coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

आलम र महरा प्रकरणमा कृष्ण सिटौलाले के भने? (भिडियो)

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले इटा भट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दाेष रहेको जिकिर गरेका छन्।

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता सिटौलाले आलममाथिको अभियोग अविश्वसनीय भएको टिप्पणी गरे। ‘मलाई उहाँ (आलम)ले त्यत्रो जघन्य अपराध गर्नुभयो भन्ने कुरा कदाचित विश्वास हुन सकिरहेको छैन। मेरो नजरमा उहाँ निर्दाेष हुनुहुन्छ’, सिटौलाले आफ्नो स्पष्ट धारणा सुनाए, ‘लामो समयपछि यो घटनाबारे जून कुराहरु आएका छन् यसले मलाई आश्चर्यमा पारेको छ। अब अदालतको अन्तिम निर्णयलाई पर्खिनुपर्छ।’

रौतहटकै नेता माधव नेपाल प्रधानमन्त्री हुने तथा आलम मन्त्री हुँदा पनि यति ठूलो घटना लामो समयसम्म गुपचुप रहनु आफैंमा आश्चर्यको कुरा भएको उनको भनाई छ। 

‘माधव नेपाल प्रधानमन्त्री हुनुभयो। उहाँकै क्याविनेटमा आलम मन्त्री हुनुभयो। साथै उहाँहरु एउटै जिल्लाको हुनुहुन्छ। यो बीचमा धेरै प्रधानमन्त्री भए, अहिले मात्रै यो मुद्दा जसरी अगाडि आयो यसले मलाई लाग्दैन कि यो घटना आलमले गरेका हुन्’, सिटौलाले भने, ‘आश्चर्य लागेको छ। सरकारले जे भन्छ त्यहीँ सत्य हुँदैन। कानुन,  अदालतले भन्ला।’

सरकारले अदालतमा मुद्दा लगेको र अदालतले के गर्छ अहिले भन्न नसकिने बताउँदै उनले थपे, ‘अदालतको अन्तिम फैसला नभएसम्म निर्दोष आँखाले हेर्छाैं। हाम्रो पार्टीको सांसद भएकाले मेरो सहानुभूति छ।’

यो घटना हुँदा गृहमन्त्री समेत रहेका सिटौलाले आफूलाई कुनै जानकारी नआएको पनि दाबी गरे। ‘त्यसबेला यो घटना गृह मन्त्रालयमा आएकै छैन, अहिले मलाई सोधपुछका लागि बोलाएको छैन, बोलाउनु आवश्यक छैन जस्तो लाग्छ। किनकी यो घटना प्रहरीसँग सम्बन्धित हुन्छ’, उनले थपे। 

नेता सिटौलाले बलात्कार प्रयासको अभियोग मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई षडयन्त्रपूर्वक फसाइएको संकेत गरे। महरालाई नर्भिक अस्पतालमा आफूले भेटेको जानकारी दिँदै गिरफ्तारी, राजीनामा, हिरासत, विरामी अवस्थामा सहानुभूति व्यक्त गरेको बताए।  

‘उहाँ मेरो नजिकको मित्र हो। शान्ति प्रक्रियाका क्रममा म सरकारी वार्ता टोलीको संयोजक, उहाँ विद्रोही माओवादी टोलीको संयोजकका रुपमा विस्तृत शान्ति सम्झौता, लडाकु समायोजनमा काम गर्यौं’, उनले भने, ‘उहाँको बारेमा भन्दा सगरमाथाको शिखरमा पुगेर लात्ताले हानेर खसालेको, बाटो विराएर लडेको मान्छेजस्तो लाग्छ। आफ्नो साथी अप्ठेरोमा पर्दा भेट्न गए। मानवीय कर्तव्य निर्वाह पुरा गरे।’ 

नेता सिटौलाले महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा दुःख लागेको बताए। ‘त्यो घटनामा हो/होइन भन्ने एकिन गर्ने आधार छैन। जसरी महिलाको बयानबाजी वक्तव्य फरक फरक ढंगले आइरहेको छ, त्यसबाट विश्वास गर्ने आधार छैन। अदालतमा पनि महिलाको बयान टेस्ट होला। बकपत्र गराउला। बाँकी अदालतले भन्ला’, उनले भने।  

महराले गल्ती गरेको र षडयन्त्रपूर्वक फसाइएको कुरा आफूले सोच्न नसकिरहेको भन्दै सिटौलाले थपे, ‘गल्ती हो भने कसरी गर्नुभयो होला? षडयन्त्र हो भने यत्रो दुइतिहाइ कम्युनिस्ट सरकार छ?’, उनले प्रश्न गरे, ‘तर पनि उहाँप्रति मेरो सहानुभूति छ।’

आजैमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महराले आफूलाई ढाँटेको भनी दिएको अभिव्यक्तिको जवाफ दिँदै सिटौलाले भने ‘त्यो अवस्थामा तपाई भएको भए के गर्नुहुन्थ्यो? सहानुभूति चाहनुहुन्न?’ महराको मुद्दामा प्रहरी अनुसन्धानको भरमा मात्रै विश्वास गर्न नसकिने भन्दै उनले महिलाको बयान महत्वपूर्ण हुने जिकिर गरे।

नेता सिटौलाले कांग्रेसको आगामी १४ औं महाधिवेशनमा ३ धारको प्रतिस्पर्धा कायम हुनसक्ने बताए। ‘१३ औं महाधिवेशनमा जसरी प्रतिस्पर्धा भयो, त्यसबेलाको ३ धारको प्रतिस्पर्धा पार्टीमा अहिले कायम छ। १४ औं मा आन्तरिक समीकरणमा भर पर्छ’, उनले भने। 

पार्टीको आन्तरिक संगठन निर्माण लोकतान्त्रिक र पारदर्शी ढंगले प्रतिस्पर्धामा हुने भन्दै लोकतान्त्रिक प्रक्रियामा गुट र समूह बन्दै जाने र संसारकै चलन भएको टिप्पणी गरे। १३ औं महाधिवेशनको ह्याङओभरमा कोहीँ बस्न नहुने उनको सुझाव छ। 

उनले आगामी मंसिर १४ को उपनिर्वाचनमा मिलेर एकताबद्ध भएर आफ्ना उम्मेदवारलाई जिताउने स्पष्ट पारे। ‘गल्तीलाई नदोहोर्याउने संकल्प गर्छाैं। नयाँ दृष्टि र सोचका पथ निर्माण गर्छाैं’, उनले भने। भर्खरै सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयमा युवाहरुलाई औला ठड्याएको विषयमा सिटौलाले भने, ‘उहाँले तर्साएको होइन, युवाहरुलाई सम्झाएको हो।’ 
नेता सिटौलाले प्रधानमन्त्रीले प्रतिपक्षीलाई साथमा लिएर नहिँड्दा असफलता देखिएको पनि टिप्पणी गरे। सरकारले केही गर्न नसकेको र संविधानको मर्म बमोजिम संघीयता अघि नबढेको उनको विश्लेषण छ। 

नेता सिटौलाले प्रधानमन्त्रीको आराम र स्वास्थ्य स्थिती उनको इच्छाशक्तिमा भर पर्ने बताए। ‘उहाँ कहिलेसम्म प्रधानमन्त्री हुनुहुन्छ, पार्टी अध्यक्ष रहनुहुन्छ उहाँको इच्छाशक्तिको कुरा हो। त्यसमा प्रतिपक्षको कुनै टिप्पणी छैन। नेकपा, मन्त्रिपरिषदको आन्तरिक विषय हो। सबैले शुभकामना दिनुपर्छ स्वास्थ्यलाभको लागि’, उनले भने। 

गिरिजाप्रसाद कोइरालाले पनि विरामी भएर देशलाई नेतृत्व गरेको र त्यतिबेलाको इच्छाशक्तिले आफूलाई आश्चर्यमा पारेको उनको भनाई छ। कुनै विषय भावमा तल्लिन मान्छेले मृत्युलाई पनि आक्रमण गर्न सक्ने उनको विश्वास छ।

नेता सिटौलाले देश धर्मनिरपेक्ष भए पनि राज्यले सनातन धर्मको रक्षा गर्नुपर्ने,  गाईको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन रोक्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २० कार्तिक २०७६ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App