७ वैशाख २०८१ शुक्रबार
कला

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

काठमाडौं – बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

श्रीमती सुनिता आहुजा र अभिनेत्री निरुता सिंहसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका बलिउड अभिनेता गोविन्दाले सञ्चारमाध्यमसँग कुराकानी गरेका महोत्सवबारे बोलेका थिए। ‘अहिले दोस्रो पटक फिल्मसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आएको हुँ,’उनले भने,‘अलिअलि नेपाली बोल्ने हुँदा अफर आए नेपाली फिल्म खेलिन्छ। तर, अहिलेसम्म पूरा नेपाली फिल्म हेर्न भने भ्याएको छैन्।’

श्रीमती सुनिता आहुजासँग पूजाप्रार्थनाको लागि नेपाल आउने गरिरहेका अभिनेता गोविन्दाले आफ्ना फिल्महरु हेर्ने दर्शकप्रति आभारी व्यक्त गरेका थिए। ‘फिल्मको विकासको लागि विदेशी र नेपाली कलाकारबीच  अन्तक्र्रिया हुनु आवश्यक रहेको छ। त्यही अनुसार नेपालमा भइरहेको प्रयासबाट प्रेरित भएको छु,’ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘मेरा साथीभाई नेपालबारे विभिन्न प्रश्न सोध्ने गरिरहेका छन्। मबाहेकका बलिउडका कलाकारहरु नेपाल आइरहेका हुन्छन्। नेपालसँगको सम्बन्ध प्रगाढ र गाढा हुँदैछ।’

उनी गत वर्ष एलजी फिल्म अवार्डमा सहभागी हुन छोरीसहित नेपाल आएका थिए। महोत्सव आयोजक चलचित्र निर्माता संघको निमन्त्रणामा उनी नेपाल आएका हुन्। महोत्सवको आयोजना नेपाल चलचित्र निर्माता संघले गरिरहेको छ। पहिलो पटक बलिउड अभिनेता गोविन्दासँग भेटेकी अभिनेत्री निरुता सिंहले उनको तारिफ गरिहालिन्, ‘गोविन्दा पक्का आस्र्टिट रहेछन्।’ पछिल्लो समय मुम्बईमा रहेकी अभिनेत्री निरुता सिंह बेलाबखत फिल्मसम्बन्धी कार्यक्रममा सहभागी हुने नेपाल आउने गरेकी छिन्। उनी पछिल्लो समय अभिनेता अनमोल केसी अभिनित ‘क्याप्टेन’ फिल्ममा देखिएकी थिइन्।

महोत्सवमा गोविन्दाले पनि प्रस्तुति दिने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। महोत्सव तयारी समितिका संयोजक विमल पौडेलका अनुसार महोत्सवको उद्घाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्। तराई र मधेसका पात्रलाई नेपाली चलचित्रमा समावेश गराउन प्रेरित गर्न महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमा बलिउड अभिनेता गोविन्दासहित निर शाह, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, अनमोल केसी र केकी अधिकारीलगायतका कलाकारहरु सहभागी हुनेछन्। महोत्सव आगामी कात्तिक २३ सम्म चल्नेछ।

प्रकाशित: २० कार्तिक २०७६ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App