४ वैशाख २०८१ मंगलबार
खेल

ननितालाई कांस्य पदक

काठमाडौं- आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिकल प्रतियोगितामा नेपालकी ननिता महर्जनले कंस्य पदक जितेकी छिन। आइतबार ननिताले महिला एथलेटिक फिजिक १ सय ६५ सेन्टीमिटर उचाइ सम्मको प्रतिस्पर्धामा कांस्य जितेकी हुन।

नेपाली महिला खेलाडीले अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा हालसम्म पदक जित्न सकेको थिएन। ननिता अन्तराष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला समेत बनेकी छिन।

ननिताले पहिलो पल्ट विश्व शारीरिक सुगठन प्रतियोगितामा भाग लिएकी थिइन। थाइल्यान्डको पतायामाननिताले फाइनलमा चाइनिज ताइपेइकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई हराउँदै कांस्य जितिन। ५ खेलाडीले भाग लिएको उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण पदक र उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जितेको नेपाल शारीरिक सुगठन संघले बताएको छ।

ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोश्रो नेपाली महिला खेलाडी हुन्। यसअघि पहिलो पटक नेपाली महिला खेलाडी निर्मला महर्जनले थाइल्यान्डको बैंककगत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्।

यसैगरी आइतबार सकिएको प्रतियोगितामा शारीरिक सुगठन ६५ केजी र मास्टर्स ४० वर्षमाथिमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक र फिट्नेस फिजिकमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। स्पोर्ट्स फिजिकमा विनोद वज्राचार्यले भाग लिएका थिए। तर अन्य कुनै पनि खेलाडीले पदक भने जित्न सकेनन्।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधानमा भएको प्रतियोगितामा ४९ देशका करिब ४ सय खेलाडीले विभिन्न ३८ प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App