८ वैशाख २०८१ शनिबार
राजनीति

जनतामुखी ऐन लागु नभएसम्म लड्ने डा. केसीको अडान, सत्याग्रहमा कांग्रेस डडेल्धुराको समर्थन

डा.केसीको सत्याग्रहमा समर्थन जनाउन पुगेका काँग्रेस सभापति कर्णबहादुर मल्ल ।

डडेल्धुरा– सात वटा माग राखी सोमबार देखि १७ औँ पटक सत्याग्रह थालेका डा. गोबिन्द केसीले जनतामुखी र बिधानमुखी ऐन नहुञ्जेल आफु लड्ने बताएका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगि सत्याग्रह थालेका डा. केसीले नागरिक र चिकित्सक हैसियतले समस्या सामाधानका लागि सरकारसंग लड्ने कर्तव्य भएको बताउँदै उनले जनतामुखी र बिधानमुखी ऐन नबन्दासम्म आफू लड्ने स्पष्ट पारे।

चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नु पर्नेमा सरकार उल्टै निजी मेडिकल कलेजका ज्यादती संरक्षणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्याग्रह थालेका हुन्। ‘सबै नेपालीको गुणस्तरीय, सस्तो, निःशुल्क र सुलभ स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्छ’, उनले भने, ‘मेरो सत्याग्रह जारी नै रहने छ। केही दिन म हेर्छु। भएन भने अरु कडा कडा माग पनि थप्छु।’ 

आफ्ना माग सम्बोधन नभए अझै कडा खालका माग सरकार समक्ष अघि सार्ने उनले चेतावनी दिए। ‘सरकारलाई जवाफदेही बनाउनुपर्छ’, उनले भने, ‘जवाफदेही कसरी बनाउनु पर्छ त्यो हामीलाई थाहा छ।’ 

आफूसँग सहमति गर्दै जाने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण चिकित्सा शिक्षामा विकृति मौलाउँदै गएको उनको आरोप छ। ‘चिकित्सा माफिया, बिचौलिया, दलालका लागि ऐन बनाई राखिएको छ। अहिले पनि त्यहीँ गरिराखेको छ’, उनले भने, ‘सरकारसँग पहिले पनि सम्झौता भएको छ। यसैका लागि लडेको पनि हुँ। तर सरकारबाट यो उपेक्षित रह्यो। अपहेलित रह्यो। त्यसैले पहिलेदेखिको माग यहाँ मेडिकल कलेज वा ठुलो अस्पताल बन्नु पर्छ भन्ने हो।’ 

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पहिलो पटक सत्याग्रह बसेका डा. केसी माग पुरा नहुँदा विभिन्न समयमा गर्दै यसपटक १७ औँ पटक सत्याग्रह बसेका हुन्। सरकारले लागु गर्ने ऐनका सवालमा आफू लड्नु परेको गुनासो पनि उनले गरे। ‘यो त सरकारले गर्नु पर्ने हो। यस बिषयमा राजनीतिक दलका नेताहरुले ध्यान पुर्याउनु पर्ने हो’, उनले भने, ‘सरकार माफियामुखी बनेकाले आफूले लड्नु परेको छ। 

डा. केसीले थालेको सत्याग्रहपछि तत्कालिन अवस्थामा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा पहिलो पटक चिकित्सा अध्यादेश बनेको थियो।  गगन थापा स्वास्थ्यमन्त्री रहेको तत्कालिन समयमा बनेको चिकित्सा अध्यादेशमा आफूसँग सम्झौता गरिए बेगर ५० बढी बुँदा संशोधन गरी निजी मेडिकललाई प्रोत्साहन गर्ने तवरबाट महंगो चिकित्सा शिक्षा तथा चिकित्सा क्षेत्रमा माफिया, बिचौलिया, दलाललाई फाइदा पुग्नेगरी परिमार्जन गरिएकाले आफूसँग भएका सम्झौता अनुसार चिकित्सा विधेयक लागु हुनुपर्ने उनको माग छ। 

डा. केसीलाई कांग्रेस डडेल्धुराको समर्थन

डडेल्धुरामा डा. केसीले थालेको सत्याग्रहलाई नेपाली कँंग्रेस डडेल्धुराले समर्थन जनाएको छ। गरिब निमुखा नेपाली जनताहरुको मागको नेतृत्व गरी डा. केसी सरकारसँग लड्दै आएको र सरकारले यथाशीघ्र माग सम्बोधन गर्नु पर्ने बताउँदै कांग्रेसले सत्याग्रहमा समर्थन जनाएको हो। 

कांग्रेस जिल्ला कार्यसमिति सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल लगायत जिल्ला कार्य समिति पदाधिकारी, महाधिवेशन प्रतिनिधी, नेवि संघका नेता कार्यकर्ता मंगलबार दिउँसो डा. केसीले सत्याग्रह बसेको घरमा पुगी उनलाई सम्मान गर्दै माग सम्बोधनका पक्षमा समर्थन जनाएको हो। 

प्रकाशित: १९ कार्तिक २०७६ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App