताए।

दार्चुलाका तत्कालीन सांसद प्रेमसिंह धामीले ‘कालापानी काठमाडौंलाई किन दुख्दैन’ भनेर भारत अतिक्रमणको विरोधमा आवाज उठाएपछि यो विषय राष्ट्रिय मुद्दा बनेको थियो। धामीको पछि जिप दुर्घटनामा परी निधन भएको थियो। उनको मृत्यु भएपछि पछिल्लो समयमा कालापानी अतिक्रमणको विरोधको आवाज मसिनो भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. मुकुन्द्रप्रसाद कलौनीले बताए।

भारतले लिपुलेक आफ्नो भएको नक्सा सार्वजनिक गरेको ७२ घण्टा बित्दा पनि नेपाल सरकारले आधिकारिक दृष्टिकोण दिन नसक्नु नेपालकै दुर्भाग्य भएको उनले बताए। यस विषयमा सरकारले चाँडै पहल थाल्नुपर्ने बताउँदै उनले थपे, ‘भारतले वार्तामा पनि नमानेमा हामी अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्छ।’

सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले अतिक्रमण गरेर आफ्नो सेना राखेपछि विरोध हुँदै आएको हो। अहिले भारतले उक्त भूभाग राखेर नक्सा नै सार्वजनिक गरेपछि वर्षौंदेखिको घाउ बल्झाएर नुन छर्केको जस्तो भएको स्थानीय बताउँछन्।

‘यो घाउले हामीलाई वर्षौंदेखि दुखाइरहेको थियो,’ दार्चुलाको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले भने, ‘अहिले त्यो घाउमा नुनचुक छर्केजस्तो भयो।’

कालापानीमा भारतीय सेना बसेपछि यस क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए। दार्चुलाका तत्कालीन सांसद प्रेमसिंह धामीले ‘कालापानी काठमाडौंलाई किन दुख्दैन’ भनेर भारत अतिक्रमणको विरोधमा आवाज उठाएपछि यो विषय राष्ट्रिय मुद्दा बनेको थियो। धामीको पछि जिप दुर्घटनामा परी निधन भएको थियो। उनको मृत्यु भएपछि पछिल्लो समयमा कालापानी अतिक्रमणको विरोधको आवाज मसिनो भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. मुकुन्द्रप्रसाद कलौनीले बताए। ‘धामीको मृत्युपछि यो मुद्दाले स्थान नै पाएन,’ उनले भने।

सरकारले नक्सा भारतको आधिकारिक हो वा होइन, सोधेर यसलाई सच्याउन पहल गर्नुपर्ने उनले बताए। ‘नसच्चिएमा जनतामा उत्पन्न आक्रोश र वितृष्णाले ठूलो रूप लिई दुई देशबीचको सम्बन्धमै खलल पुग्न सक्छ,’ उनले भने। भारतले नसच्याएमा अन्तर्राष्ट्रिय जगत्लाई गुहारेर भए पनि आफ्नो भूभाग फिर्ता लिन अगाडि बढ्नुपर्ने उनले बताए।

यसैबीच सत्तारुढ दल निकट अनेरास्ववियु र अखिल नेपाल युवा संघले भारतीय अतिक्रमणको विरोधमा धनगढीमा प्रदर्शन गरेका छन्। नेकपा पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस मुख्यमन्त्री कार्यालयअगाडि पुगी कोणसभामा परिवर्तन भएको थियो।

‘भारतले बाहिरबाट मित्रता देखाउने र भित्रबाट नेपालको भूमि नक्सामा देखाउँदा हामीमा आक्रोश पैदा भएको छ,’ अनेरास्ववियुका जिल्ला उपाध्यक्ष समीर जोशीले भने, ‘भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट जबसम्म भारतीय सेना हटाउँदैन तबसम्म हामी आन्दोलनमै रहन्छौं।’ अखिल नेपाल युवा संघका सचिव राजु बमले आफ्नो जमिन खोसेरै भए पनि लिने बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App