coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन महिना पनि टिकेन कालोपत्रे

चावहिल–साँखु खण्डअन्तर्गत टुसाल–बौद्ध सडकखण्डको कालोपत्रे उप्केर बनेका खाल्डाखुल्डी। तस्बिर :मोनिका मल्ल/नागरिक

काठमाडौं – बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो। करिब चार वर्षदेखि धुलो र हिलोबाट आक्रान्त बनेका स्थानीय कालोपत्रे भएपछि खुसीले गद्गद् भएका थिए। तर सडक कालोपत्रे भएको तीन महिना नबित्दै कालोपत्रे उप्केर खाल्डाखुल्डी बनेपछि अहिले उनीहरू चिन्तित बनेका छन्। आन्तरिक र बाह्य पर्यटक ओहोरदोहोर भइरहने बौद्ध गेटकै सामु ठूल्ठूला दुईवटा खाल्डा छन्। त्यसैगरी टुसाल चोकको सडकमा कालोपत्रे पुरै उप्किएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार उक्त सडकखण्ड युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स कम्पनीले कालोपत्रे गरेको थियो। कमसल सामग्री प्रयोग गरिएकाले छिट्टै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ।

बौद्धका स्थानीय लाक्पा शेर्पाले सडक खाल्डाखुल्डी भएपछि धुलोले बस्न नसकिने अवस्था आएको बताए। ‘हामीले आन्दोलन गरी दबाब दिएपछि जेठ महिनाको अन्तिममा सडक कालोपत्रे भएको थियो,’ उनले नागरिकसँग भने, ‘सडक पीच भएपछि धुलो र हिलोेबाट मुक्त भयौं भनेर स्थानीय उत्साहित भएका थियौं। कालोपत्रे उप्केर खाल्डैखाल्डा बनेपछि हाम्रो समस्या ज्यूँका त्यूँ रहयो।’ उनले जेठमा गरिएको कालोपत्रै असारबाटै उप्किन थालेको बताए। ‘ठेकेदारको चरम लापारबाहीका कारण सडक बिग्रिएको भए पनि कारबाही गनुपर्ने सरकार भने मौन छ,’ उनले भने, ‘चार वर्षपछि गरिएको पिच चार महिना पनि नटिक्दा सरकारले चासो दिनुपर्ने हो।’ उनले ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कालोपत्रे उप्किएको क्षेत्रमा अर्को पत्र कालोपत्रे गरिदिने अश्वासन स्थानीयलाई दिइएको बताए। अहिलेसम्म कालोपत्रे थप्ने पनि कुनै छाँटकाट नदेखिएको उनको भनाइ छ। ‘हामी कालेपत्रे थपिने आशामा छौं,’ उनले भने, ‘पहिलेजस्तो धुवाँधुलो खान नपाइयोस् भन्ने हाम्रो अपेक्षा हो। तत्काल सडक मर्मत गरी हाम्रो क्षेत्र धुलोमुक्त पारियोस्।’

समयमा काम सम्पन्न नहुँदा सडक लथालिंग छ। पिच भएका सडक पनि टिकाउ नहुँदा जीर्ण बन्दै गएको छ। गत वैशाखमा जोरपाटीदेखि नारायणटार सडकको कालोपत्रे पनि पिच गरेको एक सातामा कालोपत्रे उप्केको थियो। त्यहाँको कालोपत्रे भने मर्मत गरिएको छ। तर टुसाल–बौद्ध सडकखण्डमा अहिलेसम्म मर्मत गरिएको छैन। खाल्डा परेको सडकबाट धुलो उडेकाले तत्काल पिच थप्नुपर्ने बौद्धका व्यापारी नारायण गौतमले बताए। ‘सडक कालोपत्रे त भएकै हो तर धेरै समय टिकेन। खाल्डा भएको सडकमा तत्काल कालोपत्रे थपिनुपर्छ। यसमा सरकारले आलटाल नगरोस्।’ उनले समयमै सडक कालोपत्रे नथपे आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिए।

चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजना २०७२ सालमा अघि सारिएको थियो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार एक अर्ब ७५ करोड रुपैयाँको लगानीमा उक्त सडक निर्माण भइरहेको छ। सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु÷च्याङमिला÷खानी जेभी, बज्रगुरु÷बिरुवा÷खानी जेभी र बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। समयमा काम सम्पन्न नभएपछि फेरि ठेकेदार थपिएको छ। सम्झौताअनुसार २०७४ सम्ममा सडक विस्तार सकिनुपर्ने हो। तर बारम्बार म्याद थप्दा पनि हालसम्म कामले गति लिन सकेको छैन। जसले गर्दा सर्वसाधारणले घाम पर्दा धुलो र पानी पर्दा हिलोको सास्ती खेप्दै आएका छन्।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले पानीको चिसोले गर्दा छिट्टै सडकको कालोपत्रे उप्किएकोे दाबी गरे। ‘बर्खाको बेला हायात होटलबाट आएको पानीले कालोपत्रे गर्नसमेत कठिनाइ परेको थियो।’ उनले अर्को चरणको कालोपत्रे गर्न बाँकी रहेको र त्यो गर्ने बेला सबै खाल्डा पुर्ने बताए। ‘हामी दुई चरण लगाएर सडक कालोपत्रे गर्नेछौं। यो पहिलो चरण हो। अर्काे चरणको सडक पिच गर्ने काम बाँकी छ। अब छिट्टै थाल्छौं,’ उनले भने। उनका अनुसार चावहिल–साँखु सडकखण्डको अहिलेसम्म चुच्चेपाटी, बौद्धगेट, बौद्ध पिपलबोट, जोरपाटी ओरालो, दक्षिणढोकालगायत करिब ६ किलोमिटर सडक कालोपत्रे भएको छ। बौद्ध गेटदेखि बौद्ध पिपलबोटसम्मको सडकखण्डमा भने तिहारभित्र कालोपत्रे भएको छ।

‘सडक निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘चावहिलदेखि चुच्चेपाटीसम्मको सडक अबको १० दिनभित्रमा कालोपत्रे हुनेछ।’ मुआब्जा विवादले जोरपाटी–सुन्दरीजल सडकको निर्माण कार्य सुरु भएको छैन। अन्य ठाउँको काममा हामी निरन्तर लागिपरेका छौं।’ उनले आगामी फागुनसम्म पुरै सडकखण्ड कालोपत्रे गरिने बताए। निर्माण गरिएको संरचना पनि अपांगतामैत्री बनाइएको छैन। दृष्टिविहीनका लागि ट्याग टाइल नराखीकनै सडकपेटी बनाइएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App