६ वैशाख २०८१ बिहीबार
समाज

सिष्टमकाे समस्याले मालपोतको काम रोकियो

पाल्पा- छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि भन्दै प्रयोगमा ल्याइएको अनलाइन सेवाका कारण मालपोतको काम रोकिएको छ।

इन्टरनेटमा समस्या भएपछि कार्तिक ५ गतेदेखी मालपोत कार्यालय, पाल्पाको सेवा प्रायःअवरुद्ध छ। दिनहुँजसो सेवाग्राही कार्यालय आएर फर्कन बाध्य भएका छन्। वगनाश कालीगाउँपालिका–५, गरन्डाँडाबाट आएका सूर्य प्रसाद गैरेले आफूले दुई हप्तादेखी मालपोत कार्यालय धाएर पनि सेवा प्राप्त गर्न नसकेको बताए।

उनी भन्छन्, ‘मोठ भिडाउनभनेर दुई जना दुई/दुई साक्षी लिएर आएको हप्तौ भयो काम हुन सकेको छैन। कारोबारभन्दा धेरै अन्यत्र खर्च हुन थाल्यो।’ यस्तै तिनाउँ गाउँपालिका–२, दोभानबाट आएका दृष्टि विहिन हेमराज अधिकारीले आफू सहित ३ जना दृष्टि विहिन बुढी आमालाई लिएर आएको तर मालपोतमा काम नभएको बताए। उनले बुबाको मृत्यु भएका कारण आमाको नाममा जग्गा बनाउन आएको तर नेट नचलेको भन्दै तीन दिनदेखी फिर्ता हुँदै आएको बताए।

अनलाइनमा व्यवस्थित गरिएका जग्गा सधैँका लागि सुरक्षित हुने भन्दै सरकारले भदौ २९ गतेदेखी अनलाईन सिष्टममा मालपोत कार्यालयलाई लगेको थियो। मालपोत कार्यालय पाल्पामा इन्टरनेट सेवा प्रदायक सुविसुको इन्टरनेट नचलेका कारण सिष्टममा समस्या आएको कार्यालयका सूचना अधिकारी रमेश प्रसाद न्यौपानेले बताए। उनी भन्छन्, ‘अनलाईनभन्दा बाहिर बसेर काम गर्न मिल्दैन। इन्टरनेटमा समस्या भयो। दुई दिनदेखी काम ठप्प भयो। सुविसुमा फोन गर्दा केही समयमा समाधान हुन्छ मात्र भन्छ।’ उनले कार्यालयमा कर्मचारीको कमी रहेका कारण समेत समस्या भएको बताए।

‘एलआरएमआइएस डिओएलआरएम डट जिओभी डट एनपी’ अनलाईन प्रणालीमा व्यक्तिको विवरण उक्त प्रणालीमा दर्ता गरी कार्यालयले प्रमाणीकरण समेत गर्छ। जग्गा खरीद बिक्री गर्ने दुवै पक्षको फोटो, औँठा छाप कम्प्युटरमा व्यवस्थित गरिन्छ। उक्त प्रणालीले कार्यालयमा सेवाग्राही र सेवाप्रदायक बीचको उपस्थितिलाई न्यूनीकरण गर्ने र कार्यालयका सम्बन्धित व्यक्तिको औँठा छाप व्यवस्थित गर्ने हुँदा कीर्ते तथा जालसाजी हुने जोखिमबाट जग्गाधनी सुरक्षित हुने जनाइएको छ।

मालपोत कार्यालयका किनबेचको सम्पूर्ण विवरण अनलाइन मार्फत निगरानी गरेर यस क्षेत्रमा देखा परेका विकृति अन्त्य गर्न उक्त प्रणालीलाई लागु गरेको भएता पनि सिष्टम नचलेका कारण जिल्लाबासीले समस्या भोग्न बाध्य छन्।

प्रकाशित: १९ कार्तिक २०७६ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App