८ वैशाख २०८१ शनिबार
अर्थ

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै सनराइज

काठमाडौं – सनराइज बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। व्यापार विस्तार गर्ने उद्देश्यले बुधबारदेखि ऋणपत्र जारी गरिने बैंकले जनाएको छ।

करिब सात महिनाअघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले भने, ‘त्यो बेला १० प्रतिशत ब्याजदरमा ऋण पत्र निष्कासन गरे पनि माग पूरा गर्न धौधौ भएको थियो तर, यसपालि लगानीकर्ताले ब्याज बढी पाउँने भएकाले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने निर्णयमा पुगेका हौं।’

बजारको मागअनुसार ऋणपत्र जारी गरेको बताउँदै उनले सात वर्षसम्म निरन्तर उच्च प्रतिफल पाउने भएकाले ऋणपत्र खरिद गर्न आग्रह गरे। तीन अर्ब रुपैयाँमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र संस्थागत र ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबर सर्वसाधारणलाई बिक्री गरिने उनले बताए। बैंकको प्रतिऋणपत्रको मूल्य एक हजार रुपैयाँ रहेको छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

ऋणपत्र खरिद गर्न अनिवार्य रुपमा बैंकमा खाता खोल्नु पर्ने छ। बैंकका हरेक शाखा कार्यालय तथा आस्वा प्रणालीबाट ऋणपत्र खरिद गर्न आवेदन गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने बैंकका ऋणपत्र खरिद गर्दा अन्य बैंकमा धितो राखेर कर्जा लिन सकिने छ। ऋणपत्र खरिद गर्दा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ता खरिद गर्नुपर्नेछ। तर, व्यक्तिगत रुपमा बिक्री हुने ऋणपत्रमा कुनै सीमा नलाग्ने बैंकले जनाएको छ।

चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म ८० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले सोही अवधिमा ७१ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी आठ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

बैंकका हाल एक सय २२ वटा शाखा कार्यालय, आठ एक्सटेन्सन काउन्टर र एक सय ४२ वटा एटिएम सञ्चालनमा छन्। बैंकका करिब ६ लाख ग्राहक पुगेका छन्। ‘क’ वर्गको बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App