४ वैशाख २०८१ मंगलबार
अर्थ

पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा राइनो पार्क

मैघौलीमा रहेको थारु संग्राहलयमा स्थानीय थारु समुदायको संस्कृतिसँग रमाउँदै पर्यटक। तस्बिर : सविता/नागरिक

चितवन – जिल्लाका पर्यटकीय गन्तब्यमध्येको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्न ‘मेघौली राइनो पार्क’ निर्माण गरिने भएको छ। पश्चिम चितवनको पर्यटकलाई आकर्षित गरेर पर्यटकीय गतिविधि बढाउन पार्क बनाउने प्रक्रिया अघि बढाइएको छ। करिब २१ करोडको लगानीमा राइनो पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम अघि बढाइएको पर्यटनविद् विश्वराज सुवेदीले जानकारी दिए।

राइनो पार्कले भरतपुर महानगरपालिका वडा नं २७ र २८ लाई समेट्नेछ। दुईवटा वडामा रहेका चारवटा सामुदायिक मध्यवर्ती वन क्षेत्रलाई समेटेर तीन सय ७६ हेक्टर अर्थात् करिब पाँच सय ५० बिघा क्षेत्रफलमा पार्क निर्माण हुनेछ। राधाकृष्ण, मालिका, राप्ती वेतरी र सदाबहार मध्यवर्ती सामुदायिक वन क्षेत्रलाई पार्कमा समेटिनेछ। पार्क मेघौली विमानस्थलसँगै जोडिएर बन्नेछ। चितवन राष्ट्रिय निकुञ्ज घुम्न तीनवटा प्रवेशद्वार भरतपुर महानगरपालिकामा रहेका छन्। जसमा पटिहानी, देवनगर र मेघौली रहेका छन्।

जंगल सफारी, डुंगा सफारी, होमस्टेको बसोबाससँगै नारायणी र राप्तीको संगमस्थल गोलाघाटबाट देखिने सूर्यास्थका लागि समेत मेघौली परिचित छ। गैंडा, बाघलगायत वन्यजन्तु र चराचुरुंगीको सजिलै अवलोकन गर्न सकिने स्थानमा पनि मेघौली क्षेत्र पर्दछ। चरा अध्ययन, अवलोकनकर्ता खर मयुर हेर्नका लागि पनि मेघौलीलाई उपयुक्त गन्तव्य मान्छन्। ‘पूर्वाधार धेरै तयार गरेर पार्क बनाउन खोजेका हैनौं,’ सुवेदी भन्छन्, ‘पहिलेदेखि भएका पूर्वाधारलाई समेटेर र केही थप गर्दै थोरै सौन्दर्यकरण गरेर पर्यटक आगमन बढाउन र बसाइ लम्ब्याउन पार्क बनाउन लागिएको हो।’

पार्कको मुख्य आकर्षण गैंडाको मूर्ति रहनेछ। २० फिट चौडाइ र ४० फिट लम्बाइको ३० फिट अग्लो मूर्ति बनाइनेछ। मूर्ति तयार गर्नका लागि दुई करोड ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पार्क निर्माण कार्य २१ करोड लागतमा पूरा हुनेछ। मूर्तिभित्र डिजिटल पर्यटन सूचना केन्द्र रहने छ। त्यसको माथि स्थानीय संग्रहालय पनि रहनेछ। पार्क क्षेत्रमा वन्यजन्तु उद्धार सेन्टर, अहिले भइरहेको थारु संग्रहालय रहनेछ। पर्या–पर्यटनलाई नै प्राथमिकता दिएर गैंडालाई ब्रान्डिङ गर्न लागिएको पार्क जैविक विविधता अध्ययन केन्द्रको रुपमा समेत रहने उनको भनाइ छ।

पार्कमा ३० देखि ४० बिघा क्षेत्रमा पोखरी बनाइनेछ। पोखरीको वरिपरि पर्यटकलाई हिँड्न मिल्ने गरी ‘क्यानोपिक वाक’ निर्माण गरिनेछ। जसमा पोखरीको वरिपरि १५ फिट अग्लो दूरीमा हिँड्न मिल्ने गरी फलामको एक किलोमिटर लामो पुलका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ। ‘अहिले सामुदायिक वनमा १८ किलोमिटरमा जिप सफारी हुने गरेको छ,’ उनले भने, ‘अब जिप सफारीभन्दा पनि क्यानोपिक वाकबाट प्रत्यक्ष गैंडा देखाउने तयारी हुनेछ।’ पार्कमा ५० बिघा क्षेत्रमा गैंडाका लागि घाँसे मैदान निर्माण गरिनेछ।

पार्कमा बाघ आउने करिडोर पनि पर्ने भएकाले टाइगर टावर र चरा अवलोकन गर्ने टावर निर्माण हुनेछ। पार्क निर्माणको डिपिआर तयार गर्न प्रदेश ३ सरकारले सहयोग गरेको थियो। भरतपुरदेखि २५ किलोमिटर पश्चिम–दक्षिणमा रहेको स्थानमा पार्क निर्माण गर्न लागिएको हो। चार वर्षभित्र पार्क निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ। पार्क निर्माण भएपछि चितवनको पर्यटनमा थप नयाँ आकर्षण बन्ने प्रदेश ३ का प्रदेश सभा सदस्य कृष्ण भुर्तेल बताउँछन्। यहाँको पर्यटनलाई विविधीकरण गर्दै नयाँ अनुभूति पर्यटनबाट दिन लागिएको पार्क निर्माणपछि मेघौलीको मात्र नभई समग्र चितवनको पर्यटनमा टेवा पुग्ने उनले बताए।

प्रदेश सरकारले यो वर्ष सूचना केन्द्रका लागि ५० लाख र गैंडाको मूर्ति बनाउन ५० लाख बजेट विनियोजन गरेको छ। मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतोले मेघौली राइनो पार्क निर्माणले पर्यटन गतिविधि बढ्ने बताउँछन्। पार्कले पर्यटकीय आकर्षण बढाउने र स्थानीयलाई रोजगारीसमेत मिल्ने उनले बताए। प्रदेश ३ कोे सरकारले प्रदेशका १३ जिल्लाका १० वटा उत्कृष्ट गन्तब्य छनोट गरेकामा एउटा गन्तब्य मेघौली पनि परेको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App