८ वैशाख २०८१ शनिबार
अर्थ

‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल्न बन्द गर

काठमाडौं-    वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ।    
    
 वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न/नगराउन सूचित गराएको छ।    
    
 विभागले ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम स-सम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ। पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ।    
    
 विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ।    
    
 वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ। विभागबाट पूर्वस्वीकृति नलिई कामदार भर्नासम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन। तर पछिल्लो समय पूर्वस्वीकृति नलिई मलेशिया रोजगारीको नाममा झण्डै एक लाखभन्दा बढी कामदारबाट अवैधरूपमा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ भन्दै रकम असुल भइरहेको पाइएको विभागले जनाएको छ। रासस    
 

प्रकाशित: १९ कार्तिक २०७६ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App